शिक्षकको आत्म स्वीकृति
दामोदर ढुङ्गेल
सामुदायिक विद्यालयको हालत वर्षमा एक पटक सतहमा आउँछ, एस्.एल्.सी. परीक्षाको नतिजा प्रकाशन हुँदा । नतिजा डिभिजन नआएर होइन विद्यार्थीले उत्तीर्णाङ्क प्राप्त नगरेकाले मात्र हो । विद्यार्थी उत्तीर्ण मात्र हुने हो भने पनि सामुदायिक विद्यालयको लगानीलाई बालुवामा पानी भनिने थिएन । नतिजा प्रकाशन भएपछि शिक्षकहरुप्रति सबैले आक्रोश पोख्छन् तर आक्रोश, कार्बाहीको चेतावनी केहीले पनि छुँदैन शिक्षकहरुलाई । नतिजका बारेमा सञ्चार माध्यममा विभिन्न बहस हुन्छन् । कोही विषय ऐच्छिक हुनुपर्ने तर्क राख्छन् । कोही लेटर ग्रेडिङ गरौँ भन्छन् । यी सबै नतिजा ढाकछोप गर्ने तर्कना मात्र हुन् । आक्रोश र चर्चाको आयु एक हप्ता मात्र हो । त्यसपछि सबै चुपचाप, यस्तो लाग्छ विद्यालय सब ठिकठाक चलिरहेको छ । अनि अर्काे वर्ष फेरि नियति उही दोहोरिन्छ । यो लेखमा मैले आफू सामुदायिक विद्यालयमा शिक्षक भएर प्रवेश गरेपछि देखेको र भोगेको वास्तविकता प्रस्तुत छ ।
उत्तीर्ण गराउने ध्याउन्न
शिक्षकलाई लगाइने आक्षेपको कारण एस्.एल्.सी.मा हुने अनुत्तीर्णहरुको सङ्ख्या नै हो । त्यही सङ्ख्या उत्तीर्ण हुने बनाउन सके शिक्षकमाथि आक्षेप होइन, सम्मानको वर्षा नै हुन्थ्यो । किनकि शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई सरकारले सम्मान स्वरुप शैक्षिक उन्नयन गर्न भनेर एक लाख रुपैयाँ दिन्छ तथा विभिन्न सामाजिक संस्थाले पनि सम्मान गरेको पाइएको छ । एस्.एल्.सी. परीक्षाको विषयगत उत्तीर्णाङ्क प्रतिशत ३२ मात्र हो । यो पनि सर्टिफिकेटमा मात्र हो । व्यवहारमा अर्थात् कपी परीक्षण गर्दा २८ अङ्क प्राप्त गर्नेहरु पनि परीक्षकको करुणाले कृपाङ्क प्राप्त गरी ३२ ल्याएर उत्तीर्ण हुन्छन् । विषयगत रुपमा २८ अङ्क पनि ल्याउन नसकी अनुत्तीर्ण हुनेहरुको सङ्ख्या निजी विद्यालयको परिणाम छुट्याएर हेर्दा ८० प्रतिशतभन्दा बढी देखिन्छ ।
सामुदायिक विद्यालयबाट वास्तवमा विद्यार्थी, अभिभावक, समाज सबैले उत्तीर्ण प्रतिशत बढाउने बाहेक अरु कुनै अपेक्षा नै देखिंदैन । यस्तो लाग्छ, सामुदायिक विद्यालयको गुणस्तर खस्केको होइन, उत्तीर्ण प्रतिशत खस्केको हो । त्यही उत्तीर्ण प्रतिशत आफ्ना विद्यार्थीलाई प्राप्त गराउन नसक्नु शिक्षकप्रतिको आक्रोश हो । विद्यार्थीहरुमा विषयगत ज्ञान, सिप, अभिवृद्धि र दक्षता खोजेर आक्रोश पोखेको देखिएको छैन । आफ्नो विषयमा उत्तीर्ण गराउन सक्ने शिक्षक मात्र खोज्यो समाजले ।
हेपाहा प्रवृत्ति
सामुदायिक विद्यालयमा स्थायी, अस्थायी, सट्टा, राहत, करार, पी.सी.एफ्., निजी स्रोत, सहयोगी कार्यकर्ता आदि नामधारी शिक्षकहरु छन् । एउटै तहमा काम गर्ने शिक्षकहरु बिच सेवा र सुविधामा ठूलो भिन्नता छ । एउटै तहमा काम गर्ने शिक्षकहरुबिच वरिष्ठ र कनिष्ठको भेद अनि हेप्ने र हेपिने प्रवृत्तिको असर विद्यार्थीको पढाइमा पर्छ । शिक्षण श्रम बेचेर पुँजी आर्जन गर्ने पेसा हो । सबै थरीका शिक्षकहरुले आफूले पाउनु पर्ने कुरामा अलिकति ढिलो मात्र हुने भए आन्दोलन गर्न सङ्घर्ष समिति निर्माण गरेका छन् र सङ्घर्ष गरिरहेका पनि छन् । ती सङ्घर्ष कर्तव्य बिर्सेर गरिने अधिकारको खोजी मात्र हुन् किनभने शिक्षकका सबै आन्दोलनले विद्यालय बन्द गराएकै छन् । विद्यार्थीको पढाइमा अवरोध गरेकै छन् ।
भ्रष्ट आचरण
शिक्षकहरुले भन्ने गरेको एउटा वाक्य छ,‘‘शिक्षकले भ्रष्टाचार गर्दैन ।” तर उनीहरुले सदा गरेको र बुझ पचाएको यथार्थ भने ‘‘समयको पालना नगर्नु सबभन्दा ठूलो भ्रष्टाचार हो ।” किनभने बितेको समयको क्षतिपूर्ति हुन सक्दैन । शिक्षा नियमावलीमा विद्यालय समय १० बजेदेखि ४ बजे हुने उल्लेख छ । १० बजे प्रार्थना सभा गरेर १०:१५ मा कक्षा शिक्षणका लागि कक्षाकोठामा प्रवेश गरिसक्ने हो तर धेरै विद्यालयहरुमा १०:१५ मा प्रार्थना सभा गरेर १०:२५ तिर कक्षामा शिक्षक जान्छन् । हाजिरी रजिस्टर बोकेर कक्षातिर लागेका शिक्षकरु आपसमा गफ गर्दै कक्षामा पुग्दा अरु १५ मिनेट बिताउँछन् । विद्यार्थीको हाजिरी गरेर मात्रै पहिलो पिरियड बिताउँछन् । त्यसपछिको दोस्रो पिरियडको क्लासमा जानुको सट्टा अफिसमा आउने र एकछिन गफ चुटेर अर्काे कक्षाको १० मिनेट समय व्यतित गरेर मात्र कक्षामा जाने त शिक्षकहरुको अघोषित नियमै जस्तो लाग्छ । पहिलो पिरियड कक्षा नहुने शिक्षकहरु त जुन पिरियडमा क्लास छ त्यही समयमा मात्र विद्यालय आउँछन् । बिचमा कुनै पिरियड खाली हुँदा नजिक घर भएकाहरु घरको काम गर्न गएको पनि देखिन्छ । बिहान आएर हाजिर गरेर टाप कस्ने शिक्षकहरु पनि छन् । केही शिक्षकहरु सधैँ जिल्ला शिक्षा कार्यालयमै भेटिन्छन् । ती आफूलाई शिक्षकको नेता भन्दा रहेछन् ।
कमजोर प्रधानाध्यापक
झापाको एउटा सहरिया परिवेशको विद्यालयमा शिक्षकहरु समयमा नआउँदा हैरान भएर सहायक प्रधानाध्यापकले एक दिन १०:१५ बजे विद्यालयको गेट बन्द गरिदिए । १० जना शिक्षक बाहिरै भए । ती शिक्षकहरुले भित्र छिर्न निकै जोरजुलुम गरे तर गेट खोलिएन । तिनीहरु सबै जीवनमा पहिलो पटक हारेको ठानी लज्जित भएर घर फर्के । स्कुलमा अब केही परिवर्तन आउला जस्तो भयो । सबै जना एउटा कक्षा सकेपछि उतै (अफिस नआई) अर्काे कक्षामा पस्न थाले । त्यो दिन स्कुल नै बेग्लै भयो । भोलिपल्ट त सबै समयमा नै विद्यालय आउलान् भनेर १० बजे नै विद्यालय पुगेको त प्रधानाध्यापक पो गेटमा उभिएका रहेछन् गेट लगाउन नदिन । ११ बजेसम्म आउने शिक्षकहरुलाई प्रधानाध्यापकले गेटभित्र छिराएको देखेपछि पो थाहा भयो अघिल्लो दिन घर फर्केका शिक्षकहरुले मोर्चाबन्दी गरेर प्रधानाध्यापकको पद खुस्काइ दिने चेतावनी दिएछन् ।
सामुदायिक विद्यालयको आर्थिक, प्रशासनिक, शैक्षिक व्यवस्थापनको नेतृत्वकर्ता प्रधानाध्यापक हो । शिक्षकहरु प्रधानाध्यापकप्रति नै जिम्मेवार हुन्छन् । प्रधानाध्यापक शिक्षकको सुपरिवेक्षक पनि हो तर प्रधानाध्यपक यति कमजोर भए कि तिनीहरुमा शिक्षकलाई कक्षामा जानुहोस् भन्न सक्ने पनि आँट छैन । समय पालना नगर्ने भ्रष्ट शिक्षक अनुरोध सुन्दैनन् भने प्रधानाध्यापक आदेश गर्ने हिम्मत गर्दैनन् । सामुदायिक विद्यालयका कुनै पनि प्रधानाध्यापकसँग एक शैक्षिक वर्षभरि पढाइ भएको दिन र नभएको दिन, कुन कक्षामा कुन दिन कुन विषय पढाइ भएन, कुन शिक्षक कुन दिन कुन पिरियडमा आफ्नो कक्षा शिक्षण गर्न गएन यस्ता कुनै पनि रेकर्ड छैन ।
समयसम्म पढाइ नभएपछि विद्यार्थीले के सिक्ने ? परीक्षामा के लेख्ने ? शिक्षकलाई काम लगाउन नसक्नु प्रधानाध्यापकको कमजोरी हो । पद लिएपछि कार्यभार सम्पन्न गर्ने साहस चाहिन्छ । आँट गर्ने प्रधानाध्यापकले नै हो । आँट गर्नु परिवर्तनको आधार हो तर आँटै नगर्नु चाहिँ परिवर्तनको बाधक बन्नु हो ।
(रेकर्ड नेपालमा प्रकाशित)
No comments:
Post a Comment