Wednesday, August 30, 2017

काँकरभिट्टादेखि रारातालसम्म A travelogue from kakarbhitta to Rara lake, Mugu dist. Karnali

 काँकरभिट्टादेखि रारातालसम्म

दामोदर ढुङ्गेल



वि स २०५३ मा राराकी अप्सरा कविता ऐच्छिक नेपाली विषयमा पढेको हो । उक्त कविता परीक्षाका लागि पढियो तर राराताल मस्तिष्कमा कैद भइरह्यो । कर्नाली अञ्चलको मुगु जिल्लमा अवस्थित रारातालबारे केवल नेपालको ठुलो ताल भनी सामान्य ज्ञानमा पढियो । वृहत् नेपाली शब्दकोशले कर्नाली शब्द प्रविष्टि गरी पश्चिम नेपालको प्रसिद्ध ठुलो नदी अर्थ उल्लेख गरेको भए पनि कर्णाली शब्द नै प्रयोग गरेको पाइन्छ । बुद्धि सागरद्वारा लिखित 'कर्नाली ब्लुज' उपन्यास प्रकाशनपछि भने मैले कर्नाली शब्द प्रयोग गर्न थालेको हुँ ।
कक्षा ११ को अनिवार्य नेपाली विषय प्रशिक्षक प्रशिक्षणमा काठमाडौँमा भेटिएका जुम्लाका एक जना मित्रले कर्नाल बाजाको जस्तो आवाज आउने भएकाले उक्त नदीको नाम कर्नाली भएको बताएका थिए । 'कर्नालीको पहिचान कर्णाली होइन' शीर्षकमा अजय गिरीले लेखेका छन् । उक्त लेखमा उनले कर्नालीमाथि एकात्मक राज्यले गरेको नाममाथिको राजनीति र शोषण चित्रण गरेका छन् ।
कर्नालीका बारेमा रेडियोमा सुनियो, टिभीमा हेरियो । 'कर्नाली ब्लुज'मा कर्नाली क्षेत्रको गहिरो दु:खको अनुभूति चित्रण गरेका छन् बुद्धि सागरले भने कर्नाली क्षेत्रकै परिवेशमा राधा पौडेलले 'खलङ्गामा हमला' पुस्तकमा जनयुद्ध कालमा जुम्ला सदरमुकाममा भएको भिडन्त सजीव रुपमा चित्रण गरेकी छन् । जुम्लाका मानिसहरुको कारुणिक सामाजिक स्थिति तथा दर्दनाक युद्ध चित्रण गरिएको उक्त पुस्तकले मदन पुरस्कार प्राप्त गरेको छ ।
कर्नाली अञ्चलको हाम्रो मस्तिष्कमा भौगोलिक कठिनाइ, दूरता, रोग, भोक, अशिक्षा, खाद्यान्न अभाव, सडक दुर्घटना, एकात्मक राज्यसत्ताले हेपेको, काठमाडौँको उपनिवेशका रुपमा रहेको, चरम विभेदमा बाँचेको, खाद्य संस्थानले कुहिएर फ्याँकेको चामल पनि खोसाखोस गर्ने, एक्काइसौँ शताब्दीमा पनि अज्ञात रोगले गाउँ नै सखाप पार्ने जस्ता बिम्ब थिए । यी बिम्बहरु हाम्रो एकात्मक राज्य सत्ताले जबरजस्त थोपरेको थियो । कर्नालीका पीडा प्रचार गर्न उद्यत् राज्य ती पीडा शमन गर्न भने कहिल्यै तयार हुँदैनथ्यो । समृद्ध इतिहास, प्राकृतिक सुन्दरता, भाषा, संस्कृति र सभ्यताको उद्गम स्थल भएर पनि कर्नाली दु:खको पर्याय थियो । त्यसैले कर्नाली क्षेत्रको भ्रमण मेरो लागि एउटा मनोरञ्जनात्मक यात्रा नभएर समाज बुझ्ने अवसर थियो ।
एक वर्षअघि धुलाबारी क्याम्पसका हामी शिक्षकहरुबिच राराताल भ्रमणको विषयमा चिया गफ चलेको थियो । कर्नालीको यात्रा गरेका कोही पनि नभएकाले हुन सक्छ यसले खासै चर्चा पाएन । यसपालि भने धर्मानन्द खनाल, रुद्र मैनाली र अजय घिमिरे ३ जनाबिच यस विषयमा चर्चा भएर जाने सहमति भएपछि मलगायत अन्य सरहरुलाई जानकारी गराइएको थियो । मैले सहमति जनाएँ भने क्याम्पस चिफ पुष्पराज पौडेलेले अन्त्यमा कार्य व्यस्तताका कारण भ्रमण रद्द गर्नु भयो ।
वि. सं. २०५३ मा मेरो मस्तिष्कमा कैद भएको राराताल अवलोकन गर्न तथा कर्नाली क्षेत्रको भ्रमण गर्ने उद्देश्यले २०७४ वैशाख २२ गते काँकरभिट्टाबाट सुरु भयो राराताल गन्तव्य रहेको हाम्रो कर्नाली यात्रा । यात्रामा थियौँ रुद्र मैनाली, धर्मानन्द खनाल, अजय घिमिरे, म अनि हामीलाई यात्रामा दौडाउने अत्यन्तै सङ्घर्षशील तथा विनोदप्रिय भाइ वासु पाण्डे । हामीलाई दौडाउने साधन थियो बा १६ च ७४८ हुन्डाई क्रेटा । अजय दाइ यात्रा सुरु हुनुअघि नै मुगु वाणिज्य संघका साथीहरुसँग यात्राका बारेमा जानकारी लिँदै हुनुहुन्थ्यो भने रुद्र सर पिताजी श्रीप्रसाद मैनालीबाट कर्नाली यातायात व्यवसायी संघका अध्यक्ष मीनबहादुर थापासँग सम्पर्कमा हुनुहुन्थ्यो ।
हाम्रो गन्तव्य कर्नाली अञ्चल संघीय संरचनाको ६ नं प्रदेश हो । स्थानीय तहको पहिलो चरणको चुनाव ३, ४ र ६ नं प्रदेशमा वैशाख ३१ गते हुने थियो । प्रदेश नं १,, र ७ मा भने दोस्रो चरणमा चुनाव हुने गरी चुनावको मिति जेठ ३१ लाई तोकिएको थियो । हाम्रो यात्रामा प्रदेश नं ३ ४ र ६ पर्दथे । प्रदेश नं ३ भरतपुर महानगर पालिकाको चुनावमा हाम्रो पनि विशेष रुचि थियो । नेपाली काङ्ग्रेस र माओवादीले उक्त महानगर पालिकामा चुनावी तालमेल गरेका थिए । काङ्ग्रेसले माओवादीलाई मेयर पद दिएको थियो । यो देशैभरि चर्चाको विषय थियो । चितवनका मेरा केही साथीहरु चुनाव हुनु १० दिनअघि नै काङ्ग्रेसका लागि भरतपुरमा चुनाव सकियो भनिरहेका थिए । बाटामा दलहरुका संयुक्त चुनावी सभा र जुलुस पनि देखिए । चुनावका बेलामा दलहरुको संयुक्त सभा र जुलुस त अनौठो पो लाग्दो रहेछ । पहिलो दिन हामी ८२३ कि मि यात्रा गरेर कोहलपुरमा बस्यौँ ।
भोलिपल्ट बिहान ५ बजे हामी कोहलपुरबाट उत्तर बर्दिया राष्ट्रिय निकुञ्ज छिचोल्दै सुर्खेत पुग्यौँ । त्यहाँ केही मानिसहरुसँग मुगु जानेबारे सोधखोज गरियो । सुर्खेतबाट २ वटा बाटा रहेछन् । सजिलो र छिटो पुगिने गुराँसेको बाटो हामी लग्यौँ । गुराँसे गराँसमय रहेछ । झर्न बाँकी केही गुराँस देखिए । पानी भएको बाटा छेउमा पानीघट्ट अवश्य हुँदा रहेछन् । यस्तो दैलेख, कालिकोट, जुम्ला र मुगुसम्मै देखियो । दैलेखमा पानीघट्ट थापेका नरोत्तम बुढा भेटिए । उनी मस्टो पुजक हुन् । उनीसँग अजय दाजुले चुनावबारे कुरा गर्नुभयो । नरोत्तमले वृद्धहरुलाई माया गर्ने दललाई भोट दिने बताए ।
दैलेखदेखि कालिकोटसम्म कर्नालीको छालैछाल (खसानी भाषिकामा नदी किनार) थियो बाटो । साँघुरो बाटो ठाउँ ठाउँ मात्र गाडी क्रस हुने । बाटो पिच भए पनि ठाउँ ठाउँमा भत्केको थियो । चट्टान खोपेर बनाइएको बाटो कर्नाली नदी हेर्दा आङै सिरिङ्ग हुने । पहिलो यात्रा भए पनि वासु बडो निश्चिन्त भई दौडाउँदै थिए क्रेटा । बिच बिचमा रुद्र सरलाई व्यङ्ग्य गर्थे वासु सानो गाडी ल्याएकामा । ट्रक बस ट्याक्टर र फोर ह्विलर गाडी मात्र चल्ने ठाउँमा कार देखेर मानिस अचम्म माने जसरी हेर्थे हामीलाई ।
दैलेखपछि हामी कालिकोट जिल्ला प्रवेश गर्यौँ । कालिकोटका बारेमा कर्नाली ब्लुजमा पढेको थिएँ बुद्धि सागरलाई सम्झिरहेँ । त्यो दिनको हाम्रो गन्तव्य जुम्लाको नग्मा भए पनि कालिकोट पुग्दा साँझ परेकाले हामी कालिकोटमै बस्यौँ ।
कर्नाली यातायात व्यसायी संघका अध्यक्ष मीन बहादुर थापाले हाम्रो क्रेटालाई टोयोटा सुनेका रहेछन् । त्यही भएर उनले हाम्रो गाडी राराताल नै पुग्ने भएकाले जुम्लाको नग्मामा वास बस्न भनेका रहेछन् । कालिकोट पुगेपछि थाहा भयो कि क्रेटा त्यहाँभन्दा अघि जान सक्दैनथ्यो । चुनाव प्रचारको अन्तिमतिरको समय भएकाले कर्नाली क्षेत्रमा फोर ह्विलर गाडी राजनीतिक दलले रिजर्भ गरेकाले पाउन मुस्किल रहेछ । तैपनि मीनबहादुरले फोनबाटै हामीलाई बोलेरो पिकअप खोजिदिए । तेस्रो दिन बिहान ६ बजे हामी क्रेटा कालिकोटमा राखेर बोलेरो पिकअपमा मुगुतर्फ लाग्यौँ । अब बोलेरो दौडाउने हाम्रा सारथि थिए कर्नाली टाइगरका सुरेन्द्र बिसी । हाम्रा वासु अब फ्रन्ट सिटमा विराजमान थिए ।
कालिकोटबाट नग्मासम्म बाटो पिच नै रहेछ । तिला नदीको किनारै किनार थियो बाटो । नदीभन्दा करिब ५ सय मिटर माथि चट्टान खोपेर बनाइएको बाटो थियो । खोलामा उत्तानो परेका गाडी देखिन्थे । एक्काइस बर्से सुरेन्द्र हामीलाई दुर्घटनामा परेका गाडी नयाँ किन्न भन्दा निकाल्न महँगो पर्ने भएकाले खोलामै छोडेको बताउँथे । वासु साहुलाई त बीमा कम्पनीले क्षतिपूर्ति दिइहाल्छ ड्राइभरको चाहिँ बिजोग रहेछ भनी अफशोच मान्थे । वास्तवमा श्रमिक वर्गको जीवन हरेक क्षेत्रमा यस्तै अन्योलमा बितिरहेको छ ।
चालकको त्रुटि चालकले नै थाहा पाउँछ । वासु सुरेन्द्रलाई बेला बेलामा सचेत गराइरहन्थे । सुरेन्द्रले गाडी चलाउन थालेको १ वर्ष मात्र भएको रहेछ । मुगु त उनी दुई पटक मात्र गएका रहेछन् । सुरेन्द्र २१ वर्षका अविवाहित वासु ३१ वर्षका विवाहित । वासु नबोली बस्न नसक्ने । सुरेन्द्रलाई व्यक्तिगत कुरा सोध्दै गर्दा फोर ह्विलर गियरमा पाँच सात वटा चुरा लगाएको देखेछन् । "भाइ जहाँ केटी भेटिन्छ त्यहीँ चुरा लगाउने तयारीमा रछ" वासुले व्यङ्ग्य गरे । सुरेन्द्रले रहस्य खोले त्यस क्षेत्रमा धेरै महिलाहरु उहिले भिरबाट लडेर मरेकाले अहिले चुँडेल भएका छन् रे । तर्साउँछन् रे अनि चुराको आवाज सुने तर्साउँदैनन रे । मैले सुरेन्द्रलाई पुरुष पनि त मरेका होलान् नि भनेर सोध्दा पुरुषले तर्साउँदैनन् भने । उनको अभिव्यक्तिमा पितृसत्तात्मक सोचको हेजिमोनी प्रस्टै थियो । उनी यसमा थप बोलेनन् ।
कालिकोटबाट दुई घण्टाको यात्रापछि हामी नग्मा पुग्यौँ । नग्मा कालिकोट र जुम्लाको संगम थियो । नग्माबाट मुगु जाने र जुम्ला सदरमुकाम खलङ्गा जाने बाटो छुट्टिन्थ्यो । खलङ्गा जाने बाटो पक्की थियो भने मुगु जाने कच्ची । यहाँबाट हाम्रो गन्तव्य करिब ९३ किलो मिटर थियो । हामी नग्मामा विश्वकै अग्लो स्थानमा फल्ने चामल जो जुम्लामा फल्छ जुम्ली मार्सी चामलको भात खाएर अघि बढ्यौँ ।
अबको बाटो हिमा नदीको छालैछाल थियो । बाटामा मानिसहरु यदाकदा भेटिए । प्राय: पुरुषहरुले कोट लगाएका, महिलाहरुले साडीचोलो लगाएका थिए । महिलाहरुले बुलाकी अवश्य लगाएका हुन्थे । केही महिलाहरुसँग हामीले कुराकानी गर्दा उनीहरुले उमेर बताउन सकेनन् "पत्ता नाई" मात्र भने । जुम्लाका महिलाको अवस्थाका बारेमा राधा पौडेलले खलङ्गामा हमला पुस्तकमा चर्चा गरेकी छन् ।
हिमा नदीको किनार अत्यन्तै उर्वर भूमि । जौ पाक्न लागेको थियो भने स्याउ फुलेको थियो । नदी किनारमा झुरुप्प घरहरु काठमाथि माटो छापेका, कङ्क्रिटको छानो जस्ता देखिन्थे । कहीँ कहीँ त ढुङ्गा, काठ, माटो र जस्ता प्रयोग गरी बनाइएका ५ तले घर पनि थिए । ती गाउँ अत्यन्तै सुन्दर देखिन्थे । कुनै बेला जुम्लामा स्याउ कुहिएर खेर गएको समाचार अउँथ्यो । अहिले त स्याउ फलाउनेले नै खान पाउँदैनन रे । स्याउ पाक्नुअघि नै व्यापारीले बोटबोटै किनिसक्छन् रे । कर्नाली राजमार्ग यस क्षेत्रको जीवनका रुपमा रहेको पायौँ हामीले । तराईको अन्न ल्याउने र यस क्षेत्रको उत्पादन तराईसम्म पुर्याउने यो राजमार्गले त्यहाँको जीवनशैलीमा पनि परिवर्तन ल्याएको छ ।
सडक मार्गले गाउँलाई सहरसँग जोड्नु ठुलै उपलब्धि मान्छौँ हामी । यो उपलब्धि पनि हो हामी पछौटेहरुका लागि तर बाटोसँगै आएका चाउचाउ र बियर जस्ता पदार्थले स्थानीय खाना लोप हुने सङ्कटमा छन् । मानिसहरु रेडिमेड खानामा आकर्षित हुँदै छन् । यो कुरा देशका अन्य पहाडी भेगमा जस्तै यस क्षेत्रमा पनि देखियो । यसले गाउँको अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ । बाटाछेउ देखिएका केटाकेटी हामीलाई चाउचाउ माग्थे । दैलेखदेखि मुगुसम्मै यस्तो दृश्य देखियो ।
जुम्लाका ११ वटा गाविस सिञ्जा क्षेत्र नामले चिनिँदा रहेछन् । सिञ्जा क्षेत्र नेपाली भाषा उत्पत्ति भएको ठाउँ हो । यस क्षेत्रमा नेपाली भाषाको पुर्बेली भाषिकाको खसानी उपभाषिका बोलिन्छ । वि. सं. २०५४ मा धुलाबारी क्याम्पसमा नेपाली भाषाका अथक साधक तथा अनुसन्धाता पूर्ण प्रकाश नेपाल यात्री 'नेपाली भाषाको मीमांसा' पुस्तक लिएर आएका थिए । म कक्षा १२ मा ऐच्छिक नेपाली पढ्दै थिएँ । नेपाली भाषाको उत्पत्ति र विकास शीर्षकले सिञ्जा क्षेत्र मेरो मस्तिष्कमा थियो । नेपाली भाषाको उत्पत्ति सिञ्जा भनेर पढेको म २० वर्षपछि सिञ्जा पुग्दै थिएँ । म उत्साहित थिएँ । हामीले नेपाली भाषा उत्पत्ति भएको खास ठाउँ हाड सिञ्जामा केही मानिसहरुसँग कुराकानी गर्यौँ । दाजु अजय त्यहीँदेखि खसानी लवजमा बोल्न थाल्नु भयो । दाजुको बोलाइ रमाइलो थियो । त्यहाँबाट अघि बढ्दै जाँदा अकरे भिर कालाम्मे थियो । वासु आसामको कोइलाखादमा काम गरेका, उनले कालाम्मे चट्टान कोइला खानी भएको घोषणा गरे । अकरे भिर काटेर बनाइएको बाटो पनि कालो धुलोमय थियो ।
कालिकोटबाट ९ घण्टाको यात्रापछि हामी रारा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार पुग्यौँ । नेपाली सेनाको चेकपोस्ट रहेको घाँसे मैदान सुन्दर थियो । घोडा चरिरहेका थिए । गाडी इन्ट्री गराएर हामी २ घण्टाको यात्रापछि सदरमुकाम गमगढी जाने बाटो छोडेर रारातालतर्फ लाग्यौँ । आधा घण्टाको यात्रापछि हामी ठुलो घाँसे मैदान पुग्यौँ जहाँबाट अगाडि गाडी लैजान निषेध थियो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गाडी पनि त्यहीँ थियो । सेनाका २ जवान त्यहाँ खटिएका थिए ।
जुम्लामा रहेको नेपाल टेलिकमको टावर चट्याङले क्षति भएकाले त्यस क्षेत्रमा मोबायल अवरुद्ध थियो । पर्सिपल्ट बिहान ८ बजे त्यहीँ लिन आउने भन्दै सुरेन्द्र आधा घण्टा समय लाग्ने आएकै बाटो फर्किए, जहाँ पर्यटकका बाइक तथा गाडी पार्क गरिएका थिए । यहाँबाट हामी घोडालाई ब्याग बोकाएर हिड्यौँ ।
सल्लाघारीको ओरालो बाटो २० मिनेट हिँडेपछि केही पर खुला जस्तो देखियो । साढे पाँच बजेको थियो । थकित भए पनि हामी गन्तव्यमा पुग्नै लागेका थियौँ । म्याराथनको धावक अन्तिम दूरीमा पुग्नै लागेको जस्तो अवस्थामा थियौँ हामी । सल्लाघारी नकट्दै हामीले फराकिलो घाँसे मैदान देख्यौँ । घाम डुब्नै लागेको थियो । केही प…..र आकाशमा बादल तैरिएको जस्तो देखियो । त्यही घाँसे मैदानबाट हामीले वरिपरि जङ्गलले ढाकेको बिचमा निलो जलाशय देख्यौँ । त्यही थियो धर्तीको स्वर्ग राराताल ! केहीबेर त हामी निशब्द भयौँ । भर्चुअल आत्मरतिमा रमाउने हामी फोटो सुट गर्न थालिहाल्यौँ ।
हामी रारातालको पूर्वी दक्षिण दिशाबाट प्रवेश गर्यौँ । तालको उत्तर पश्चिमी किनारमा सेनाको गुल्म र दुई वटा होटल थिए । हाम्रो वास त्यही भएकाले हामीले १ घण्टा हिँड्नु पर्यो । करिब १२ घण्टाको गाडीको यात्रा र १ घण्टाको हिँडाइले थाकेका हामी खाना खाएर सुत्यौँ ।
घाम झुल्किनु अघि, झुल्के घामपछि, अपराह्न र साँझमा राराका फरक दृश्य देखिने भएकाले हामी घाम झुल्किनु अघि नै उठ्यौँ । ताल किनारै किनार दृश्यपान गर्दै हामी उत्तरतर्फ लाग्यौँ । मानिसको प्रभाव खासै देखिएन । कुनै पनि किसिमको प्रदूषण थिएन । यस्तो लाग्यो प्रकृतिलाई मानिसले सिँगार्नु पर्दैन केवल नबिगारि दिए पुग्छ ।  ५ कि मि लम्बाइ, ३ किमि चौडाइ र १६७ मि गहिरो रारा जति हेरे पनि नअघाइने । तालमा सेनाले बोटिङ गर्ने व्यवस्था मिलाएको रहेछ । बिहान करिब १० बजेपछि त्यहाँ हावा चल्नाले सोभन्दा अघि मात्र बोटिङ गर्न मिल्दो रहेछ । राराको सौन्दर्यले लोभिएका तर कर्नालीको भौगोलिक विकटताबाट तर्सिएकाहरु हेलिकप्टर चार्टर गरेर तालमाथि एक फन्को लगाएर फर्केको पनि देखियो ।
कालिकोटबाट फोन सम्पर्कविहीन हामी होटलमा भएको सिडिएमए फोनबाट परिवार र साथीभाइसँग सम्पर्कमा पुग्यौँ । सेनाको क्याम्पमा वाइफाइ भए पनि सर्व साधारणका लागि त्यो निषेध थियो ।
ताल किनारमा धरु सर, अजय दाइ, रुद्र सर र म फोटो सुट गर्दै थियौँ । ताल घुम्न आएका महिला र पुरुषको समूह हामीतिरै आयो । एकजनाले हात हल्लाउँदै भने, "कहाँबाट आउनु भएको ? पक्कै पनि काठमाडौँबाटै त होला नि !" धरु सरले भन्नुभयो, "पक्कै पनि हामी झापाबाट ।" हाँसो छुट्यो । चिनजान गरियो । वर्ल्ड बैङ्कमा काम गर्नेको समूह रहेछ । वर्ल्ड बैङ्कका कन्ट्री मेनेजर एक जापानी पनि रहेछन् । वर्ल्ड बैङ्कका परियोजना हेर्न र ताल पनि घुम्न आएका रहेछन् । रारा आउने चाहिँ काठमाडौँका मात्र हुन्छन् भन्ने काठमाडौँका मानिसको सोच पनि एक किसिमको हेजिमोनी नै हो । दिनभर ताल किनारमा रहेका टुङ्समा बसेर, घोडा चढेर र दृश्यपान गरेर बितायौँ हामीले । राराताल किनार हाम्रो कथ्यार्सिस थियो ।
वर्ल्ड बैङ्कको टिम हामी बसेकै होटलमा थियो । उनीहरुको सेवाका लागि गरिबी निवारण बिकासे कार्यक्रम मुगुका कर्मचारी बिहानैदेखि खटिएका रहेछन् । खाना खाने ठाउँमाम दाउरा बालेर ताप्न मिल्ने धुवाँरहित हिटर थियो । त्यहाँ साँझ बिकासे कर्मचारीका नाइके परबिन रावलसँग अजय दाइको चिनजान भएछ । पछि हामी पनि जोडियौँ । त्यो समूहका उच्च कर्मचारी पनि हामी भएकै ठाउँमा आए । धरु सर धाराप्रवाह बोल्न थाल्नु भयो, "वर्ल्ड बैङ्कले यो देशमा पैसा कति दियो, दियो । यो देशमा पैसा कति आउँछ, कति ! तर दुलो चाहिँ कत्रो छ कुन्नि सबै त्यही दुलोबाट बिलाउँछ । दाताले सय दियो भने जनताका हातमा १० मात्र आउँछ । म छक्क पर्छु । गरिबका नाममा आएको भनिएको पैसा सब ठुलाबडाले खान्छन् ।"
म अकबक्क भएँ । गरिबी निवारणका लागि काम गर्नेहरु विरुद्ध सर खनिनुभएको थियो । उनीहरु निशब्द सुनिरहेका थिए । अप्ठ्यारो लागेर मैले अजय दाइलाई खुसुक्क सोधेँ, "दाजु बुढाले के बोलेका ! आगो भए त !" दाजुको जवाफ सुनेर त्यतिखेर मात्र होइन यी शब्द लेखिरहँदा पनि मेरो खित्का छुटिरहेको छ ।
ती कर्मचारी केही नबोली उठे तर बिकासे कर्मचारीका नाइके परबिन रावल धरु सरबाट साह्रै प्रभावित भएछन् । उनी हाकिम भएतिर गएनन् बरु हामीसँग परिचय गरेर गफ गर्न थाले । उच्च कर्मचारीका करतुत बुझेर पनि बोल्न नसकेका उनको विचार धरु सरले बोल्नु भएछ । रावलजी स्नातक तह उत्तीर्ण गरी समूहबाट कृषि विकासमा लागेका मुगुका अगुवा किसान रहेछन् । पूर्वी नेपाल तथा दार्जिलिङसम्म पुगेका उनी हामीसँग विशेष रुचि राख्दै थिए तर उनलाई हाकिमहरुबाट बोलावट भयो ।
केही छिनपछि उनी आए । धरु सरले भन्नु भयो, "रावलजी हामीसँग कुरा गर्दा तपाईँलाई समस्या होला कि !" उनले सो कुरा मानेनन् । उनले आफ्नो कर्म सुनाए । स्नातक उत्तीर्ण गरेर उनी तरकारी खेतीमा आकर्षण भएछन् । समूहमा काम गर्दा उनी धनकुटाको तरकारी खेती अवलोकन भ्रमणमा परेछन् । त्यहाँको तरकारी खेतीबाट आकर्षित उनले सिकेको कुरा मुगुमा प्रयोग गरेर प्रशस्त आम्दानी गरेछन् । ८० वटा बाख्रा पालेका रहेछन् । समूहको प्रशासनिक कार्य व्यवस्थित गर्न आफ्नै मेहनतमा कम्प्युटर पनि सिकेका रहेछन् । एउटा अत्यन्तै कर्मशील, निष्ठावान्, कर्मयोगी रावलबाट हामी पनि प्रभावित भयौँ । उनले मुगुमा गाजर फलाएका रहेछन् । सब्जी बेजेर राम्रै आम्दानी गरेका रहेछन् । नाम भन्न सकेनन् तर उनको इसाराअनुसार उनी पूर्वी नेपालमा देखेको अम्लिसो पनि लगाउने सोचमा रहेछन् ।
रावलजीले अन्तिममा रहस्य खोले, उनी शिक्षक बन्न चाहँदा रहेछन् । पढाइ नपुगेकाले शिक्षक सेवा आयोग उत्तीर्ण गर्न नसकेको उनको ठहर थियो । दुर्गम भएकाले सामग्री नपाइने उनको गुनासो थियो । साथीहरुले मतिर देखाइदिए । मैले रावलजीको इमेल मागेँ । फोन नं आदान प्रदान भयो । उनलाई मैले आफूसँग भएका सफ्ट कपी पठाइदिने बताएँ । उनी आश्वास्त भए । रावलजीसँग एउटा हार्दिक सम्बन्ध कायम भयो ।
भोलिपल्ट करिब ६ बजे हामी होटलबाट निस्कियौँ । वर्ल्ड बैङ्कका कर्मचारीहरुलाई हात हल्लाउँदै तथा रावलजीसँग कडक्क हात मिलाएर भर्चुअल दुनियाँमा भेट्ने वाचासहित हामी हिँड्यौँ । राराताल किनारमा पनि रावलजीकै कुरा भए । राराको प्रथम दृश्यपान गरेको घाँसे मैदान जसको नाम रहेछ मिली चौरबाट पुन: धर्तीको स्वर्ग राराको अन्तिम दर्शन गरेर हामी सल्लाघारी प्रवेश गर्यौँ । २० मिनेटको हिँडाइपछि हामी गाडी भएको ठाउँमा पुग्यौँ ।
कर्नाली टाइगरका सारथि सुरेन्द्र बिसीले हामीलाई कालिकोट फर्काउने थिए । बाटामा वासु हावी भए । उनले भारत सिलोङमा जन्मेको, आफू सानै छँदा बुबाको निधन भएको, पढाइ छोड्नु परेको, कोइलाको ट्रकमा काम गरेको, नेपाल आएको, चालक अनुमति पत्र लिएको, विवाह गरेको, गाडी चलाउँदा यात्रीले गरेको उपकार, रुद्र सरका पिताजी श्रीप्रसाद मैनालीसँगको भेट अनि १० वर्षदेखि अविच्छिन्न मैनाली परिवारको सदस्य बनेको ननस्टप सुनाए । सह्रै दु:ख लाग्दो कुरा पनि ठट्यौलो शैलीमा सुनाउने वासुका कुरा सुनेर मेरा आँखा रसाए । उनको जीवन दर्शन थियो, सङ्घर्षले मानिसलाई आत्मबल दिन्छ । इमान्दारीले मानिसलाई समाजमा स्थापित गर्छ । शब्द फरक थिए तर सार यही नै थियो ।
कर्नाली टाइगरले हामीलाई कालिकोट सात बजे ल्याइपुर्यायो । कालिकोटमा मोबायल फोन तथा इन्टरनेट दुबै थियो । घर परिवार, साथीभाइ सबैलाई फोन गरेर मैले फेसबुकमा रारातालमा खिचेको फोटो पोस्ट गरेँ, जसको क्याप्सन थियो "प्रकृतिलाई मानिसले सिँगार्नु पर्दैन केवल नबिगारि दिए पुग्छ ।" घरबाट हिँडेको छैठौँ दिन बिहान ६ बजे क्रेटामा बसेर हामी कालिकोटबाट साँझ ६ बजे कोहलपुर आयौँ । सातौँ दिन कोहलपुरबाट बिहान ३:४५ देखि ८२३ किमि यात्रा गरेर राति ९:३० मा हामी काँकरभिट्टा आइपुग्यौँ ।





damodar dhungel, dharmananda khanal, ajay ghimire and rudra mainalee. visiting of rara lake, mugu district, karnali zone




कस्ले राम्रो भन्छ ? (मुक्तक)

 सञ्जालमा फोहोर गरेपछि कस्ले राम्रो भन्छ ? कर्मयोगीलाई मुख छोडेपछि कस्ले राम्रो भन्छ ?  दुनियाँको उन्नति र प्रगतिमा आफैँ जलेपछि आफ्नै कुण्ठा...