दामोदर ढुङ्गेल
दशकौँदेखि भन्दै आयौँ– पुरानो भत्काएर नयाँ निर्माण गर्नु नै विनिर्माण हो। तर भत्काउने काम मात्र गर्यौँ, नयाँ निर्माण गर्न सकेनौँ। हाम्रो यो दरिद्रता भाषादेखि भौतिक संरचनासम्म देखियो। त्यसैले हामी भँडुवा मात्र भयौँ, भञ्जक भयौँ तर सर्जक भएनौँ। त्यसैले वर्तमान पुस्ताले कुनै पनि उल्लेखनीय कार्य गर्न सकेन। भावी पुस्तालाई भनेर देखाउन लायक केही छैन नयाँ कुरा। अर्काले लेखेको इतिहासका पानामा शब्दको हिसाबकिताब गरेर वर्तमान बिताइरहेको हाम्रो पुस्ता विगतको आलोचना मात्र गरेर वर्तमानमा समालोचनात्मक बन्न सकेको छैन।
सन्दर्भ भानुजयन्तीको हो। वर्तमान पुस्ता साहित्यको परिभाषा रटान लगाइरहेको छ। भनिन्छ, साहित्य समाजको दर्पण हो। तर भानुभक्तका कृति उनकै समाजको दर्पण हो भन्ने कुरा बुझ पचाउँछ र भन्छ– भानुभक्त एउटा प्रोजेक्ट हुन्। भानुभक्तलाई प्रोजेक्टको रूपमा कसैले प्रयोग गर्यो त त्यसमा उनको के दोष? दुई शताब्दी अघिका भानुभक्तको के कुरा अहिले पनि सयौँ कृति प्रोजेक्टकै रूपमा आएका छन्। समाजका असमानता, दुर्भिक्ष, अन्याय, अत्याचार, भाषा, धर्म, जात, लिङ्ग, वर्णका आधारमा भेदभाव चलिरहेका बेला पनि प्रेम कथा लेखेर साहित्यिक योगदान गर्नेको कमी त छैन देशमा। व्यापारीहरू प्रेत लेखक/अतिथि लेखकलाई आफूले रक्सी खाएको कुरा लेखाएर व्यापार गरिरहेछन्। जर्नेलहरू तिलस्मी कथा बेचिरहेछन्। आत्मकथा लेख्नु शुभलाभ कम्पनी भएको छ। निमुखा जनताभन्दा धेरै पर, हात र नङ्ग्रा खियाउने वर्गभन्दा पर फन्ट्यासी जस्तो लाग्ने कृति पढेर आनन्द मानिरहेको छ वर्तमान पुस्ता। जब असार २९ गते आउँछ अनि भानुभक्तलाई भाषिक दमन गरेको र नारी स्वतन्त्रता हनन् गरेको भनेर कटाक्ष गर्छ वर्तमान पुस्ता।
वर्तमान यस्तो दयनीय छ। भ्रमपूर्ण छ। भानुभक्तले नेपालीमा रामायण अनुवाद गरेर अन्य भाषामाथि आक्रमण गरे भनेर हुर्किँदै गरेको पुस्तालाई उनीप्रति नकारात्मक बनाइँदै छ। संस्कृतको अध्यात्म रामायणलाई भानुभक्तले नेपालीमा भावानुवाद गरेका थिए। प्राप्त प्रमाणका आधारमा नेपाली भाषा हालको नेपालको भूगोलमा १ हजार वर्षभन्दा अघिदेखि प्रचलनमा रहेको पाइएको छ। भाषाविद् बालकृष्ण पोखरेलले नेपालको किराँतकालीन समयमा नेपाली भाषा नै सम्पर्क भाषा रहेको सिम्रौनगढका राज पण्डित ज्यातिरीश्वरको कृति वर्णरत्नाकरमा प्रयोग भएको भाषाबाट प्रमाणित हुने तर्क राखेका छन्। त्यस्तै अर्का भाषाविद् भानुभक्त पोखरेलले नेपाल एकीकरण हुनु ५ सय वर्षभन्दा अघिदेखि यस क्षेत्रका विभिन्न राज्य–रजौटाहरूले सन्धि, पत्राचार गर्न अन्तर राज्य भाषाको रूपमा नेपाली भाषा प्रयोग गरेको उल्लेख गरेका छन्। नेपाल एकीकरणका अभियानका क्रममा पनि बाइसे र चौबिसे राज्यहरूले सन्धि गर्दा नेपाली भाषा नै प्रयोग गरेकाले त्यति बेला नेपाली भाषा सम्पर्क भाषाको रूपमा विकसित भइकसकेको स्पष्ट हुन्छ। लिम्बुवान र खम्बुवानका राजाहरूसँग पनि व्यवहार गर्ने भाषा नेपाली नै रहेको प्रमाण पाइन्छ। मल्लकालमा त मल्ल राजाहरू प्रताप मल्ल, भूपतीन्द्र मल्ल, जगतप्रकाश मल्लहरूले नेपाली भाषमा कृति नै प्रकाशन गरेको पाइन्छ।
तत्कालीन समयमा यस क्षेत्रमा प्रशस्त भाषा बोलिन्थे भन्नेमा कुनै शङ्का छैन। तीमध्ये मैथिली, नेवारी भाषा समृद्ध पनि थिए। तर पनि बहुसङ्ख्यक जनताले बुझ्ने र व्यवहार गर्ने सम्पर्क भाषाको रूपमा नेपाली रहेकाले गर्दा नेपाली भाषामा भानुभक्तले रामायण रचना गर्नाले अन्य भाषामाथि अतिक्रमण भयो भन्नु भाषा वैज्ञानिक दृष्टिले युक्तिसङ्गत मानिँदैन। वास्तवमा नेपाली भाषा अहिले कुनै जाति विशेषको मात्र भाषा रहेन। यो त अन्तर्जातीय भाषाको रूपमा स्थापित भइसकेको छ। त्यसैले दुई शताब्दीअघिका भानुभक्तको रामायणले भाषिक दमन गर्यो भन्ने जस्ता आधारहीन कुरा गर्नुभन्दा हरेका भाषाका वक्ताले आफ्नो भाषालाई आधुनिक र मानक बनाउन आफूले र राज्यले के प्रयास गरेको छ भनेर आत्ममूल्याङ्कन गर्न जरुरी छ।
हो, लामो समय राज्यले एक भाषाको नीति अख्तियार गर्दा नेपालभित्र बोलिने अन्य भाषाहरूको विकास भएन। त्यसको कारण राज्य हो भन्ने कुरा त सबैले स्विकारेकै छ नि। तर, दुई शताब्दीअघिका भानुभक्तले नै सबै भाषा मास्न खोजेको आरोप लगाउनु चाहिँ हीन मनोभाव मात्र हो।
भाषाको विकासका सन्दर्भमा मानकीकरण र आधुनिकीकरणको कुरा आउँछ। भानुभक्तको रामायण नेपाली भाषाको आधुनिकीरण र मानकीकरणको एउटा प्रयास मात्र हो। मनकीकरण भनेको एउटै भाषाका विभिन्न स्थानीय भेदमध्ये एउटा भेदलाई सर्वस्वीकार्य बनाउने कार्य हो भने आधुनिकीकरण चाहीँ भाषालाई समाजको बद्लिँदो परिवेशअनुरुप प्रयोग योग्य बनाउनु हो अर्थात् सामाजिक परिवर्तनलाई भाषाले व्यक्त गर्नसक्ने बनाउनु हो। संस्कृतको अध्यात्म रामायणलाई नेपाली भाषामा भावानुवाद गरेर उनले नेपाली भाषालाई साहित्य लेखनमा प्रयोग गरे। यो मानकीकरण र आधुनिकीकरणका सन्दर्भमा भाषिक विस्तार थियो। भाषिक विस्तार बडो कठिन कुरा पनि हो। किनभने जनताले स्वीकार नगर्दा यो प्रक्रिया नै असफल हुन्छ। तर भानुभक्तको रामायण जनजिब्रोमै झुन्डिएको छ।
औपचारिक शिक्षा नै आरम्भ नभएको समयमा रामायणको भावानुवाद गरेर भानुभक्तले पठन संस्कृतिको जग बसालेको कुरा वर्तमान पुस्ता बुझ्दैन। २००७ सालपछि मात्रै खुकुलो भएको हाम्रो शिक्षा प्रणालीमा हामी एक र दुई पुस्ते शिक्षित वर्ग हौँ। तापनि हाम्रा अग्रजहरू वर्षाैँदेखि भानुभक्तीय रामायणका श्लोक गाइरहेका छन्। हाम्रो पठन संस्कृतिको आधार त्यही रामायणले निर्माण गरेको हो। अनौपचारिक शिक्षा तथा गुरुकुलमा लामो समय रामायण नै पठन सामग्री थियो। भानुभक्तकै अन्य कृतिहरू शिक्षण सामग्री थिए। तत्कालीन समाजको मूल्य मान्यतालाई विषय वस्तु बनाइ रचिएका तथा सामाजिक परिवेशको चित्रण गरिएका उनका कृतिहरू व्यक्तिमा सच्चरित्रता निर्माण गर्न र समाजलाई आदर्श बनाउन सक्षम थिए। तर, तत्कालीन परिवेश, मूल्य मान्यता अध्ययन नगरी बडो नारीवादी भएर आधुनिक आलोचकहरू भानु जयन्तीका दिन भानुभक्तको वधूशिक्षाप्रति कटाक्ष गर्छन्, नारीले हाँस्नुहुन्न भनेको कुरालाई लिएर।
नारीले हाँस्न हुन्न भन्ने विगतबाट गुज्रेर हामी अहिलेको खुला समाजमा आइपुगेका हौँ। त्यसले हाम्रो सभ्यता र विकासको क्रम देखाउँछ, जुन मेटेर मेटिन्न। त्यो हाम्रो विगतको यथार्थ थियो। विगतको कमजोरी अहिले खोतल्ने होइन। कमजोरीबाट शिक्षा लिने हो। मानव समाज र सभ्यताको निर्माण नै त्यसरी भएको छ। सबै विगततिर नै फर्केर हिसाब खोज्ने हो भने समाजले अग्रगति लिँदैन। समाजमा सिर्जनात्मक कार्य नै हुँदैन। महाकवि देवकोटाले भनेका छन्, …साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदय स्पर्शितामा निर्भर गर्दछ।' नेपाली साहित्यमा जनताको हृदयमा सर्वकाल स्पर्श गर्ने कृति रामायण नै हो। त्यसैले भानुभक्तका कृतिमाथि कटाक्ष गर्नुभन्दा उनका कृतिको अन्तर्वस्तु पहिल्याउनु महत्त्वपूर्ण हुन्छ। किनभने देवकोटाकै शब्दमा, 'भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ, उनलाई हेला गरे समाप्त हुन्छ।'
सेतोपाटी अनलाइनमा २०७२ असार २९ मा प्रकाशित
No comments:
Post a Comment