Sunday, September 3, 2017

शिक्षकको आत्म स्वीकृति

शिक्षकको आत्म स्वीकृति

दामोदर ढुङ्गेल

सामुदायिक विद्यालयको हालत वर्षमा एक पटक सतहमा आउँछ, एस्.एल्.सी. परीक्षाको नतिजा प्रकाशन हुँदा । नतिजा डिभिजन नआएर होइन विद्यार्थीले उत्तीर्णाङ्क प्राप्त नगरेकाले मात्र हो । विद्यार्थी उत्तीर्ण मात्र हुने हो भने पनि सामुदायिक विद्यालयको लगानीलाई बालुवामा पानी भनिने थिएन । नतिजा प्रकाशन भएपछि शिक्षकहरुप्रति सबैले आक्रोश पोख्छन् तर आक्रोश, कार्बाहीको चेतावनी केहीले पनि छुँदैन शिक्षकहरुलाई । नतिजका बारेमा सञ्चार माध्यममा विभिन्न बहस हुन्छन् । कोही विषय ऐच्छिक हुनुपर्ने तर्क राख्छन् । कोही लेटर ग्रेडिङ गरौँ भन्छन् । यी सबै नतिजा ढाकछोप गर्ने तर्कना मात्र हुन् । आक्रोश र चर्चाको आयु एक हप्ता मात्र हो । त्यसपछि सबै चुपचाप, यस्तो लाग्छ विद्यालय सब ठिकठाक चलिरहेको छ । अनि अर्काे वर्ष फेरि नियति उही दोहोरिन्छ । यो लेखमा मैले आफू सामुदायिक विद्यालयमा शिक्षक भएर प्रवेश गरेपछि देखेको र भोगेको वास्तविकता प्रस्तुत छ ।
उत्तीर्ण गराउने ध्याउन्न
शिक्षकलाई लगाइने आक्षेपको कारण एस्.एल्.सी.मा हुने अनुत्तीर्णहरुको सङ्ख्या नै हो । त्यही सङ्ख्या उत्तीर्ण हुने बनाउन सके शिक्षकमाथि आक्षेप होइन, सम्मानको वर्षा नै हुन्थ्यो । किनकि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई सरकारले सम्मान स्वरुप शैक्षिक उन्नयन गर्न भनेर एक लाख रुपैयाँ दिन्छ तथा विभिन्न सामाजिक संस्थाले पनि सम्मान गरेको पाइएको छ । एस्.एल्.सी. परीक्षाको विषयगत उत्तीर्णाङ्क प्रतिशत ३२ मात्र हो । यो पनि सर्टिफिकेटमा मात्र हो । व्यवहारमा अर्थात् कपी परीक्षण गर्दा २८ अङ्क प्राप्त गर्नेहरु पनि परीक्षकको करुणाले कृपाङ्क प्राप्त गरी ३२ ल्याएर उत्तीर्ण हुन्छन् । विषयगत रुपमा २८ अङ्क पनि ल्याउन नसकी अनुत्तीर्ण हुनेहरुको सङ्ख्या निजी विद्यालयको परिणाम छुट्याएर हेर्दा ८० प्रतिशतभन्दा बढी देखिन्छ ।
सामुदायिक विद्यालयबाट वास्तवमा विद्यार्थी, अभिभावक, समाज सबैले उत्तीर्ण प्रतिशत बढाउने बाहेक अरु कुनै अपेक्षा नै देखिंदैन । यस्तो लाग्छ, सामुदायिक विद्यालयको गुणस्तर खस्केको होइन, उत्तीर्ण प्रतिशत खस्केको हो । त्यही उत्तीर्ण प्रतिशत आफ्ना विद्यार्थीलाई प्राप्त गराउन नसक्नु शिक्षकप्रतिको आक्रोश हो । विद्यार्थीहरुमा विषयगत ज्ञान, सिप, अभिवृद्धि र दक्षता खोजेर आक्रोश पोखेको देखिएको छैन । आफ्नो विषयमा उत्तीर्ण गराउन सक्ने शिक्षक मात्र खोज्यो समाजले ।
हेपाहा प्रवृत्ति
सामुदायिक विद्यालयमा स्थायी, अस्थायी, सट्टा, राहत, करार, पी.सी.एफ्., निजी स्रोत, सहयोगी कार्यकर्ता आदि नामधारी शिक्षकहरु छन् । एउटै तहमा काम गर्ने शिक्षकहरु बिच सेवा र सुविधामा ठूलो भिन्नता छ । एउटै तहमा काम गर्ने शिक्षकहरुबिच वरिष्ठ र कनिष्ठको भेद अनि हेप्ने र हेपिने प्रवृत्तिको असर विद्यार्थीको पढाइमा पर्छ । शिक्षण श्रम बेचेर पुँजी आर्जन गर्ने पेसा हो । सबै थरीका शिक्षकहरुले आफूले पाउनु पर्ने कुरामा अलिकति ढिलो मात्र हुने भए आन्दोलन गर्न सङ्घर्ष समिति निर्माण गरेका छन् र सङ्घर्ष गरिरहेका पनि छन् । ती सङ्घर्ष कर्तव्य बिर्सेर गरिने अधिकारको खोजी मात्र हुन् किनभने शिक्षकका सबै आन्दोलनले विद्यालय बन्द गराएकै छन् । विद्यार्थीको पढाइमा अवरोध गरेकै छन् ।
भ्रष्ट आचरण
शिक्षकहरुले भन्ने गरेको एउटा वाक्य छ,‘‘शिक्षकले भ्रष्टाचार गर्दैन ।” तर उनीहरुले सदा गरेको र बुझ पचाएको यथार्थ भने ‘‘समयको पालना नगर्नु सबभन्दा ठूलो भ्रष्टाचार हो ।” किनभने बितेको समयको क्षतिपूर्ति हुन सक्दैन । शिक्षा नियमावलीमा विद्यालय समय १० बजेदेखि ४ बजे हुने उल्लेख छ । १० बजे प्रार्थना सभा गरेर १०:१५ मा कक्षा शिक्षणका लागि कक्षाकोठामा प्रवेश गरिसक्ने हो तर धेरै विद्यालयहरुमा १०:१५ मा प्रार्थना सभा गरेर १०:२५ तिर कक्षामा शिक्षक जान्छन् । हाजिरी रजिस्टर बोकेर कक्षातिर लागेका शिक्षकरु आपसमा गफ गर्दै कक्षामा पुग्दा अरु १५ मिनेट बिताउँछन् । विद्यार्थीको हाजिरी गरेर मात्रै पहिलो पिरियड बिताउँछन् । त्यसपछिको दोस्रो पिरियडको क्लासमा जानुको सट्टा अफिसमा आउने र एकछिन गफ चुटेर अर्काे कक्षाको १० मिनेट समय व्यतित गरेर मात्र कक्षामा जाने त शिक्षकहरुको अघोषित नियमै जस्तो लाग्छ । पहिलो पिरियड कक्षा नहुने शिक्षकहरु त जुन पिरियडमा क्लास छ त्यही समयमा मात्र विद्यालय आउँछन् । बिचमा कुनै पिरियड खाली हुँदा नजिक घर भएकाहरु घरको काम गर्न गएको पनि देखिन्छ । बिहान आएर हाजिर गरेर टाप कस्ने शिक्षकहरु पनि छन् । केही शिक्षकहरु सधैँ जिल्ला शिक्षा कार्यालयमै भेटिन्छन् । ती आफूलाई शिक्षकको नेता भन्दा रहेछन् ।
कमजोर प्रधानाध्यापक
झापाको एउटा सहरिया परिवेशको विद्यालयमा शिक्षकहरु समयमा नआउँदा हैरान भएर सहायक प्रधानाध्यापकले एक दिन १०:१५ बजे विद्यालयको गेट बन्द गरिदिए । १० जना शिक्षक बाहिरै भए । ती शिक्षकहरुले भित्र छिर्न निकै जोरजुलुम गरे तर गेट खोलिएन । तिनीहरु सबै जीवनमा पहिलो पटक हारेको ठानी लज्जित भएर घर फर्के । स्कुलमा अब केही परिवर्तन आउला जस्तो भयो । सबै जना एउटा कक्षा सकेपछि उतै (अफिस नआई) अर्काे कक्षामा पस्न थाले । त्यो दिन स्कुल नै बेग्लै भयो । भोलिपल्ट त सबै समयमा नै विद्यालय आउलान् भनेर १० बजे नै विद्यालय पुगेको त प्रधानाध्यापक पो गेटमा उभिएका रहेछन् गेट लगाउन नदिन । ११ बजेसम्म आउने शिक्षकहरुलाई प्रधानाध्यापकले गेटभित्र छिराएको देखेपछि पो थाहा भयो अघिल्लो दिन घर फर्केका शिक्षकहरुले मोर्चाबन्दी गरेर प्रधानाध्यापकको पद खुस्काइ दिने चेतावनी दिएछन् ।
सामुदायिक विद्यालयको आर्थिक, प्रशासनिक, शैक्षिक व्यवस्थापनको नेतृत्वकर्ता प्रधानाध्यापक हो । शिक्षकहरु प्रधानाध्यापकप्रति नै जिम्मेवार हुन्छन् । प्रधानाध्यापक शिक्षकको सुपरिवेक्षक पनि हो तर प्रधानाध्यपक यति कमजोर  भए कि तिनीहरुमा शिक्षकलाई कक्षामा जानुहोस् भन्न सक्ने पनि आँट छैन । समय पालना नगर्ने भ्रष्ट शिक्षक अनुरोध सुन्दैनन् भने प्रधानाध्यापक आदेश गर्ने हिम्मत गर्दैनन् । सामुदायिक विद्यालयका कुनै पनि प्रधानाध्यापकसँग एक शैक्षिक वर्षभरि पढाइ भएको दिन र नभएको दिन, कुन कक्षामा कुन दिन कुन विषय पढाइ भएन, कुन शिक्षक कुन दिन कुन पिरियडमा आफ्नो कक्षा शिक्षण गर्न गएन यस्ता कुनै पनि रेकर्ड छैन ।
समयसम्म पढाइ नभएपछि विद्यार्थीले के सिक्ने ? परीक्षामा के लेख्ने ? शिक्षकलाई काम लगाउन नसक्नु प्रधानाध्यापकको कमजोरी हो । पद लिएपछि कार्यभार सम्पन्न गर्ने साहस चाहिन्छ । आँट गर्ने प्रधानाध्यापकले नै हो । आँट गर्नु परिवर्तनको आधार हो तर आँटै नगर्नु चाहिँ परिवर्तनको बाधक बन्नु हो ।
(रेकर्ड नेपालमा प्रकाशित)

पाठ्य पुस्तकमा भाग्यवाद

पाठ्य पुस्तकमा भाग्यवाद

दामोदर ढुङ्गेल

माध्यमिक शिक्षा पाठ्यक्रम २०६४ को उद्देश्यमध्ये एउटा विद्यार्थीहरुलाई श्रमप्रति सकारात्मक बनाउनेभन्ने छ । तर, यो उद्देश्य प्राप्त गर्न बनाइएका सामाग्री भने भाग्यवादलाई प्रश्रय दिने खालका छन् । एउटा उदाहरण यहाँ प्रस्तुत गर्न चाहान्छु । वर्तमान विद्यालय तह कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकमा रहेको पाठ भाग्यभन्दा परिश्रम ठुलोवादविवादमा यस्तो अभिव्यक्ति छ:  
भाग्यमा छैन भने जतिसुकै परिश्रम गरे पनि, टाउको फोरे पनि सफलता प्राप्त गर्न सकिँदैन ।....संसारमा जन्मिएका सबै व्यक्ति परिश्रम गर्दैमा महान् हुन सक्दैनन्, विद्वान् र धनाढ्य बन्न पनि सक्दैनन् ।.... यो सबै भाग्यको खेल हो । ....परिश्रम गर्दैमा सबै मानिस सुखी र सम्पन्न हुने भए मजदुर, भरिया वा श्रमजीवी मानिसहरुको जिन्दगी किन त्यति दुःखी हुन्थ्यो ? ....भाग्यमानी व्यक्ति सानैदेखि सुखी हुन्छ ।....परिश्रम गर्दैमा सबै सुखी हुने भए यो संसारमा कोही पनि दुःखी हुने थिएनन्, सबै धनी र सम्पन्न हुने थिए । यो संसारमा धनी वर्गले भन्दा गरिब वर्गले नै बढी परिश्रम गरेको, बढी पसिना बगाएको पाइन्छ तर ती बिचरा आफ्नो दैनिक गुजारा गर्न पनि सक्दैनन् । के तिनले कम शारीरिक श्रम गरेका छन् ? बिहान उठेदेखि बेलुका नसुतेसम्म तिनीहरु काममा जोतिएका जोतियै हुन्छन् तर साँझ बिहान हातमुख जोड्न पनि तिनीहरुलाई धौ धौ पर्छ । किनकि तिनीहरुको भाग्यमा सुख छैन ।
पाठ्यपुस्तकमा समावेश पाठ्यवस्तुले भाषिक सिप मात्र होइन जीवनदर्शन र सामाजिक चेतना पनि निर्माण गर्छउपर्युक्त अभिव्यक्ति वादविवादमा परिश्रमको विपक्षमा भाग्यको तर्फबाट गरिएको हो । सरसर्ती हेर्दा पाठ्यपुस्तकमा विद्यार्थीहरुलाई भाषिक सिपमा अभ्यस्त गराउन राखिएको एउटा पाठ मात्र हो जस्तो ठानिएला । तर पाठ्यपुस्तकमा समावेश पाठ्यवस्तुले भाषिक सिप मात्र होइन जीवनदर्शन र सामाजिक चेतना पनि निर्माण गर्छ 
हाम्रो विद्यालय तहमा पाठ्यपुस्तक शिक्षणको आधार हो । अझ बहुसङ्ख्यक शिक्षकले त यसैलाई पाठ्यक्रम ठानेको पनि पाइन्छ । पाठ्यक्रमको सहज पहुँच नहुने त्यसमा पनि पाठ्यक्रम अध्ययन नगर्ने शिक्षकले त यसैलाई मात्र आधार बनाएर शिक्षण गर्छन् । पाठ्यपुस्तकमा लेखेको कुरालाई अकाट्य सत्य मानेर पढाउने चलन छ । विद्यालय शिक्षाको यस्तो स्थिति भएको देशमा पाठ्यपुस्तकमा गलत धारणा निर्माण गर्ने पाठ्य सामग्री राख्नाले हामी कस्ता विद्यार्थी निर्माण गर्दैछौँ भन्ने प्रश्न उठेको छ । 
नेपाली विषय विद्यालय तहमा जसले पनि पढाउन सक्छ भन्ने विषयको रुपमा स्थापित भएको छ । अधिकांश नेपाली विषयका शिक्षक नेपाली विषयलाई भाषा शिक्षणका रुपमा होइन अन्य विषय शिक्षण गरे जस्तो विषयगत ज्ञानलाई प्राथमिता दिएर पढाउँछन् । वादविवाद शिक्षण गर्दा अघिल्लो दिन विद्यार्थीहरुलाई पाठ्य पुस्तकको वाद विवाद पढ्न लगाउने र भोलिपल्ट सोही शीर्षकमा कक्षामा वाद विवाद गराउने प्रचलन छ । हाम्रो समाज, प्रत्येक परिवार अनि व्यक्ति अझै पनि भाग्यमै विश्वास गर्ने भएकाले र पाठ्यपुस्तकमा पनि भाग्यकै पक्षमा जोड दिइएकाले 'भाग्यभन्दा परिश्रम ठुलो' शीर्षकमा वादविवाद गराउँदा विद्यार्थीहरु पाठ्य पुस्तकमा भाग्य स्थापित गराउने अभिव्यक्ति भएकाले विद्यार्थीले श्रमका पक्षमा बलियो मत नै बनाउन सक्दैनन् । 
राजा महेन्द्रका नाममा ल्याइएको विद्यालय स्तरको पाठ्यपुस्तक
यसले श्रमको महत्त्वलाई निस्तेज त पारेकै छ । हाम्रा सामाजिक समस्याहरु पनि भाग्यको परिणाम भएकाले चुपचाप सहनु पर्ने बानीको विकास गर्न उद्यत् छ । त्यसैले यस्तो अभिव्यक्ति समावेशी र समतामुलक समाज निर्माणको विरुद्धमा छ । यो भाग्यवाद श्रमको विरुद्धमा त छँदै छ । साथै यसले हाम्रा तमाम सामाजिक विभेदहरुलाई पनि भाग्यवादको लेप लगाएर वास्तविकता छोपिरहेको छ । आर्थिक असमानता, जातीय, लैङ्गिक विभेद पनि भाग्यकै परिणाम भएकाले स्विकार्नै पर्ने धारणा निर्माण गर्नमा सघाउ पुर्याएकोछ । 
श्रमप्रति सकारात्मक सोचाइ भएका विद्यार्थी र समावेशी समाज निर्माण गर्न ढिलो गर्ने शासकहरुको चेष्टा हो भने त्यसमा प्रश्न उठाउन जरुरी छआलोचनात्मक चेत र विश्लेषणात्मक सिप विकास गर्ने माध्यमिक शिक्षाको उद्देश्यमा उल्लेख गरिएको छ तर यस खालका पाठ्यवस्तुले विद्यार्थीमा थोपरिएका र लादिएका विचार जबर्जस्त, बिना सर्त स्वीकार गर्ने प्रवृत्ति निर्माण गरिरहेको छ । सामाजिक चेतनाका आलोक ढाक्ने यस्ता अवरोध पन्छाउन ढिलो गर्नु हुँदैन । सामाजिक कुसंस्कारका जालो च्यात्न अबेर गर्नु भनेको यथास्थितिमा जोड दिनु हो । श्रमप्रति सकारात्मक सोचाइ भएका विद्यार्थी र समावेशी समाज निर्माण गर्न ढिलो गर्ने शासकहरुको चेष्टा हो भने त्यसमा प्रश्न उठाउन जरुरी छ  
चेतना निर्माणको बलियो औपचारिक स्थल विद्यालय नै हो । अनि विद्यालय तहमा नै यस्ता पाठ्य सामग्री अध्यापन गराइएपछि कसरी हाम्रा सामाजिक समस्याहरु समाधान हुन्छन् ? हाम्रा पाठ्य पुस्तक सामाजिक समस्या समाधानतर्फ होइन पुनरावृत्तितर्फ केन्द्रित छन् । जीवनभर परिश्रम गरेर पनि आर्थिक उन्नति नहुनु भाग्यमा नभएर होइन । हाम्रो सामाजिक संरचना, अर्थ व्यवस्था र राजनीतिक प्रणालीका कारण हो । ०६२/६३ को लोकतान्त्रिक जन आन्दोलन, त्यसले जनतामा ल्याएको चेतना र हामीले स्वीकार गरेको समावेशी समाजका विरुद्धमा भाग्यवादलाई प्रश्रय दिने यो पाठ्यवस्तुले गरिब, निमुखा, दलित, महिला, सीमान्तकृत समुदायले जीवनभर कर्म गरेर पनि कर्महारा बन्नुलाई भाग्यको खेल भनेको छ । भाग्यमा नभएर नै गरिब भएको अनि भाग्यकै कारण धनी भएको भन्ने बाल मस्तिष्कमा छाप पारेको छ ।
जति नै पसिना बगाए पनि भाग्य नहुनेको केही चल्दैन भन्ने कुरा पढाइएपछि श्रमप्रतिको सम्मान नै रहँदैन । भाग्यमा हुनेको तालुमा आलु फल्छ भन्ने जस्ता कुरा पढाएपछि कसले र किन गर्ने श्रम ? यस्ता प्रश्नको जवाफ पाठ्य पुस्तक लेखकहरुले दिनुपर्छ । होइन भने किन राखिन्छन् यस्ता पाठ्यवस्तु ? यसको पनि जवाफ दिनुपर्छ लेखकहरुले । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विद्यालय तहको पाठ्यपुस्तकले समावेशी बनाएको जस्तो गरेको छ तर त्यो शब्द तहमा मात्र छ । पाठ्यपुस्तकबाट श्री ५ को सरकारहटाएर नेपाल सरकार बनाउने काम भयो तर विषयवस्तुको सामाजिक प्रभावका दृष्टिले अहिलेको नेपाली भाषाको पाठ्यपुस्तक महेन्द्रमालाकै पुनरावृत्ति हो ।
बाल्यकालमै मैले समाजमा जमिन्दारहरुले गरिबहरुको शोषण गरेको देखेँ । मेरा बुबा जमिन्दारकै खेती अधियाँ कमाउनु हुन्थ्यो । प्रत्येक वर्ष असार साउन महिनामा जमिन्दारहरुको रोपाइँमा हौली दिनुपथ्र्यो । हौली अर्थात् जमिन्दारको रोपाइँका दिन रोप्न ठिक्क पारेको आफ्नो मेलो छोडेर सित्तैमा सघाउनु पर्ने । यो प्रचलन तराईमा अझै छ । कतिपय लेखकहरु हौलीलाई हाम्रो कृषि संस्कृति मान्छन् तर मेरो विचारमा हौली कृषिमा सामन्ती संस्कारको प्रतीक हो । मेरो बुबा हौलीका दिन कामै नभए पनि प्रायः घर छोडेर टाढा आफन्तका घरमा जानु हुन्थ्यो । गाउँका सबै मानिसहरु हौलीमा पाएको खाजा ल्याएर खान्थे । तर मेरा बुबा भाग्नु हुन्थ्यो । यो कुरा त मैले पछि बुझेँ । बुबा भन्नुहुन्थ्यो, “शोषक सामन्तीका घरमा खाजाका लोभमा परेर सित्तैमा जोत्न जादिनँ ।बुबाबाटै थाहा भयो मलाई श्रमको महत्त्व । सानैदेखि मेरा लागि श्रम अप्रतिम वस्तु र श्रमिकहरु महान् भए । त्यसैले श्रमको बद्ख्याइँ गरेर भाग्यको महत्ता गाउने उक्त पाठ मैले विद्यालय तह शिक्षणको १२ वर्षको अवधिमा पढाइनँ । यसमा मलाई कुनै अफशोच पनि छैन । किनकि पाठ्यक्रमको उद्देश्य विद्यार्थीलाई भाग्यवादी बनाउने होइन र छैन ।
पाठ्यक्रम विकास केन्द्रका पाठ्यपुस्तक लेखनका स्थायी वैतनिक विद्वान्हरुले तयार पारेको वादविवाद बोलाइ सिप विकास गर्न पाठ्यपुस्तकमा राखिएको हो । परीक्षणीय पक्ष र व्यावहारिक परिवर्तन भनेको पनि वादविवाद गर्ने सिपको मापन हो । त्यसैले मैले कक्षा १० मा वादविवाद शिक्षण गर्न अन्य शीर्षकहरु चयन गर्ने गरेको छु । ती शीर्षकहरु कर्मभन्दा भाग्य ठुलो भन्ने खालका हुँदैनन बरु तिनीहरुले विद्यार्थीमा समानता, भ्रातृत्व, सम्मान गर्ने सिप र कर्मयोगी बन्ने प्रेरणा दिन्छन् । 

कतिपयलाई लाग्न सक्छ वादविवाद त हो नि, यो वा त्यो पक्षमा राखेर कुरा बुझाए भयो नि । तर मेरो व्यक्तिगत अनुभवका आधारमा के भन्न सक्छु भने, यस्ता कुतर्कले विद्यार्थीको जीवनमा र जीवन दर्शनमा पारेको नकारात्मक प्रभाव अत्यन्त गहिरो हुन्छ 
(रेकर्ड नेपालमा प्रकाशित)

करोडौँ कुलीनहरूको पक्षमा

करोडौँ कुलीनहरूको पक्षमा


दामोदर ढुङ्गेल

‘करोडौँ कस्तूरीले नेपालमा खासै बहस नगरिने शिक्षा विषयलाई बहसका लागि एउटा मुद्दाको रूपमा उठाएको छ ।’ 
उक्त विचार मेरो होइन । करोडौँ कस्तूरी प्रकाशित भएपछि सोबारेमा गरिएका पुस्तक समीक्षामा महत्त्वका साथ प्रचार गरिएको कुरा हो । 
हुन त हामीकहाँ सामान्य पाठकले कहिल्यै नसोचेको ‘स्पोन्सर्ड बुक रिभ्यु’ (प्रायोजित पुस्तक समीक्षा) हुन्छ । बजारमा आएका पुस्तक समीक्षाको यो धारणा र पुस्तक पढेपछि मेरा मनमा उपन्यास ‘करोडौँ कस्तूरी’ र यसकै प्रचारमा उच्च खानदानका छोराछोरीहरू पढ्ने कलेजमा प्रवचन दिइरहेका उपन्यासकार अमर न्यौपानेलाई केही प्रश्न उब्जिएका छन् । 
व्यक्ति आफैँ कस्तूरी हो कि व्यक्तिलाई समाजले कस्तूरी बनाउँछ ?
अभिभावकले आफ्ना नानीहरूको बिनारूपी प्रतिभा किन चिन्दैनन् ?
हाम्रो देशमा प्रतिभा चिन्ने अभिभावक नभएका हुन् कि प्रतिभा प्रस्फुटन गराउने वातारण नभएको हो ?
अभिभावकहरू आफ्ना काराणले बिना चिन्न नसक्ने अवस्थामा पुगेका हुन् कि पु¥याइएका हुन् ?
‘आफ्नो रुचि र प्रतिभा पहिचान गर्न नसक्नु भनेको आफ्नै शरीरको बिना नचिनेको कस्तूरी हो, जो आफ्नै सुगन्धको खोजीमा भौँतारिरहन्छ’, करोडौँ कस्तूरीको मूलभाव हो । आफ्नो रुचिअनुसारको कार्य गर्न नपाएको व्यक्ति जीवनभर सफलताको खोजीमा भौँतारिरहन्छ तर ऊ कहिल्यै सफल हुँदैन भन्न खोजिएको हो ।  
प्रत्येक व्यक्तिमा वैयक्तिक भिन्नता हुन्छ । वैयक्तिक भिन्नता निर्माण गर्ने निर्धारक तत्वहरू तथा व्यक्तिको व्यक्तित्व विकासमा वंशाणुगत गुण र वातावरणले प्रभाव पार्दछन् ।
वंशाणुगत गुण र वातावरण व्यक्तित्व निर्माणका सन्दर्भमा आएका अवधारणा र त्यसमा प्रभाव देखाउने तत्त्व हुन् । बाल्यावस्थामै व्यक्तित्व निर्माण गर्ने आधारभूत कुराहरूको छनोट गर्ने कार्यमा व्यक्ति सक्षम हुँदैन भने यो स्वतन्त्रता व्यक्ति स्वयम्लाई पनि छैन । संयुक्त राष्ट्रसङ्घको घोषणा पत्रमा बाल बालिकाको शिक्षाको छनोट गर्ने अधिकार स्वयम् बाबुआमालाई हुने उल्लेख छ । यसबाट पनि स्पष्ट हुन्छ व्यक्तिको व्यक्तित्व निर्माण स्वयम् व्यक्तिको चयनबाट होइन अभिभावकको रुचिमा भर पर्छ । अभिभावकको रुचि पनि समाजको संरचना, परम्परा र खुलापन तथा शिक्षा र आर्थिक अवस्थाले निर्धारण गर्दछ । अभिभावकले आफ्नो विचार लाद्ने अवस्था पनि शिक्षित र सम्पन्न अभिभावक हुँदा मात्र हुन्छ । 
त्यसैले के भन्न सकिन्छ भने व्यक्ति जन्मेपछि सामाजिक जन्जिरले बाँधिन्छ । वास्तवमा प्रकृतिले दिएको वैयक्तिक स्वतन्त्रता उसले जीवनमा कहिल्यै प्राप्त गर्नसक्दैन । किनभने जीवनमा रुचि र अभाव सँगसँगै छन् । 
व्यक्तिको व्यक्तित्व विकासमा वंशाणुगत गुण कि वातावरण भन्ने बहस उन्नाइसौँ शताब्दीको अन्त्यतिर सुरु भएको हो । संज्ञानात्मक मनोवैज्ञानिकहरू वंशाणुगत गुणलाई महत्त्व दिन्छन् भने व्यवहारवादी मनोवैज्ञानिकहरू वातावरणलाई महत्त्व दिन्छन् । वंशाणुगत गुण मातापिता र पुर्खाबाट सन्तान दरसन्तानमा सर्ने पुख्र्यौली गुण हो । आमाबाबुका शारीरिक र मानसिक गुणहरू सन्तानमा सर्नु वंशाणुगत गुणको प्रसारण हो । यो व्रmोमोजमबाट स्थानान्तरण हुन्छ । वंशाणु गुण प्राकृतिक कुरा हो । यो व्यक्तिको नियन्त्रणमा हुँदैन । त्यसैले यो आमापट्टि वा बाबुपट्टि अथवा हजुर बुबा वा हजुर आमा कसको प्रसारित हुन्छ भन्ने कुरा निर्धारण हुन सक्दैन । पुख्र्यौली गुण तीक्ष्ण भए व्यक्ति प्रतिभावान् बन्छ भन्ने मान्यता संज्ञानात्मक मनोवैज्ञानिकहरूको रहेको छ । नेपाली उखान ‘वनको काँडालाई तिखार्नु पर्दैन’ भन्ने मान्यता राख्छ यसले ।
व्यक्तिलाई प्रभाव पार्ने सम्पूर्ण बाहिरी शक्तिलाई वातावरण भनिन्छ । पुख्र्यौली गुण जस्तोसुकै भए पनि व्यक्तिले जन्मेपछि पाउने वातावरणले उसको व्यक्तित्व र क्षमता निर्माण गर्छ भन्ने मान्यता व्यवहारवादी मनोवैज्ञानिकहरूको रहेको छ । उनीहरूको मान्यता भनेको उचित वातावरण र अवसरले व्यक्तिको तीक्ष्ण क्षमता निर्माण गर्छ भन्ने हो । 
मनोवैज्ञानिकहरूको यो तर्क विवादकै रूपमा रहेको छ । तीक्ष्ण वंशाणुगत गुण भएको बालकले उक्त क्षमता प्रस्फुटन गराउने वातावरण पाएन भने उसको अन्तर्निहित क्षमता त्यसै हराएर जान्छ । त्यस्तै तीक्ष्ण वंशाणुगत गुण चाहिँ छैन तर उचित घरायसी वातावरण र अवसर पाएको तथा हरेक कुरामा सही परामर्श र मार्गदर्शन प्राप्त गरे पनि  बालक सिप सिक्न सक्षम हुँदैन । यसबाट के स्पष्ट हुन्छ भने व्यक्तिको सर्वाङ्गीण विकासमा वंशाणुगत गुण र वातावरण दुवैको सापेक्षित प्रभाव हुन्छ । 
अमर न्यौपानेले करोडौँ कस्तूरीमा घरमा अभिभावकले, विद्यालयमा शिक्षकले बालकको रुचि र प्रतिभा पहिचान गरी सोहीअनुसार मार्गदर्शन गर्नुपर्ने निष्कर्ष तथा सन्देश दिएका छन् । साथै व्यक्ति स्वयम्ले पनि आफ्नो प्रतिभा पहिचान गरी सोहीअनुसार अगाडि बढ्नुपर्ने उनको सन्देश छ । 
कलाकार हरिवंश आचार्यलाई बिम्ब बनाएर लेखिएको उक्त उपन्यासमा हरिवंश आफ्नो विनारूपी प्रतिभा पहिचान गरेर रङ्गमञ्च पुगेका हुन् कि काठमाडौँको परिवेशले हो ? यसमा बहस हुन आवश्यक छ । हरिवंशकै उमेरका अरू कति थिए होला अभिनय गर्नसक्ने मानिस तर ती खोइ ? ती बिना नचिनेर रङ्गमञ्च नआइपुगेका हुन् कि रङ्गमञ्च आइपुग्ने हैसियत नभएर ? तिनका बाबुआमा किन मार्गदर्शक हुन सकेनन् ? किन तिनका अभिभावकले आफ्ना नानीहरूलाई सही परामर्श दिन सकेकनन् ? 
अमरको भनाइमा बिना चिन्ने ठाउँ विद्यालय पनि हो । तर उनले देशका सामुदायिक विद्यालयको अवस्था, त्यहाँ कार्यरत शिक्षकहरूको पेसाप्रतिको बफादारी, जवाफदेही ख्याल गरेका छैनन् । विद्यालय किन त्यो अवस्थामा पुग्यो ? मानव स्रोत व्यवस्थापन र दक्ष जनशक्ति निर्माणमा राज्यको नीति कस्तो रह्यो ? गीत सङ्गीत, कला, खेल, प्रविधिको ज्ञान भएकाहरू किन अरब भासिएका छन् ? युरोप र अमेरिकामा किन हीनभाव बोकेर सङ्घर्ष गरिरहेका छन् ? कर्णालीको बिना चिनेको एउटा कस्तूरी किन हरिवंश बन्न सक्दैन ? सप्तरीको एउटा गरिब मुसहर बिना चिनेर पनि किन पारस खड्का बन्न सक्दैन ? बिना चिनेका इलामका एक जना गायक कुबेर राई जो रेडियो नेपालले २०५१ सालमा आयोजना गरेको आधुनिक गीत गायन प्रतियोगितामा प्रथम भएर पनि गुमनाम भए । अहिले इलामकै श्रीअन्तु गाविसमा चियाखेती गरेर बसेका छन् । काठमाडौँका सडक पेटीदेखि भारतका दर्जिलिङ, सिक्किम, आसाम, मणिपुर, सिलोङसम्म गीत गाउँदै हिँड्ने धेरै गन्धर्वहरू कुशल सङ्गीत भर्छन् आफ्नो गायनमा । जसको पुख्र्यौली पेसा भनिन्छ गायनलाई । तर, तिनीहरू सधैँ गाइने बन्छन् कहिल्यै गायक बन्दैनन् । दोष राज्यको थियो कि बिना चिन्नेको ? यसको जवाफ खोज्ने बेलामा मुद्दालाई डाइभर्ट गर्ने गरी अमर न्यौपानेले करोडौँ निमुखाहरू बिना चिन्न नसकेर जीवनभर असफल भएको घोषणा गरेका छन् । 
प्रतिभा फस्टाउने स्थान नै वातावरण हो । प्रत्येक नागरिकले समान अवसर पाउनुपर्छ । सम्मानपूर्वक बाँच्न पाउनु पर्छ । राज्यका हरेक निकायमा सबैको पहुँच हुनुपर्छ । राज्य सबैको साझा हुनुपर्छ भनेर सङ्घर्ष गरिरहँदा प्रतिभा प्रस्फुटनका लागि प्रत्येक नागरिकले उचित वातावरण पाउनुपर्छ भनी वकालत गर्नुपर्ने बेलामा निमुखाहरूका लागि दिवास्वप्न जस्तो लाग्ने भाग्यवादी कुरा गरेर अमर सहरका उच्च खानदानका छोराछोरीहरू पढ्ने कलेजमा हरिवंशलाई बिम्ब बनाएर प्रवचन दिइरहेका छन् ।
‘करोडौँ कस्तूरी’ औपन्यासिक तत्त्वगत दृष्टिले समय र परिवेश राम्रो छनोट भएको कृति हो । तर, कृतिभित्रको समय र परिवेश मात्र वर्तमान साहित्यको पारख गर्ने र विश्लेषण गर्ने आधार होइन । कृतिले वर्तमान समय पनि व्यक्त गर्नसक्नु पर्छ । राज्यको मूलधारबाट लखेटिएर किनारमा पु¥याइएका करोडौँ सीमान्त निमुखाहरू राज्यको मूलधारमा आउन सङ्घर्ष गरिरहेको बेला बिना चिन्न नसक्नेहरू असफल भएको अनि चिन्न सक्नेहरू सफल भएको भनी कुनै बेला उच्च जातले तल्ला जातलाई जातका सन्दर्भमा ‘पूर्वजन्मको कर्म’ भन्ने शैलीमा अमर करोडौँ एलिटहरूको पक्ष पोषण गरिरहेका छन् ।   

भानुभक्त कटाक्ष र भ्रम

भानुभक्त कटाक्ष र भ्रम

दामोदर ढुङ्गेल

दशकौँदेखि भन्दै आयौँ– पुरानो भत्काएर नयाँ निर्माण गर्नु नै विनिर्माण हो। तर भत्काउने काम मात्र गर्‍यौँ, नयाँ निर्माण गर्न सकेनौँ। हाम्रो यो दरिद्रता भाषादेखि भौतिक संरचनासम्म देखियो। त्यसैले हामी भँडुवा मात्र भयौँ, भञ्जक भयौँ तर सर्जक भएनौँ। त्यसैले वर्तमान पुस्ताले कुनै पनि उल्लेखनीय कार्य गर्न सकेन। भावी पुस्तालाई भनेर देखाउन लायक केही छैन नयाँ कुरा। अर्काले लेखेको इतिहासका पानामा शब्दको हिसाबकिताब गरेर वर्तमान बिताइरहेको हाम्रो पुस्ता विगतको आलोचना मात्र गरेर वर्तमानमा समालोचनात्मक बन्न सकेको  छैन। 
 
सन्दर्भ  भानुजयन्तीको हो। वर्तमान पुस्ता साहित्यको परिभाषा रटान लगाइरहेको छ। भनिन्छ, साहित्य समाजको दर्पण हो। तर भानुभक्तका कृति उनकै समाजको दर्पण हो भन्ने कुरा बुझ पचाउँछ र भन्छ– भानुभक्त एउटा प्रोजेक्ट हुन्। भानुभक्तलाई प्रोजेक्टको रूपमा कसैले प्रयोग गर्‍यो त त्यसमा उनको के दोष? दुई शताब्दी अघिका भानुभक्तको के कुरा अहिले पनि सयौँ कृति प्रोजेक्टकै रूपमा आएका छन्। समाजका असमानता, दुर्भिक्ष, अन्याय, अत्याचार, भाषा, धर्म, जात, लिङ्ग, वर्णका आधारमा भेदभाव चलिरहेका बेला पनि प्रेम कथा लेखेर साहित्यिक योगदान गर्नेको कमी त छैन देशमा। व्यापारीहरू प्रेत लेखक/अतिथि लेखकलाई आफूले रक्सी खाएको कुरा लेखाएर व्यापार गरिरहेछन्। जर्नेलहरू तिलस्मी कथा बेचिरहेछन्। आत्मकथा लेख्नु शुभलाभ कम्पनी भएको छ। निमुखा जनताभन्दा धेरै पर, हात र नङ्ग्रा खियाउने वर्गभन्दा पर फन्ट्यासी जस्तो लाग्ने कृति पढेर आनन्द मानिरहेको छ वर्तमान पुस्ता। जब असार २९ गते आउँछ अनि भानुभक्तलाई भाषिक दमन गरेको र नारी स्वतन्त्रता हनन् गरेको भनेर कटाक्ष गर्छ वर्तमान पुस्ता। 
 
वर्तमान यस्तो दयनीय छ। भ्रमपूर्ण छ। भानुभक्तले नेपालीमा रामायण अनुवाद गरेर अन्य भाषामाथि आक्रमण गरे भनेर हुर्किँदै गरेको पुस्तालाई उनीप्रति नकारात्मक बनाइँदै छ। संस्कृतको अध्यात्म रामायणलाई भानुभक्तले नेपालीमा भावानुवाद गरेका थिए। प्राप्त प्रमाणका आधारमा नेपाली भाषा हालको नेपालको भूगोलमा १ हजार वर्षभन्दा अघिदेखि प्रचलनमा रहेको पाइएको छ। भाषाविद् बालकृष्ण पोखरेलले नेपालको किराँतकालीन समयमा नेपाली भाषा नै सम्पर्क भाषा रहेको सिम्रौनगढका राज पण्डित ज्यातिरीश्वरको कृति वर्णरत्नाकरमा प्रयोग भएको भाषाबाट प्रमाणित हुने तर्क राखेका छन्। त्यस्तै अर्का भाषाविद् भानुभक्त पोखरेलले नेपाल एकीकरण हुनु ५ सय वर्षभन्दा अघिदेखि यस क्षेत्रका विभिन्न राज्य–रजौटाहरूले सन्धि, पत्राचार गर्न अन्तर राज्य भाषाको रूपमा नेपाली भाषा प्रयोग गरेको उल्लेख गरेका छन्। नेपाल एकीकरणका अभियानका क्रममा पनि बाइसे र चौबिसे राज्यहरूले सन्धि गर्दा नेपाली भाषा नै प्रयोग गरेकाले त्यति बेला नेपाली भाषा सम्पर्क भाषाको रूपमा विकसित भइकसकेको स्पष्ट हुन्छ। लिम्बुवान र खम्बुवानका राजाहरूसँग पनि व्यवहार गर्ने भाषा नेपाली नै रहेको प्रमाण पाइन्छ। मल्लकालमा त मल्ल राजाहरू प्रताप मल्ल, भूपतीन्द्र मल्ल, जगतप्रकाश मल्लहरूले नेपाली भाषमा कृति नै प्रकाशन गरेको पाइन्छ। 
 
तत्कालीन समयमा यस क्षेत्रमा प्रशस्त भाषा बोलिन्थे भन्नेमा कुनै शङ्का छैन। तीमध्ये मैथिली, नेवारी भाषा समृद्ध पनि थिए। तर पनि बहुसङ्ख्यक जनताले बुझ्ने र व्यवहार गर्ने सम्पर्क भाषाको रूपमा नेपाली रहेकाले गर्दा नेपाली भाषामा भानुभक्तले रामायण रचना गर्नाले अन्य भाषामाथि अतिक्रमण भयो भन्नु भाषा वैज्ञानिक दृष्टिले युक्तिसङ्गत मानिँदैन। वास्तवमा नेपाली भाषा अहिले कुनै जाति विशेषको मात्र भाषा रहेन। यो त अन्तर्जातीय भाषाको रूपमा स्थापित भइसकेको छ। त्यसैले दुई शताब्दीअघिका भानुभक्तको रामायणले भाषिक दमन गर्‍यो भन्ने जस्ता आधारहीन कुरा गर्नुभन्दा हरेका भाषाका वक्ताले आफ्नो भाषालाई आधुनिक र मानक बनाउन आफूले र राज्यले के प्रयास गरेको छ भनेर आत्ममूल्याङ्कन गर्न जरुरी छ।
 
हो, लामो समय राज्यले एक भाषाको नीति अख्तियार गर्दा नेपालभित्र बोलिने अन्य भाषाहरूको विकास भएन। त्यसको कारण राज्य हो भन्ने कुरा त सबैले स्विकारेकै छ नि। तर, दुई शताब्दीअघिका भानुभक्तले नै सबै भाषा मास्न खोजेको आरोप लगाउनु चाहिँ हीन मनोभाव मात्र हो।
 
भाषाको विकासका सन्दर्भमा मानकीकरण र आधुनिकीकरणको कुरा आउँछ। भानुभक्तको रामायण नेपाली भाषाको आधुनिकीरण र मानकीकरणको एउटा प्रयास मात्र हो। मनकीकरण भनेको एउटै भाषाका विभिन्न स्थानीय भेदमध्ये एउटा भेदलाई सर्वस्वीकार्य बनाउने कार्य हो भने आधुनिकीकरण चाहीँ भाषालाई समाजको बद्लिँदो परिवेशअनुरुप प्रयोग योग्य बनाउनु हो अर्थात् सामाजिक परिवर्तनलाई भाषाले व्यक्त गर्नसक्ने बनाउनु हो। संस्कृतको अध्यात्म रामायणलाई नेपाली भाषामा भावानुवाद गरेर उनले नेपाली भाषालाई साहित्य लेखनमा प्रयोग गरे। यो मानकीकरण र आधुनिकीकरणका सन्दर्भमा भाषिक विस्तार थियो। भाषिक विस्तार बडो कठिन कुरा पनि हो। किनभने जनताले स्वीकार नगर्दा यो प्रक्रिया नै असफल हुन्छ। तर भानुभक्तको रामायण जनजिब्रोमै झुन्डिएको छ। 
 
औपचारिक शिक्षा नै आरम्भ नभएको समयमा रामायणको भावानुवाद गरेर भानुभक्तले पठन संस्कृतिको जग बसालेको कुरा वर्तमान पुस्ता बुझ्दैन। २००७ सालपछि मात्रै खुकुलो भएको हाम्रो शिक्षा प्रणालीमा हामी एक र दुई पुस्ते शिक्षित वर्ग हौँ। तापनि हाम्रा अग्रजहरू वर्षाैँदेखि भानुभक्तीय रामायणका श्लोक गाइरहेका छन्। हाम्रो पठन संस्कृतिको आधार त्यही रामायणले निर्माण गरेको हो। अनौपचारिक शिक्षा तथा गुरुकुलमा लामो समय रामायण नै पठन सामग्री थियो। भानुभक्तकै अन्य कृतिहरू शिक्षण सामग्री थिए। तत्कालीन समाजको मूल्य मान्यतालाई विषय वस्तु बनाइ रचिएका तथा सामाजिक परिवेशको चित्रण गरिएका उनका कृतिहरू व्यक्तिमा सच्चरित्रता निर्माण गर्न र समाजलाई आदर्श बनाउन सक्षम थिए। तर, तत्कालीन परिवेश, मूल्य मान्यता अध्ययन नगरी बडो नारीवादी भएर आधुनिक आलोचकहरू भानु जयन्तीका दिन भानुभक्तको वधूशिक्षाप्रति कटाक्ष गर्छन्, नारीले हाँस्नुहुन्न भनेको कुरालाई लिएर।
 
नारीले हाँस्न हुन्न भन्ने विगतबाट गुज्रेर हामी अहिलेको खुला समाजमा आइपुगेका हौँ। त्यसले हाम्रो सभ्यता र विकासको क्रम देखाउँछ, जुन मेटेर मेटिन्न। त्यो हाम्रो विगतको यथार्थ थियो। विगतको कमजोरी अहिले खोतल्ने होइन। कमजोरीबाट शिक्षा लिने हो। मानव समाज र सभ्यताको निर्माण नै त्यसरी भएको छ। सबै विगततिर नै फर्केर हिसाब खोज्ने हो भने समाजले अग्रगति लिँदैन। समाजमा सिर्जनात्मक कार्य नै हुँदैन। महाकवि देवकोटाले भनेका छन्, …साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदय स्पर्शितामा निर्भर गर्दछ।' नेपाली साहित्यमा जनताको हृदयमा सर्वकाल स्पर्श गर्ने कृति रामायण नै हो। त्यसैले भानुभक्तका कृतिमाथि कटाक्ष गर्नुभन्दा उनका कृतिको अन्तर्वस्तु पहिल्याउनु महत्त्वपूर्ण हुन्छ। किनभने देवकोटाकै शब्दमा, 'भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ, उनलाई हेला गरे समाप्त हुन्छ।'

सेतोपाटी अनलाइनमा २०७२ असार २९ मा प्रकाशित

उत्पीडितहरुको शिक्षाका प्रवर्तक

उत्पीडितहरुको शिक्षाका प्रवर्तक

दामोदर ढुङ्गेल


damodar
पुस्तक छापिएको समयलाई आधार मान्दा पुस्तक पुरानो हुन्छ तर हरेक नयाँ पाठकका लागि पहिल्यै अथवा वर्षाैँ पहिले छापिएको पुस्तक पनि नयाँ हुन्छ । पुस्तकलाई नयाँ र पुरानो मान्ने पाठकको स्वतन्त्रता हो । त्यसै गरी पुस्तकले उठाएको विषयवस्तु र मुद्दाले पनि पुस्तकको नवीनता निर्धारण गर्छ । वर्षाैँ पहिले लेखिएको पुस्तकले उठाएको विषयवस्तु समकालीन सन्दर्भमा पनि सार्थक छ र वर्तमान समयलाई निर्देशित गर्छ भने पुस्तकको नवीनता रहिरहन्छ ।
करिब ४५ वर्षअघि प्रकाशनमा आएको तर अव्यवस्थित राष्ट्रका समाजिक विकासका लागि झन् सान्दर्भिक रहेको पुस्तक हो ‘पेडागोजी अफ द अप्रेस्ड’ अर्थात् जसलाई नेपालीमा उत्पीडितहरुका लागि शिक्षण कला वा दलितहरुको शिक्षाशास्त्र जस्ता नाममा अनुवाद गरिन्छ । उक्त पुस्तकका लेखक हुन् शिक्षामा नयाँ चिन्तन ल्याउने प्रसिद्ध शिक्षाशास्त्री पाउलो फ्रेरे । पाउलो फ्रेरेको जन्म सन् १९२१ मा ब्राजिलको रेसिफ सहरमा मध्यम वर्गीय परिवारमा भएको थियो । सन् १९३० को अन्तर्राष्ट्रिय आर्थिक मन्दीको असर प्रत्यक्ष देखेका र स्वयम् कुपोषणका सिकार भएका फ्रेरेलाई गरिबहरुमाथि हुने सामाजिक उत्पीडनले भविष्यमा त्यसकै विरुद्ध लड्ने प्रेरण दियो ।
विद्यालय तहको शिक्षा पुरा गरी फ्रेरे भाषा विषय पढ्न रेसिफ विश्व विद्यालयमा भर्ना भए । त्यहाँ उनको भेट भाषा विषयकी प्राध्यापक एल्जासँग भयो । पछि तिनै एल्जासँग फ्रेरेले विवाह गरे । फ्रेरेकी आमा व्रिmस्चियन धर्मावलम्बी थिइन् । आमाको प्रभावकै कारण फ्रेरेले चर्चमा काम गर्नु पर्यो । चर्चमा प्रौढहरुसँग उनको समय बित्थ्यो । उनीहरुको पिरमर्का, चाहना फ्रेरेले बुझ्न पाए । सन् १९५० सम्म ब्राजिलमा निरक्षरहरुलाई मतदान गर्न वञ्चित थियो । यस कुराबाट चिन्तित फ्रेरे प्रौढहरुलाई साक्षर बनाउने अभियानको खोजीमा लागे ।
प्रौढहरुलाई साक्षर बनाउन फ्रेरेले सन्देशमूलक चित्र, चित्रकथा, घटनालाई आधार बनाई मुख्य शब्द निर्माण गरे । यसरी गरिने प्रौढ शिक्षा कार्यव्रmमलाई सामुदायिक सशक्तीकरण साक्षरता पद्धति भनियो । यस विधिबाट प्रौढहरु साक्षर बने । साक्षरताको विकास र राष्ट्रिय तथ्याङ्क वृद्धि भयो तर सचेतनाको विकास हुन नसकेको फ्रेरेले अनुभव गरे । प्रौढहरु साक्षर भए तर परम्परागत भाग्यवाद हट्न सकेन । फ्रेरे चाहन्थे आलोचनात्मक चेतना विकास गर्न सकियोस् । साक्षरताको कार्यमूलक र आलोचनात्मक सचेतनाका लागि फ्रेरेले छलफल, सहयोग र सव्रिmय सहभागितालाई जोड दिए । यसै विषयमा उनले विद्यावारिधी गरे ।
dunia-mere-620x400
फ्रेरेको आलोचनात्मक सचेतनाको सिद्धान्त प्रौढ शिक्षा कार्यव्रmम अभियान भयो । उनले उत्पीडित समुदायलाई सशक्तीकरण गर्नुपर्नेमा जोड दिए । यो कुराले किसानहरुमा सकारात्मक प्रभाव पर्यो । उनीहरुले यसलाई आफ्नो कार्यव्रmम ठाने । उत्पीडिनबाट मुक्ति पाउने कुरामा सचेत बन्दै गए र स्वतन्त्रताको चाहना बढ्यो । फ्रेरेले समुदायको मुक्ति र प्रजातन्त्रका लागि शिक्षा मात्र सबल साधन हुने कुरामा जोड दिए । सन् १९६३ मा फ्रेरे ब्राजिलको राष्ट्रिय साक्षरता कार्यव्रmमको संयोजक बने । बिस हजार सांस्कृतिक केन्द्रहरुबाट बिस लाख निरक्षरलाई साक्षर बनाउने अभियानमा लागेका फ्रेरेको ख्याति चुलिएको देखेर तत्कालीन ब्राजिल सरकारले सत्ता हत्याउन खोजेको आरोपमा पव्रmाउ गरी जेल हाल्यो । पचहत्तर दिनको कारावासपछि निर्वासित जीवन बिताउन विवश फ्रेरे बोलिभिया हुँदै शरणका लागि चिली पुगे । त्यहाँ उनले साक्षरता कार्यव्रmमको सल्लाहकार भई काम गरे ।
साक्षर बनाउन समुदाय नै जाग्नु पर्ने र सचेत बन्नु पर्ने फ्रेरेको धारणा थियो । सन् १९५० मा आफूले सुत्रपात गरेको सामुदायिक सशक्तीकरण साक्षरता पद्धतिलाई उनले सामुदयिक सशक्तीकरण फ्रेरेरियन साक्षरता पद्धतिको पुनर्उत्पादन भन्ने नाममा परिमार्जन गरे । जुन ‘रिफ्लेक्ट’ नामबाट संसारभर चिनियो । सामुदायिक सशक्तीकरणबाट साक्षरता विकास गर्ने कार्यमा निरन्तर २० वर्षको अथक प्रयासबाट शिक्षाक्षेत्रको वैकल्पिक चिन्तनका रुपमा उनले सन् १९७२ मा विश्व विख्यात पुस्तक ‘पेडागोजी अफ द अप्रेस्ड’ प्रकाशित गरे । शोषित पीडित अथवा दलनमा परेका वर्गलाई साक्षर बनाउने शिक्षण प्रव्रिmया नै पेडागोजी अफ द अप्रेस्ड हो ।
utpeediton-ka-shikshashastra-paulo-friere-freehindipdfbooks
उत्पीडितहरुको साक्षरतका बारेमा फ्रेरे उक्त पुस्तकमा भन्छन्, “वर्णमालामा आधारित परम्परागत साक्षरता विधिमा मानिसहरु अभ्यस्त भएका छन् । यसमा मानिसहरु विश्वस्त छन् । शिक्षकले छनोट गरेका विषय, ज्ञान, सिप र शब्द मात्र सिकारुलाई घोकाइन्छ । यो बैङ्किङ पद्धति हो (सञ्चित गरिएका कुरा मात्र प्रयोग गर्ने, सिर्जनात्मक र आलोचनात्मक नहुने) । यसले सिकारुलाई निष्व्रिmय बनाउँछ । सिकारुको पूर्वज्ञान र सक्षमतालाई नकार्छ । यो सिकारुमा चेतना जगाउने नभई दबाउन उद्यत् रहन्छ ।” फ्रेरेको विचारमा साक्षरतामा सिकारुको सव्रिmयता र सहभागीहरुको अनुभव बाँड्ने व्रिmयाकलाप हुनुपर्छ । सञ्चारका लागि स्थानीय वा मातृभाषा सकेसम्म प्रयोग गर्नुपर्छ ।
उक्त पुस्तकले साक्षरता ‘मौनताको संस्कृति’ (कल्चर अफ साइलेन्स) तोड्न सक्ने हुनुपर्छ भनेको छ । आफूमाथि भएका अन्याय, अत्याचार, शोषण, दमन, असमानता आदि प्रति विरोध नगर्नु वा गर्न नसक्नु वा नगरी बाँच्न अभ्यस्त हुनु मौनताको संस्कृति (कल्चर अफ साइलेन्स) हो । मौनताको संस्कृति दुई प्रकृतिको हुन्छ, एक ः सचेतनाका अभावमा उच्च जात, शासक र प्रभूत्वशाली वर्गले निर्माण गरेको परम्परागत रुढिवादी मान्यताको हेजिमोनीका कारण समाजका तल्लो वर्ग मौन रहन्छन् । दुई ः सचेत भएर पनि आफ्नो स्वार्थ पूर्तिका लागि सामाजिक विकासका अवरोधमाथि प्रश्न नगर्ने बुद्धिजीवी । मौनताको संस्कृतिको पहिलो रुप अज्ञानता हो । यसलाई साक्षरतासँग आलोचनात्मक सचेतना निर्माण गरी हटाउन सकिन्छ । तर दोस्रो मौनता समाजको लागि खतरनाक हुन्छ । भनाइ नै छ, “अन्याय र सामाजिक समस्याका सन्दर्भमा एक दुष्टको दुस्ट्याइँभन्दा एक विद्वान् र सचेत व्यक्तिको मौनता समाजका लागि खतरनाक हुन्छ ।”
फ्रेरे भन्छन्, “मानिसहरुलाई समाजमा जसरी भए पनि बाँच्ने वा निर्वाह गर्ने बाध्यता छ । जीवन बाँच्ने व्रmममा राज्य वा समाजले निर्माण गरेका अप्ठ्यारा तत्त्वहरुबारे बोल्ने वा विरोध गर्ने संस्कार छैन । यसको कारण निरक्षरता नै हो । मौनताको संस्कृति अथवा आफूमाथि भएका अन्याय, अत्याचार, असमानता, राजनीतिक र आर्थिक शोषण सहनुको सट्टा त्यसमाथि प्रश्न उठाउन सक्ने बनाउनुलाई उनले सचेतीकरण भनेका छन् । वास्तवमा मानिसलाई दैनिक जीवनका व्रिmयाकलापका साँघुरा घेरा तोडेर बाहिर ल्याउनु नै साक्षरताको मुख्य कार्य हो ।
सचेतीकरणले मानिसमा आफूमाथि भएका दमन बोध हुन्छ । वास्तवमा हाम्रो देशमा वि. सं. २०२८ सालतिर ‘थाहा’ अभियानका अभियन्ता रुपचन्द्र विष्टले त्यही सचेतीकरणका लागि अभियान चलाएका थिए । सचेतीकरणले नै मानिसमा परिवर्तनको भोक जगाइदिन्छ । यसका लागि सिकारुलाई जगाउन सामाजिक व्यवहारका चित्र प्रस्तुत गर्ने, तुलना गर्ने र यसबाट विश्लेषण गर्ने सिप विकास गराइन्छ । फ्रेरेको विचारमा यो वर्ड (शब्द) बाट वल्र्ड (संसार) चियाउने तरिका हो । पेडागोजी अफ द अप्रेस्ड निरक्षरहरुलाई साक्षरता कार्यव्रmममा वर्डबाट वल्र्ड चिनाउने पुस्तक हो ।
साक्षरता यान्त्रिक पढाइ र लेखाइ मात्र होइन । यो त सिकारुको चेतना विकास गराउने एक प्रव्रिmया हो । साक्षरताले सिकारुलाई आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक अवस्था बोध गराउँछ । आफू पछाडि पारिनुको कारण पत्ता लगाउन सहयोग गर्छ । त्यसपछि स्वतन्त्रता र आफ्ना हक अधिकारका लागि सङ्घर्ष गर्न आत्मबल दिन्छ ।
जुन समाजमा उच्च जात, धनाढ्य र प्रभूत्व वर्गका अल्प सङ्ख्यकले तल्लो भनिएका जात, गरिब र शाषित बहुसङ्ख्यक जनतामाथि शासन गर्दछ, त्यो अन्यायपूर्ण र उत्पीडनकारी समाज हो । त्यस्तो समाज व्यवस्थाले मानिसलाई ‘वस्तु’मा बदल्छ । ती मानिस ‘अमानुषिक’ बनिन्छन् । जब कि मानिसको अस्तित्वमूलक र ऐतिहासिक कर्तव्य चाहिँ न्याय, स्वतन्त्रता, समानता भएको समाजमा कर्ताका रुपमा पूर्ण मानिस बन्नु हो । पूर्ण मनुष्य बन्न उत्पीडक र उत्पीडित वर्गबिच सम्बन्धमा परिवर्तन आवश्यक छ ।
हामी राष्ट्रिय साक्षरता कार्यव्रmमअन्तर्गत प्रौढ शिक्षा कार्यव्रmम चलाइ रहेका छौँ । हाम्रो साक्षरता २०६८ को जनगणना अनुसार ६५.९ प्रतिशत पुगेको तथ्याङ्क छ । तर मौनताको संस्कृति तोड्न र तोड्न प्रयास गर्नेलाई समाजले स्विकार्न सकेको छैन । केही वर्षदेखि साक्षर जिल्ला घोषण गर्ने प्रतिस्पर्धा नै चलेको छ । जिल्लै साक्षर घोषणा भइसकेकाले स्थानीय तहले यसबारे किन सोच्ने ? जस्ता प्रश्न पनि हुन्छन् । तर, के व्यवहारमा हामी साक्षर भइसकेका छौँ त ? साक्षरताको परिभाषा व्यक्तिले सही गर्न जान्नु मात्र हो त ? समयको परिवर्तनसँगै साक्षरताको परिभाषा र सूचक बढिरहेका छन् । व्यक्तिमा आलोचनात्मक सचेतना विकास गरी गलत कुराहरुमाथि प्रश्न गर्ने बानी विकास गर्नु निरन्तर जरुरी छ । पैँतालिस वर्षअघि प्रकाशित भएको उक्त पुस्तक आज पनि विकासोन्मुख देशहरुमा त्यति नै प्रभावकारी छ । जसरी राजनीति वर्गीय हुन्छ, त्यसरी नै शिक्षा पनि वर्गीय नै हुन्छ भन्ने कुरा बुझ्न र त्यसबाट समाजलाई मुक्त गरी समतामूलक समाज निर्माणका गर्न पेडागोजी अफ द अप्रेस्डको अध्ययन आवश्यक छ ।

अठ्ठा जोकर बनाउने रुदाने

अठ्ठा जोकर बनाउने रुदाने

दामोदर ढुङ्गेल

damodar sir (1)
दामोदर ढुङ्गेल
केही समय यता मूलधारमा रहेका लेखकको लेखनीमा भन्दा इतिहासको गर्तमा बिलाइएका अग्र्यानिक बौद्धिकहरुका बारेमा बुझ्ने लालसा मभित्र बढ्दो छ । यसका कारण अनेक हुन सक्छन् तापनि नेपालको अलिखित इतिहास उत्खनन गर्ने रुचि एउटा कारण हुन सक्छ । जो स्वान्त सुखाय नै किन नहोस् ।
पृथ्वीनारायण शाहदेखि वीरेन्द्रको पुस्तासम्मको वंशावली र तिनका आसेपासेका स्तुतिलाई इतिहास भनेर पढाइयो, पढियो । नाम र मिति घोक्नु अनि तिनले बनाएका दरबारलाई विकास कार्य भनी ऐतिहासिक गौरव ठान्दै बित्यो विद्यालय शिक्षा । कलेज लेभलमा पुगेपछि पनि यो प्रवृत्ति फरक भएको पाइएन । त्यहाँ त गाँठे युवा मस्तिष्कलाई यथास्थितिमै कैद गर्ने खालेका सामग्री मात्र पो थिए । यता देशभित्रको भेदभाव, गरिबी, शोषण, कुपोषण, एकात्मक शासन व्यवस्थाले डामेर किनारमा पुर्याइएकाको अश्रुमिश्रित व्रmन्दन थियो । तर, साहित्यमा हामी पढ्थ्यौँ माध्यमिक कालीन (वि सं. १९४१ देखि १९७४ सम्म लेखिएका कृति) साहित्य मोतीराम भट्टको शृङ्गारिक गजल “मलाई क्या क्या छकाये ।”
thaha 2पछिल्लो समय नेपालको लिखित इतिहासमाथि प्रश्न उठाउने जमात बढ्दो छ । विगतमा पनि यस्तो प्रयास नभएको होइन तर ती तत्कालीन शासन व्यवस्थाका कारण विस्तार हुन सकेनछ । इतिहास पुनर्लेखनको आवाजको भोल्युम बढ्दो छ । बहस घनीभूत चल्दो छ । सीमान्त समुदाय आफ्नो हक र पहिचान खोज्न उद्यत् छ । अब पहिचानवादी आन्दोलनलाई सम्बोधन नगरी देश अघि बढ्न सक्दैन । पचासको दशकमा बनेको आधारमा साठीको दशकमा भएका आन्दोलनले यी सबै कुरा स्थापित गरेका हुन् ।
‘थाहा’ लेख्दै हिँड्ने मान्छेको नाम रुपचन्द्र विष्ट अरे । सायद ४७ सालतिर होला तिनको बारेमा सुनेको । त्यतिबेला हाम्रा छिमेकी रुपचन उराउ पञ्चायती शासन कालमा टोकला चिया बगानको मजदुरी कम्युनिस्ट भएको आरोपमा खोसुवामा परी पुनर्बहाली भएका थिए । उनी नेकपा (माले) निकट स्वतन्त्र चिया मजदुरका युनियनका नेता थिए । राजनीतिक कामले काठमाडौँ गइरहन्थे । प्रत्येक पटक उनी केही किताब ल्याउँथे । उनी राम्ररी पढ्न जान्दैनथे । मेरा बुबाको नेपाली पठन र लेखन राम्रो थियो । अहिले पनि उहाँको सस्वर वाचन अनुकरणीय लाग्छ । रुपचन काका (उहाँलाई हामी काका भन्थ्यौँ ।) प्रत्येक साँझ हाम्रो घरमा किताब लिएर आउँथे । लालटिनको मधुरो उज्यालोमा बुबा सस्वर वाचन गर्नुहुन्थ्यो । हामी ध्यान दिएर सुन्थ्यौँ । लुटिएका दुई थुँगा फूल, मुक्त आकाशको खोजी, देउमाईको किनारमा मलाई सम्झना भएका किताब हुन् । किताब वाचनपछि राजनीतिक कुरा र पुस्तककै बारेमा पनि कुरा चल्थ्यो । यस्तै सिलसिलामा बुबाहरुबाटै सुनेको हो रुपचन्द्र विष्टको नाम ।
thaha 1‘थाहा’ लेख्दै हिँड्छ अरे । मान्छे कम्युनिस्ट हो । जान्नका लागि ‘थाहा पाउनु पर्छ’ बुबा भन्नुहुन्थ्यो । इतिहासको गर्तमा बिलाइएका र दबाइएका एक अग्र्यानिक बौद्धिक हुन रुपचन्द्र विष्ट । थाहा दर्शनका अभियन्ता । वि सं. १९९० पुस २६ मा मकवानपुरमा जन्मेका रुपचन्द्र रुदाने, जसरु, रापसरु र स्वरुपे आदि नामले पनि चिनिन्छन् । उनले विद्यार्थी जीवनमा कम्युनिस्ट भई राजनीति गरेका थिए । २०२२ र २९ सालमा पालुङ गाउँ पञ्चायतको प्रधानपञ्च भएर जनताको काम गरे । २०३८ र ४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए । रोचक कुरा त के रहेछ भने रुदानले पञ्चायती व्यवस्था विरोधी एजेन्डा बोकेर चुनाव जितेका रहेछन् । चुनावमा उठ्दा आफ्नो फोटो छापेर होइन पर्चा लेखेर, सित्तैँमा बाँडेर पनि होइन लिखित पर्चा जनतालाई बेचेर चुनाव जितेको इतिहास पाइन्छ ।
राष्ट्रिय पञ्चायतको चुनावमा उठ्दा उनले लेखेको कवितामय पर्चाको अंश यस्तो पाइन्छ ।
“पैसाबाट सत्यता, पदबाट इन्साफ, जातबाट जनहित
शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, गुन्डाबाट राजनीति
शासकबाट प्रजातन्त्र पाइन्छ भन्नेले लगाएछन् चितुवालाई बाख्राको गोठालो”
पञ्चायती व्यवस्थालाई चितुवाको संज्ञा दिने रुदानेले शासन व्यवस्थाले देश र जनतालाई खाएको तथा खराब सोच भएका शासकहरुबाट राम्रो काम हुन्छ भन्ने सोच्नु नै गलत भएको सन्देश दिएका छन् ।
“अर्काे चुनावी पर्चाको कवितांश यस्तो रहेको छ ः
श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन
छाप्राको राजनीति महलले गरेर हुँदैन
महिलाको राजनीति पुरुषले गरेर हुँदैन
आफ्नो लागि आफैँ जागेर अघि बढ्नु पर्छ
दुःख गर्नेले दुःखको रङ चिनेको हुन्छ
श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ ।”
वास्तवमा रुदानेले आफ्नो हक अधिकारका लागि व्यक्ति स्वयम्लाई जाग्न अभिप्रेरित गरेका छन् । पर्चामा आफ्ना चुनावी विचार लेख्ने रुदानेले पर्चा बेचेरै चुनावी खर्च जुटाउँथे । जनतालाई उनले रुपचन्द्र विष्टलाई हेरेर होइन विचार हेरेर भोट दिन भन्थे । पञ्चायतको सदस्य भएर पञ्चायतकै विरोध गर्ने रुदाने निडर र निर्भीक व्यक्ति थिए ।
thaha 3जनता जगाउने रुदाने बिएल र प्राकृतिक चिकित्सा विज्ञानमा स्नातक थिए । सम्भ्रान्त परिवारमा जन्मेका रुदानले आफ्नो जीवन भने निम्न वर्गीय जनता सरह बाँचेका थिए । श्रमलाई अप्रतिम वस्तु मान्ने रुदाने भन्थे, “श्रम गरेर मान्छे सानो हुँदैन । डिग्रीको सर्टिफिकेट त केही पनि होइन बरु त्यो त कागजको खोस्टो हो, यदि त्यसले मान्छेलाई श्रमबाट अलग गर्छ भने ।”
पालुङको जनकल्याण माविको भवन निर्माणमा उनी सर्वसाधारणसँगै खटेका थिए । त्यति मात्र होइन उनले सम्भ्रान्त परिवारमा जन्मेकी आफ्नी श्रीमती उमा शाहलाई पनि आफूसँग ढुङ्गा बोकाएका थिए । रुदानेका बारेमा यो कुरा सुन्दा हातमा पन्जा लगाएर हप्तामा एक पटक वाग्मती किनारमा फोहोर टिपेको फोटो फेसबुकमा पोस्ट्याउने वर्तमान प्रवृत्ति दिक्क लागेर आउँछ ।
जनकल्याण मावि स्थापनापछि उनले सबै बाबुआमालाई छोराछोरी विद्यालय पठाउन अनिवार्य गरेका थिए । छोरा नपढाउनेले श्रमदान गर्नुपर्ने र छोरी नपढाउनेले दोब्बर सजाय भोग्नुपर्ने नियम बनाएका थिए । दामन र पालुङ गाउँ पञ्चायतलाई मिलाएर रुदानेले गाउँ विकास समिति बनाएका थिए । जो विकास घरका नामले चिनिन्थ्यो । त्यहाँका जनताले एक धार्नी आलु बेच्दा पाँच पैसा कर तिर्नुपर्ने नियम बनाएका थिए । जनताले तिरेको कर खर्च भएको विवरणसहित विकास घरको सूचना पाटीमा टाँसिएको हुन्थ्यो । रुदानेले पारदर्शिता, जवाफदेही र सुशासनको अब्बल अभ्यास त्यतिबेलै गरेका थिए ।
जनतामा चेतनाको आलोक छर्ने रुपचन्द्र विष्ट शिक्षासेवी, विकासप्रेमी, नारीवादी तथा जनवादी व्यक्ति थिए । वि. सं २०२८ मा स्नातक कोटामा राष्ट्रिय पञ्चायतका सदस्य भएका रुपचन्द्रले ‘थाहा’ अभियान चलाए । रुपचन्द्र र उनका सहयोगीले खाली कागज, चुरोटका बट्टा, रुख, पर्खाल, भित्ता, चट्टान आदिमा थाहा लेखे । रुखो बोली भएका रुदाने मानिसहरुलाई थाहा पा भाते जान् ! बुझ् ! भन्थे । थाहा अभियान थाहा पाउनु, जानकारी राख्नुसँग सम्बन्धित थियो । दर्शनका नाममा वर्षौँसम्म वाद विवाद चलाइने, कार्यपत्र, टिप्पणी चलाउनुपर्ने सैद्धान्तिक क्लिष्टता र अस्पष्टता थिएन । ‘थाहा’ अभियान चेतनाहीन प्रजालाई चेतना सम्पन्न नागरिकमा रुपान्तरण गर्ने एउटा राजनीतिक र सामाजिक जागरणको अभियान मात्र थियो । जनमुखी विचारका सम्प्रेषक रुपचन्द्रले थाहा अभियानमार्फत सूचनाको हकलाई व्यावहारिक रुपमा जनतासम्म पुर्याएका थिए ।
रुपचन्द्रको चर्चा सुनेपछि तत्कालीन राजा महेन्द्रले भेट्न बोलाएछन् । दरबार पुगेका रुदानेलाई गेट पालेले कारण सोधेछन् । गेटपालेले, “महाराज १५ मिनेट बिजी होइबक्सिन्छ, त्यसपछि तपाईँको पालो” भनेछ । रुदाने १५ मिनेट गेटमै कुरेर बसेछन् । १५ मिनेटपछि गेटपालेले भित्र जान आग्रह गर्दा उनले भनेछन्, “१५ मिनेट अघिसम्म राजा व्यस्त थिए म फुर्सदिलो तर अब राजा फुर्सदिला भए, म व्यस्त छु भनिदिनू” भन्दै फर्केछन् ।
राजालाई भेट्न आएको रुदाने त्यसरी फक्र्याे भन्ने सुनेपछि राजाले अर्काे दिन बोलाएछन् । दरबारमा राजा महेन्द्रले भनेछन्, “तिम्रो धेरै चर्चा सुनेँ, तिमी के चाहन्छौ ? म के गर्न सक्छु तिम्रा लागि ?” रुदानेले जवाफ दिएछन्, “तपाईँ केही गर्न सक्नुहुन्न मेरो लागि । म त देशमा अठ्ठा जोकर बनाउन चाहन्छु ।”
तासमा अठ्ठा जोकर बनाउन सत्ता पल्टिनु पर्छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

कस्ले राम्रो भन्छ ? (मुक्तक)

 सञ्जालमा फोहोर गरेपछि कस्ले राम्रो भन्छ ? कर्मयोगीलाई मुख छोडेपछि कस्ले राम्रो भन्छ ?  दुनियाँको उन्नति र प्रगतिमा आफैँ जलेपछि आफ्नै कुण्ठा...