पाठ्य पुस्तकमा भाग्यवाद
दामोदर ढुङ्गेल
माध्यमिक शिक्षा पाठ्यक्रम २०६४
को उद्देश्यमध्ये एउटा “विद्यार्थीहरुलाई
श्रमप्रति सकारात्मक बनाउने” भन्ने छ
। तर, यो उद्देश्य प्राप्त गर्न बनाइएका
सामाग्री भने भाग्यवादलाई प्रश्रय दिने खालका छन् । एउटा उदाहरण यहाँ प्रस्तुत
गर्न चाहान्छु । वर्तमान विद्यालय तह कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकमा
रहेको पाठ ‘भाग्यभन्दा परिश्रम ठुलो’ वादविवादमा यस्तो अभिव्यक्ति छ:
भाग्यमा छैन भने जतिसुकै
परिश्रम गरे पनि, टाउको
फोरे पनि सफलता प्राप्त गर्न सकिँदैन ।....संसारमा जन्मिएका सबै व्यक्ति परिश्रम
गर्दैमा महान् हुन सक्दैनन्, विद्वान्
र धनाढ्य बन्न पनि सक्दैनन् ।.... यो सबै भाग्यको खेल हो । ....परिश्रम गर्दैमा
सबै मानिस सुखी र सम्पन्न हुने भए मजदुर, भरिया वा श्रमजीवी मानिसहरुको जिन्दगी किन त्यति दुःखी
हुन्थ्यो ? ....भाग्यमानी
व्यक्ति सानैदेखि सुखी हुन्छ ।....परिश्रम गर्दैमा सबै सुखी हुने भए यो संसारमा
कोही पनि दुःखी हुने थिएनन्, सबै धनी
र सम्पन्न हुने थिए । यो संसारमा धनी वर्गले भन्दा गरिब वर्गले नै बढी परिश्रम
गरेको,
बढी पसिना बगाएको पाइन्छ तर ती
बिचरा आफ्नो दैनिक गुजारा गर्न पनि सक्दैनन् । के तिनले कम शारीरिक श्रम गरेका छन्
? बिहान उठेदेखि बेलुका नसुतेसम्म
तिनीहरु काममा जोतिएका जोतियै हुन्छन् तर साँझ बिहान हातमुख जोड्न पनि तिनीहरुलाई
धौ धौ पर्छ । किनकि तिनीहरुको भाग्यमा सुख छैन ।
पाठ्यपुस्तकमा समावेश पाठ्यवस्तुले
भाषिक सिप मात्र होइन जीवनदर्शन र सामाजिक चेतना पनि निर्माण गर्छउपर्युक्त अभिव्यक्ति वादविवादमा
परिश्रमको विपक्षमा भाग्यको तर्फबाट गरिएको हो । सरसर्ती हेर्दा पाठ्यपुस्तकमा
विद्यार्थीहरुलाई भाषिक सिपमा अभ्यस्त गराउन राखिएको एउटा पाठ मात्र हो जस्तो
ठानिएला । तर पाठ्यपुस्तकमा समावेश
पाठ्यवस्तुले भाषिक सिप मात्र होइन जीवनदर्शन र सामाजिक चेतना पनि निर्माण गर्छ ।
हाम्रो विद्यालय तहमा
पाठ्यपुस्तक शिक्षणको आधार हो । अझ बहुसङ्ख्यक शिक्षकले त यसैलाई पाठ्यक्रम ठानेको
पनि पाइन्छ । पाठ्यक्रमको सहज पहुँच नहुने त्यसमा पनि पाठ्यक्रम अध्ययन नगर्ने
शिक्षकले त यसैलाई मात्र आधार बनाएर शिक्षण गर्छन् । पाठ्यपुस्तकमा लेखेको कुरालाई
अकाट्य सत्य मानेर पढाउने चलन छ । विद्यालय शिक्षाको यस्तो स्थिति भएको देशमा
पाठ्यपुस्तकमा गलत धारणा निर्माण गर्ने पाठ्य सामग्री राख्नाले हामी कस्ता
विद्यार्थी निर्माण गर्दैछौँ भन्ने प्रश्न उठेको छ ।
नेपाली विषय विद्यालय तहमा जसले
पनि पढाउन सक्छ भन्ने विषयको रुपमा स्थापित भएको छ । अधिकांश नेपाली विषयका शिक्षक
नेपाली विषयलाई भाषा शिक्षणका रुपमा होइन अन्य विषय शिक्षण गरे जस्तो विषयगत
ज्ञानलाई प्राथमिता दिएर पढाउँछन् । वादविवाद शिक्षण गर्दा अघिल्लो दिन
विद्यार्थीहरुलाई पाठ्य पुस्तकको वाद विवाद पढ्न लगाउने र भोलिपल्ट सोही शीर्षकमा
कक्षामा वाद विवाद गराउने प्रचलन छ । हाम्रो समाज, प्रत्येक परिवार अनि व्यक्ति अझै पनि भाग्यमै विश्वास गर्ने भएकाले
र पाठ्यपुस्तकमा पनि भाग्यकै पक्षमा जोड दिइएकाले 'भाग्यभन्दा परिश्रम ठुलो' शीर्षकमा
वादविवाद गराउँदा विद्यार्थीहरु पाठ्य पुस्तकमा भाग्य स्थापित गराउने अभिव्यक्ति
भएकाले विद्यार्थीले श्रमका पक्षमा बलियो मत नै बनाउन सक्दैनन् ।
यसले श्रमको महत्त्वलाई निस्तेज
त पारेकै छ । हाम्रा सामाजिक समस्याहरु पनि भाग्यको परिणाम भएकाले चुपचाप सहनु
पर्ने बानीको विकास गर्न उद्यत् छ । त्यसैले यस्तो अभिव्यक्ति समावेशी र समतामुलक
समाज निर्माणको विरुद्धमा छ । यो भाग्यवाद श्रमको विरुद्धमा त छँदै छ । साथै यसले
हाम्रा तमाम सामाजिक विभेदहरुलाई पनि भाग्यवादको लेप लगाएर वास्तविकता छोपिरहेको छ
। आर्थिक असमानता, जातीय, लैङ्गिक विभेद पनि भाग्यकै परिणाम भएकाले स्विकार्नै पर्ने
धारणा निर्माण गर्नमा सघाउ पुर्याएकोछ ।
श्रमप्रति सकारात्मक सोचाइ भएका
विद्यार्थी र समावेशी समाज निर्माण गर्न ढिलो गर्ने शासकहरुको चेष्टा हो भने
त्यसमा प्रश्न उठाउन जरुरी छआलोचनात्मक
चेत र विश्लेषणात्मक सिप विकास गर्ने माध्यमिक शिक्षाको उद्देश्यमा उल्लेख गरिएको
छ तर यस खालका पाठ्यवस्तुले विद्यार्थीमा थोपरिएका र लादिएका विचार जबर्जस्त, बिना सर्त स्वीकार गर्ने प्रवृत्ति निर्माण गरिरहेको छ ।
सामाजिक चेतनाका आलोक ढाक्ने यस्ता अवरोध पन्छाउन ढिलो गर्नु हुँदैन । सामाजिक
कुसंस्कारका जालो च्यात्न अबेर गर्नु भनेको यथास्थितिमा जोड दिनु हो । श्रमप्रति सकारात्मक सोचाइ भएका
विद्यार्थी र समावेशी समाज निर्माण गर्न ढिलो गर्ने शासकहरुको चेष्टा हो भने
त्यसमा प्रश्न उठाउन जरुरी छ ।
चेतना निर्माणको बलियो औपचारिक
स्थल विद्यालय नै हो । अनि विद्यालय तहमा नै यस्ता पाठ्य सामग्री अध्यापन गराइएपछि
कसरी हाम्रा सामाजिक समस्याहरु समाधान हुन्छन् ? हाम्रा पाठ्य पुस्तक सामाजिक समस्या समाधानतर्फ होइन
पुनरावृत्तितर्फ केन्द्रित छन् । जीवनभर परिश्रम गरेर पनि आर्थिक उन्नति नहुनु
भाग्यमा नभएर होइन । हाम्रो सामाजिक संरचना, अर्थ
व्यवस्था र राजनीतिक प्रणालीका कारण हो । ०६२/६३ को लोकतान्त्रिक जन आन्दोलन, त्यसले जनतामा ल्याएको चेतना र हामीले स्वीकार गरेको समावेशी
समाजका विरुद्धमा भाग्यवादलाई प्रश्रय दिने यो पाठ्यवस्तुले गरिब, निमुखा, दलित, महिला, सीमान्तकृत
समुदायले जीवनभर कर्म गरेर पनि कर्महारा बन्नुलाई भाग्यको खेल भनेको छ । भाग्यमा
नभएर नै गरिब भएको अनि भाग्यकै कारण धनी भएको भन्ने बाल मस्तिष्कमा छाप पारेको छ ।
जति नै पसिना बगाए पनि भाग्य
नहुनेको केही चल्दैन भन्ने कुरा पढाइएपछि श्रमप्रतिको सम्मान नै रहँदैन । भाग्यमा
हुनेको तालुमा आलु फल्छ भन्ने जस्ता कुरा पढाएपछि कसले र किन गर्ने श्रम ? यस्ता प्रश्नको जवाफ पाठ्य पुस्तक लेखकहरुले दिनुपर्छ । होइन
भने किन राखिन्छन् यस्ता पाठ्यवस्तु ? यसको पनि
जवाफ दिनुपर्छ लेखकहरुले । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विद्यालय तहको
पाठ्यपुस्तकले समावेशी बनाएको जस्तो गरेको छ तर त्यो शब्द तहमा मात्र छ ।
पाठ्यपुस्तकबाट ‘श्री ५ को सरकार’ हटाएर नेपाल सरकार बनाउने काम भयो तर विषयवस्तुको सामाजिक
प्रभावका दृष्टिले अहिलेको नेपाली भाषाको पाठ्यपुस्तक ‘महेन्द्रमाला’कै
पुनरावृत्ति हो ।
बाल्यकालमै मैले समाजमा
जमिन्दारहरुले गरिबहरुको शोषण गरेको देखेँ । मेरा बुबा जमिन्दारकै खेती अधियाँ
कमाउनु हुन्थ्यो । प्रत्येक वर्ष असार साउन महिनामा जमिन्दारहरुको रोपाइँमा हौली
दिनुपथ्र्यो । हौली अर्थात् जमिन्दारको रोपाइँका दिन रोप्न ठिक्क पारेको आफ्नो
मेलो छोडेर सित्तैमा सघाउनु पर्ने । यो प्रचलन तराईमा अझै छ । कतिपय लेखकहरु
हौलीलाई हाम्रो कृषि संस्कृति मान्छन् तर मेरो विचारमा हौली कृषिमा सामन्ती
संस्कारको प्रतीक हो । मेरो बुबा हौलीका दिन कामै नभए पनि प्रायः घर छोडेर टाढा आफन्तका
घरमा जानु हुन्थ्यो । गाउँका सबै मानिसहरु हौलीमा पाएको खाजा ल्याएर खान्थे । तर
मेरा बुबा भाग्नु हुन्थ्यो । यो कुरा त मैले पछि बुझेँ । बुबा भन्नुहुन्थ्यो, “शोषक सामन्तीका घरमा खाजाका लोभमा परेर सित्तैमा जोत्न
जादिनँ ।” बुबाबाटै थाहा भयो मलाई श्रमको महत्त्व
। सानैदेखि मेरा लागि श्रम अप्रतिम
वस्तु र श्रमिकहरु महान् भए । त्यसैले श्रमको बद्ख्याइँ गरेर भाग्यको महत्ता गाउने
उक्त पाठ मैले विद्यालय तह शिक्षणको १२ वर्षको अवधिमा पढाइनँ । यसमा मलाई कुनै
अफशोच पनि छैन । किनकि पाठ्यक्रमको उद्देश्य विद्यार्थीलाई भाग्यवादी बनाउने होइन
र छैन ।
पाठ्यक्रम विकास केन्द्रका
पाठ्यपुस्तक लेखनका स्थायी वैतनिक विद्वान्हरुले तयार पारेको वादविवाद बोलाइ सिप
विकास गर्न पाठ्यपुस्तकमा राखिएको हो । परीक्षणीय पक्ष र व्यावहारिक परिवर्तन
भनेको पनि वादविवाद गर्ने सिपको मापन हो । त्यसैले मैले कक्षा १० मा वादविवाद
शिक्षण गर्न अन्य शीर्षकहरु चयन गर्ने गरेको छु । ती शीर्षकहरु कर्मभन्दा भाग्य
ठुलो भन्ने खालका हुँदैनन बरु तिनीहरुले विद्यार्थीमा समानता, भ्रातृत्व, सम्मान
गर्ने सिप र कर्मयोगी बन्ने प्रेरणा दिन्छन् ।
कतिपयलाई लाग्न सक्छ वादविवाद त
हो नि, यो वा त्यो पक्षमा राखेर कुरा बुझाए
भयो नि । तर मेरो व्यक्तिगत अनुभवका आधारमा के भन्न सक्छु भने, यस्ता कुतर्कले विद्यार्थीको जीवनमा र जीवन दर्शनमा पारेको
नकारात्मक प्रभाव अत्यन्त गहिरो हुन्छ
(रेकर्ड नेपालमा प्रकाशित)
No comments:
Post a Comment