Tuesday, May 22, 2018

इतिहास अध्ययनमा नीपजन र नेपाल

इतिहास अध्ययनमा नीपजन र नेपाल

निरोज कट्टेल / दामोदर ढुङ्गेल
प्राचीन ग्रिकका इतिहासकार हेरोडाइट्सले इतिहासका सन्दर्भमा बडो रोचक कुरा उल्लेख गरेका छन् । ‘इतिहासमा देशका जनता, उनीहरुको जीवन, राजनीतिक, आर्थिक तथा सामाजिक विकासका कुराहरु समेटेर राखिएको हुनुपर्छ । इतिहास राजा महाराजाका स्तुति र गुणगान मात्र होइन । यो त सिङ्गो मानव समुदायले निर्माण गरेको सभ्यता पनि हो ।’
इशापूर्व ४८४ मा जन्मेका हेरोडाइट्सले इतिहासका विषयमा गरेको व्याख्या आज पनि उत्तिकै मननीय छ, । यिनै दार्शनिकले व्याख्या गरेको इतिहास सम्बन्धी अवधारणालाई कति फलो गरिएको छ त ? आजपर्यन्त निरन्तर बहसको रुपमा रहेको छ । राजतन्त्र उन्मूलन भएको एक दशक मात्र भएको हाम्रो जस्तो शैशवकालीन गणतन्त्रात्मक देशमा त अझ यो विषय पेचिलो बन्न पुग्छ । इतिहासको विरासतले समाजलाई हम्मेसी नछोड्ने हुँदा शिशु गणतन्त्रात्मक देशमा इतिहासको व्याख्या त झन् बहसको विषय बन्छ नै ।
हाम्रा विद्यालय, विश्व विद्यालयमा इतिहास अध्ययन अध्यापन गराउन थालिएको लामो समय भयो तर इतिहास अध्ययनको उद्देश्य चाहिँ प्राज्ञिक कर्मभन्दा पनि विद्यार्थीहरुका लागि सजिलोसँग कक्षा उक्लिनका लागि मात्र पढ्ने विषय बन्न पुग्यो । प्रमाण पत्र प्राप्त गर्ने हेतुले लिएको ज्ञानले शैक्षिक उन्नयनमा खासै महत्त्व राख्दैन । यसको ज्वलन्त उदारण अहिले आफू र आफ्नो समाजको इतिहासप्रति बेपर्वाह गर्ने पुस्ता निर्माण भइरहेको तथ्यले उजागर गरिरहेको छ । विगतको अध्ययनसँगै वर्तमानलाई बुझ्ने र भविष्यको प्रक्षेपण गर्नका लागि इतिहास अध्ययन गरिन्छ भन्ने मान्यता स्थापित हुन सकेन । जसले गर्दा हाम्रा शिक्षालयहरुले इतिहास पढ्ने शिक्षार्थी नै पाउन छाडे । भर्खरै मात्र त्रिभुवन विश्व विद्यालयले विद्यार्थी अभावमा इतिहास विभाग नै खारेज गर्नसक्ने उद्घोष गरेको छ ।
विश्व विद्यालयले समाज विज्ञान, इतिहासका विषयलाई महत्त्वका साथ अध्यापन गराएर समाज र सभ्यताप्रति सचेत नागरिक उत्पादन गर्नुपर्नेमा विभाग नै खारेज गरेपछि बेपर्वाह नागरिक उत्पादन हुन्छन् । आफ्नो समाजको इतिहास र वर्तमानमा घटिरहेका अनेकवली घटनाका ऐतिहासिकता नबुझ्दा वा त्यसप्रति उदासीन हुँदा हामीले हाम्रो भविष्य कस्तो बनाउने भन्नेमा ठूलो अन्योल सिर्जना हुने रहेछ । 

पश्चिमा संसारबाट सापट लिएका सिद्धान्त र उनीहरुका अनुभव मात्रै पढेर हुर्कँदा एकातर्फ हामीले हाम्रो मौलिकता गुमाउँदै जाने रहेछौँ । हामी आफँैले विकास गरेका महासभ्यताहरु समेत हाम्रै नजरबाट धुमिल हुँदै जाने रहेछन भन्ने अहिले नेपालमा काम गरिरहेका विद्वान् र अनुसन्धाताहरुले महसुस गर्न थालेका छन् । नेपाली समाज आफँैमा ठूला राजनीतिक र सांस्कृतिक उथलपुथलबाट गुज्रिरहेको समयमा कतिपय घटना, आन्दोलन र कतिपय अवस्थामा सिर्जित अराजकतालाई ठम्याउन नसक्ने हुँदा रहेछौँ । त्यसैले आफ्नै समाजको गम्भीर अध्ययन गर्न नागरिक स्तरबाट समेत नथालिने हो भने विद्यालय, शिक्षानीति र विश्व विद्यालयको बाटो हेरेर बस्दा एउटा सिङ्गै पुस्ता भ्रम र विभ्रमा कैद भएर बित्ने खतरा महसुस भएको छ ।
रिडर्स झापाले इतिहास र नेपाली समाज अध्ययन गरिरहेका विभिन्न विद्वान् र अध्येताहरुसँग गरेका घनीभूत छलफलबाट यही निष्कर्ष निकालेको छ । त्यसैले युवाहरुलाई समेटेर २०७५ वैशाखदेखि नेपालको इतिहास अध्ययन र प्रस्तुतीकरणको शृङ्खला चलाइरहेको छ ।
यसै सन्दर्भमा मार्टिन चौतारीले प्रकाशन गरेको दिवाकर आचार्यद्धारा लिखित ‘नीपजन र नेपाल ः एक छोटो आद्य इतिहास’ नामक एक अनुसन्धनात्मक कृति हामीले अध्ययन गरेका छौँ । नेपालको इतिहास लेखनमा विभिन्न प्रवृत्ति र धारहरु छन् । आचार्यले पुस्तकमा नेपाल नामकरणका सन्दर्भमा विभिन्न विद्वानहरुका तर्क सप्रमाण खण्डन गरेका छन् । उनले नेपाल शब्दको व्युत्पत्तिसँग जोडिएर आउने नीपजन समुदायको प्राचीन इतिहास पनि जोडिएको छ भन्ने पुष्टि गर्ने प्रयास गरेका छन् । नीप शब्दलाई उपत्यकाको भूगोल र त्यहाँ बसोवास गर्ने प्राणी, जीव वनस्पति लगायतसँग नेपाल शब्दको व्युत्पत्तिमा प्राचीनता गाँसिएको विषयलाई विभिन्न वैदिक साहित्य, कथा, पुराणका घटना र प्राचीन कालका विभिन्न ग्रन्थहरुका अनेकौँ श्लोकहरुलाई पनि प्रस्तुत गरेर नीप जनपदका कारण नेपाल शब्दको व्युत्पत्तिको इतिहासलाई पुष्टि गर्न खोजेका छन् ।

नेपाल शब्दको व्युत्पत्तिका सन्र्दभमा हामीले हाम्रा विद्यालय वा विश्व विद्यालयका पाठ्यक्रममा पढेकाभन्दा फरक इतिहास यस ग्रन्थमा पाइन्छ । नीपहरु कुनै जाति नभएर जनपद थिए । यी जनपदमा अनेकौँ गणहरु थिए । गणका आआफ्ना विशेषताहरु थिए । अहिले कुनै पनि जातीय अस्तित्व नदेखिनुमा यिनीहरु धेरै वटा गणहरु मिलेर बनेका जनपद थिए । लामो अन्तराल पश्चात् यहाँका स्थानीय जनसमूहसँगको संसर्गका र अन्तर्घुलनका कारण छुट्टै अस्तित्व पाइँदैन । यिनीहरु गङ्गाको तटीय मैदानमा विचरण गर्दथे । आफ्नै जनसमूहका अङ्गीरसहरुसँग वैमनस्य उत्पन्न भएपछि क्रमशः यिनीहरु दक्षिणी पाञ्चालबाट बिस्तारै उत्तर तर्फका दुन, भावर, खोँच हुँदै उपत्यका वा यसको वरिपरि आएर बसेको र यिनैका नामवाट नेपाल शब्दको व्युत्पत्ति भएको उनले उल्लेख गरेका छन् ।
उनको तर्क छ “नीप शब्द “नि” उपसर्ग र पानीलाई बुझाउने “अप्” शब्द जोडिएर बनेको पानीसँग सम्बन्धित शब्द हो । यो वैदिक संस्कृतिमा नै भेटिन्छ । यसको यौगिक अर्थ पानी (अप) नजिकको होचो र गहिरो (नि) ठाउँ हुन्छ । यो शब्दले त्यहाँका वनस्पति र प्राणीलाई समेत बुझाउँछ । यो व्युत्पत्ति नेपालको भौगोलिक परिप्रेक्ष्यसँग पनि मेल खान्छ । यसकारण यो व्युत्पत्ति नपत्याई “अर्को वैकल्पिक सत्य” को खोजी गर्नु पर्दैन । नेपाल शब्द चलनचल्तीमा अउनुअघि नीप शब्दले नीपजन र तिनको बसोवास क्षेत्र दुबैलाई बुझाउँथ्यो । नेपाल शब्दको नामकरण र विश्लेषणका कारण बनेका नीपजनाबारेका सामग्री वैदिक साहित्यदेखि प्राचीन अभिलेख र पुराणमा छरपस्ट देखिन्छ” ।
उनको जोड भनेको होचो ठाउँ र यसमा बस्ने मानिस वनस्पति र प्राणीहरु पनि हुन् भनेर गहिरो होचो ठाउँ भनेको काठमाडौँ उपत्यकामा बसोवास भएका कारणवाट नेपाल शब्दको व्युत्पत्ति भएको भनेर पुष्टि गर्न खोजेको देखिन्छ ।
नेपाल शब्दको उल्लेख अथर्ववेदमा पाइन्छ । शब्दको प्रयोगका बारेमा यो नै सबैभन्दा पुरानो मानिन्छ । नेपालको नामकरण संस्कृत शब्द ‘निपालय’बाट भएको हुनसक्ने देखिन्छ । संस्कृतको ‘निप’ र आलय’ शब्दको सन्धिबाट निपालय शब्द निर्माण हुन्छ । जसको अर्थ पहाडको खुट्टा (आधार) हो । यसलाई हिमालको खुट्टामा रहेको निवास क्षेत्र भन्न सकिन्छ । हिमालको काख, पानी जम्ने ठाउँ तथा त्यहाँ पाइने वनस्पति र प्राणीलाई समेत बुझाउने नीप शब्द नीपजनको बसोवास रहेकाले निपालयबाट नेपाल नामकरण भएको हुनसक्छ ।
नेपाल शब्दको नामकरण सम्बन्धमा शाब्दिक दृष्टिले अध्ययन गर्दा निपालय नै आधार रहेको भन्ने कुरा आलय शब्द हो । आलय संस्कृत भाषाको शब्द हो । भारतमा आर्यहरुको प्रवेशसँगै नीप जनपद रहेको वेद र पुराणमा उल्लेख छ । भारतवर्षमा लामो समय नीपहरु रहेका तथा शासन सत्ता सम्हालेको उल्लेख पाइनु अनि उनीहरु बसेको स्थानलाई निपालय भनिनुले उनीहरु भारोपेली परिवारका भाषा बोल्ने वक्ता रहेको आलय शब्दको प्रयोगलाई लिन सकिन्छ । किनकि नेपालमा बोलिने भोटबर्मेली, आग्नेली र द्रबिड परिवारका भाषामा आलय शब्द पाइँदैन । नीपहरु हिमालयको काखतिर बसोवासका लागि गएको तथ्य निपजन र नेपाल पुस्तकमा प्रस्तुत गरिएको छ ।
विभिन्न तर्क प्रस्तुत गरिए पनि पुस्तकको अन्त्यसम्म पुग्दा लेखक आफैँ अलमलमा परेको देखिन्छ । पाठकले लेखकका असहजतालाई सजिलै खोट्याउने ठाउँ रहेको छ । नीपजन र नेपालमाथि अनेकौ प्रश्न खडा हुन्छन् तर जवाफ पुस्तकमा पाउन सकिँदैन । जसले गर्दा जिज्ञासुलाई अझ बढी खोज्ने बनाउँछ ।
गङ्गाको तटीय मैदानमा घटेका अनेकौँ घटनाहरु, मध्य ऋृग्वेदकालीन श्रुति परम्पराका अनेकौँ कथ्यहरुदेखि महाभारत कालसम्मका विवरणले पाठकमा अलमल थपिदिन्छ । अर्कोतर्फ संस्कृत भाषा साहित्यबाट उद्धृत शब्द र श्लोकहरुले उक्त भाषामा ज्ञान नभएका अध्येतालाई पुस्तक झिँजो लाग्न सक्छ । विभिन्न कालमा घटेका अनेकौँ घटनाहरु एक अर्कासँग नमिल्दा रनभुल्लमा पर्ने प्रस्टै छ । प्राचीन इतिहास भएका कारण भाषिक क्लिष्टता सामना गर्नुपर्छ । अन्त्यसम्म पनि नीपहरुको इतिहास, यिनीहरु कुन जातिका थिए ? लगायत प्रश्न र यिनीहरुको प्रामाणिक ऐतिहासिकता स्पष्ट नभएका कारण लेखकका यथेष्ट अलमल ठम्याउन सकिन्छ ।
नीपहरु को हुन् भन्ने सन्दर्भमा उनले एउटा प्रसङ्ग उल्लेख गरेका छन् “उपत्यकामा किराँतहरुले शासन गरिरहँदा दक्षिण पश्चिम क्षेत्रबाट कुम जोर्न आइपुगेका आर्यजन नीपहरु नै थिए । उनीहरु बिस्तारै यो क्षेत्रमा हाबी भएर यिनकै नामले सम्पूर्ण क्षेत्र चिनिन थाल्यो । लिच्छवीहरुको उदयसँगै नीपहरुको शासकीय पहिचान मेटिई सामान्य नागरिक नैपाल अहिलेको भाषामा भन्दा नेवार पहिचान विकसित हुँदै थियो । यसका भागीदार क्षेत्रका नीपहरु बाहेक अन्य बासिन्दा पनि थिए ।” उल्लिखित प्रसङ्गमा समयावधि किटान नभएकाले अनुमान ठहर्छ ।
अर्को एउटा प्रसङ्ग छ, “महाभारतको युद्ध हुनुअघि नै नीपवंशको उच्छेद भइसकेको थियो ।” यो घटनापछि के भयो ? नीपहरु कहाँ गए भनेर महाभारत तथा पुराणहरुले बताएका छैनन् । इश्वीको पहिलो शताब्दीताका नेपाल उपत्यका र आसपासको क्षेत्रमा नेपाल नैवाल नामले चिनिसकेको थियो । यसबिच नीपहरुले यो क्षेत्रमा आई बसोवास गरी यसलाई आफ्नो नाम दिन भ्याएका थिए भन्ने ठाउँ देखिन्छ । तर, प्रश्न उठ्छ यस्तो कहिले भयो ? कहिले यस क्षेत्रमा आए र कहिले बिलाए ?
उल्लिखित दुबै प्रसङ्गलाई सूक्ष्म ढङ्गले अध्ययन गर्दा एउटा प्रसङ्गमा नीपहरु दक्षिण पश्चिमबाट आएका आर्यहरु थिए । बिस्तारै यस क्षेत्रमा हावी भए र पछि यिनको शासकीय पहिचान मेटिएर नेवार वा अन्य यस्तै केही भए भन्ने कुरालाई जोड दिएको छ । अर्को प्रसङ्गमा महाभारत युद्ध हुनुअघि नै नीपवंशको उच्छेद भइसकेको थियो र यो घटनापछि नीपहरु कहाँ गए भनेर भन्न नसक्ने कुरालाई जोड दिएको छ । पहिलो प्रसङ्गले नीपहरु आर्य थिए र काठमाडौँ उपत्यका आए भन्ने देखिन्छ । अर्को प्रसङ्गले चाहिँ महाभारत कालमा नै उच्छेद भएका नीपहरु उपत्यका आए तर कालक्रम मिलाउन सकेका छैनन् । यो अनुमान मात्र हो । यस आधारमा नीपहरुको वंशवृक्षसँग जोडिएर गरेको अनुसन्धानले सत्य उद्घाटित गर्न सकेको छैन ।
आफ्नै समुदायका अङ्गीरसहरुसँग वैमनस्य भई हिँडेका नीपहरुलाई काठमाडौँ उपत्यका आइपुग्न चारपाँच पुस्ता लाग्यो भनेर लेखकले उल्लेख गरेका छन् । तर, आखिरमा नीपहरुलाई केले जोडेर राख्यो त्यत्रो समय ? धर्म, गोत्र वा अन्य केहीले नजोडिकन नीपहरु कसरी एकीकृत भएर बस्न सके होला भन्ने कुरा चाहिँ अन्योल नै छ । यी विषयमा लेखक अलमलमा परेको माथिका प्रसङ्गले देखाउँछन् ।
नीपहरु किराँत पनि थिएनन् । लिच्छवीहरु पनि होइनन्, भने नीपहरु को हुन् त ? भन्ने प्रश्न स्वाभाविक लाग्छ । जसको स्पष्ट जवाफ पुस्तकमा पाउन मुस्किल छ । अब नेवार जातिसँग जोडेर यसको व्युत्पत्तिलाई हामीले हेर्यौ भने शासकीय क्षमता ह्रास भएपछि नीपहरु क्रमशः त्यहाँका स्थानीयहरुसँगको संसर्गबाट नेवार जातिको विकास भएको हो कि भन्ने अनुमान लाउन चाहिँ सकिन्छ । जस्तै ः नेपाल शब्दको उत्पत्तिसँग नेवारको सम्बन्ध जोडिएको छ कि ? यसका लागि नेपाल भाषाको भाषिक अध्ययन आवश्यक देखिन्छ ।
नेपालमा किराँत राज्य विस्तार हुँदै गर्दा भारतखण्डमा के हुँदै थियो ? महाभारतकालीन समाज भनेको इश्वीको कुन समय हो ? यी तथ्य नकेलाई हामी अनुसन्धानको गहिराइमा पुग्न सक्दैनौँ । यहाँ दिएको महाभारतको प्रसङ्ग, ऋृग्वेदकालको प्रसङ्गलाई समयक्रमको हिसाबमा पनि खोतल्नु पर्ने हुन्छ । प्रामाणिक इतिहास नभएपछि प्राचीन इतिहासका अध्येताले विभिन्न पुराण, श्रुति परम्परा र कथाहरुलाई आधार मानेर आफ्ना अनुमानहरु पेस गरेका हुन्छन् । इतिहासका अध्येतालाई यो एउटा चुनौतीको रुपमा रहने गरेको छ, जसको सामना स्वभाविक रुपमा दिवाकर आचार्यले पनि गरेका छन् ।
एङ्लो अमेरिकन कवि डब्लु एच् औडेनले भनेका छन्, “मानव जाति इतिहासको निर्माता हो, जो आफ्नो अतीतलाई न दोहो¥याउन सक्छ न बिर्सन ।” त्यही दोहो¥याउन नसकिने र बिर्सन नसकिने भएकाले मानिस वर्तमानमा इतिहास रचिरहन्छ अनि इतिहास अध्ययन गरिरहन्छ ।
(लेखकद्वय रिडर्स झापामा आबद्ध छन् ।)

Monday, May 7, 2018

‘सुकुम्वासी राजा’ सबाल्टर्न चेतना


‘सुकुम्वासी राजा’ सबाल्टर्न चेतना


दामोदर ढुङ्गेल




गत बुधवार परिवर्तन थिएटरले निर्माण गरेको र मञ्चन गरेको नाटक सुकुम्वासी राजाहेर्ने अवसर मिल्यो । कुनै समय विद्यालयका औपचारिक कार्यक्रममा अनिवार्य जस्तै मानिने र चाडपर्वमा मनोरञ्जनको साधन बनेको नाटक मञ्चन परम्परा मुर्झाएको थियो । त्यही मुर्झाएको नाटकलाई राजधानीमा गुरुकुल, मण्डला, शिल्पी जस्ता थिएटरले जगाए । यता हाम्रो सीमान्त सहर काँकरभिट्टामा नाटक जगाउने काम परिवर्तन थिएटरले गरेको छ । आज परिवर्तन थिएटर पूर्वमा मात्र होइन देशमै सुनाम बन्दै छ । परिवर्तन थिएटर काँकरभिट्टाको परिचय बनेको छ ।
नेपालमा लोपोन्मूख अवस्थामा रहेका निमुखा किसान जातिको जीवन भोगाइ र कठिनाइ चित्रण गरिएको सुकुम्वासी राजानाटकको शीर्षक नै विसङ्गत छ । जीवन र समाज पनि कहाँ सङ्गत छ र ! शासक, मालिक, विष्णुका अवतार जस्ता राजाका बिम्ब बोकेका हामी नाटकमा हेर्दै थियौँ राजा बनाउने सामाजिक प्रचलन भएको किसान जातिको जमिनदार राजा सुकुम्वासी भएको । परस्परमा विपरीत बोध हुने यी शब्द विशेषण र विशेष्य बन्दै थिए । वास्तविक जीवन र समाजमा बनेका छन् ।
परिवर्तन थिएटरका साथीहरुको नाटकको विषय वस्तु छनोट गजब लाग्छ । तिनीहरु रुपकका माध्यमबाट स्पेस खोजिरहेछन् । साहित्य विश्लेषणात्मक चिन्तन र आलोचनात्मक चेतना निर्माण गर्ने महत्त्वपूर्ण साधन हो । नाट्य साहित्यको औचित्य मञ्चनमा पूर्ण हुने भएकाले निरक्षरहरुमाा आलोचनात्मक चेतना निर्माण गर्न प्रभावकारी हुन्छ । टुप्पाबाट इतिहास (हिस्ट्री फ्रम एबोभ) लेख्ने परम्परा विरुद्ध तिनीहरु हस्तक्षेप गर्दै तलबाट इतिहास (हिस्ट्री फ्रम बिलो) लेख्ने जमर्काे गरिरहे छन् ।
इतिहासविजेताको लेखिन्छ । शक्तिशालीको लेखिन्छ । शासकको लेखिन्छ । प्रभूत्व वर्गले निर्माण गरेका मानकभित्र लेखिन्छ भन्ने परम्परागत मान्यता र त्यही मान्यताको हेजिमोनीलाई सत्य मान्ने विरुद्ध परिवर्तन थियटर औँलो उठाएर प्रश्न गर्दै छ । ज्ञान निर्माण र पुनर्निर्माण गर्नेहरु प्रमाणका ठेली बोकेर बसेका छन् । शिलालेख, ताम्रपत्र, भोजपत्र आदिमा शासकले शासितलाई कुँद्न लगाएर आफ्ना नाम लेख्ने इतिहास मात्र इतिहास हुने तर हजारौँ, लाखौँ निमुखाहरुको श्रम, पसिना, रगत र आँसु इतिहास नबन्ने परम्परा भत्काएर इतिहास विनिर्माण गर्न लागि परेको छ परिवर्तन थिएटर । यसैको एउटा जब्बर प्रयास हो सुकुम्वासी राजानाटक ।
पूर्वीय साहित्यका नाटकका प्रवर्तक, संस्कृत साहित्य शास्त्रका नाट्य चिन्तक भरतमुनिको नाट्यशास्त्रका सबै मान्यता भत्किएका छन् सुकुम्वासी राजानाटकमा । विश्व विद्यालयबाट साहित्य शास्त्र पढेका बुद्धिजीवीहरुले यसलाई नाटक नमान्लान् किनकि यसमा भरतमुनिले नाटकमा अनिवार्य भनेको धीरोदात्त नायक छैनन् । न त उत्तम कुलकी स्वकीया नायिका नै छन् । न त विद्या र युद्धकलामा पारङ्गत नायक नै छन् । न भरतमुनिले आवश्यक ठहर्याएको रसात्मक वाक्य नै छ । छन् त केवल सीमान्तकृत समुदाय, निमुखा, अशिक्षित तर श्रममा विश्वास गर्ने श्रमजीवी । जाति पनि किसान अनि पेसा पनि किसान । जल, जमिन र जङ्गललाई जीवन बाँच्ने एक मात्र आधार मान्ने । परम्परागत ज्ञान र हस्तान्तरित सीप प्रयोग गरेर केवल निस्वार्थ जीवन बाँच्ने आदिवासीहरु ।
कुनै समय नेपालको मैदानी भागमा बसोवास गर्ने आदिवासीहरु यहाँका राजा, देउनिया थिए । सयौँ बिघा जमिन भएका ती जातिहरु आज कसरी भूमिहीन भए भन्ने प्रश्नको उत्तर खोज्ने काम भइरहेछ । खोज्नेको सङ्ख्या सानो छ तर यो निरन्तर बढ्दो छ । परिवर्तन थिएटरका साथीहरुले यसैलाई रुपक बनाए । नाटकको शीर्षक, किसान जातिको बसोवास रहेको परिवेश निर्माण भएको मञ्च र किसान जातिकै भेषमा रहेका पात्र सबैले सबाल्टर्न वर्गको प्रतिनिधित्व गरेका थिए ।

सबाल्टर्न शब्दलाई नेपालीकृत गर्दा निमुखा भन्ने हुन्छ । अज्ञान, धक, लाज, डर आदिका कारणले मौकामा बोल्न नसक्ने सिधासाधा, अशक्त, निर्धो, शक्तिहीन मानिसहरु सबाल्टर्न हुन् । राज्यको मूलधारबाट हुत्याएर किनारमा पुर्याइएका सीमान्तकृत, अशिक्षित, आलोचनात्मक चेतना नभएका, शोषित, हेपिएका र उत्पीडनमा परेका सबै मानिसहरु सबाल्र्टन हुन् । जसलाई प्रभूत्वशाली वर्गले धुलीसात् मान्यो, बनायो तिनै सबाल्टर्न हुन् । केही समय यता नेपालमा सबाल्टर्नहरुलाई भुइँमान्छेपनि भन्न थालिएको छ । यसले आवाज भएर पनि आवाजविहीन र इतिहास भएर पनि इतिहास विहीन वर्गलाई बुझाउँछ ।
राज्यको मूलधारबाट बहिष्करणमा पारिएका तिनै निमुखाहरुको आवाज मुखरित गर्न सबाल्टर्न साहित्य सव्रिmय छ । जसको काम हो, सबाल्टर्न वर्गमा आलोचनात्मक चेतना निर्माण गर्नु । यही काम परिवर्तन थिएटरका साथीहरुले सुकुम्वासी राजानाटकमा गरेका छन् । नव माक्र्सवादी सांस्कृतिक विश्लेषक एन्टोनियो ग्राम्चीले भनेका छन्, “सबाल्टर्न वर्गको इतिहास सम्भ्रान्त वर्गको इतिहास जत्तिकै जटिल र अझ बढी महत्त्वको हुन्छ तर सबाल्टर्न वर्गको इतिहास सम्भ्रान्त वर्गको दमनकारी शक्तिका कारण अलिखित मिथक जस्तो हुन्छ ।सुकुम्वासी राजा नाटकको कथानक र पात्र रेडियो बात्यस्तै मिथक लाग्छन् । मेचीनगरको इँटाभट्टा क्षेत्रमा यस्तै रेडियो बा प्रवृत्तिका मानिस रहेको अलिखित इतिहास पाइन्छ । यस्तै मिथक जस्तो लाग्ने खण्डित इतिहास पुनर्लेखन गर्ने र अभिनयका माध्यमबाट सबाल्टर्नहरुमा आलोचनात्मक चेतना जगाउने काम भएको छ ।
कुनै समय सयौँ बिघा जमिन भएका तराईका आदिवासीहरुमाथि कस्ता षड्यन्त्र भए ? उनीहरु कसरी सुकुम्वासी भए ? भन्ने कुरा नाटकमा देखाइएको छ । औलो ज्वरोको प्रकोप हुने तराई क्षेत्रमा पहाडका मानिसहरु तराईतिर औँलो देखाउँदा औलोले कुहिन्छ भन्ठान्थे । तर, आज तराईका आदिवासी भूमिपुत्रहरु सुकुम्वासी भएका छन् । पहाडबाट तराईतिर औँल्याउँदा औलोले औँलो कुहिन्छ भन्ने त्रासदीमा बाँचेकाहरु नयाँ जमिनदार भएका छन् । झापाको चर्चित डोमालाल रङ्गशाला कुनै समयका जमिनदार डोमालाल राजवंशीले दिएको जग्गामा बनेको हो तर आज उनका सन्तान भूमिहीन छन् । दोष कसको ? व्यक्तिगतरुपमा यसको दोष तत्कालीन समाजका उच्च जात, धनाढ्य, राज्यसत्ताका आसेपासेहरुलाई लाग्छ । तर मुख्य दोषी राज्यसत्ता नै हो ।
सबाल्टर्नहरु आफू बोल्न सक्दैनन् भन्ने कुरा त यसको अर्थले नै जाहेर गर्छ । सबाल्टर्नहरुलाई बोल्नसक्ने बनाउनु सबाल्टर्न साहित्यको उद्देश्य हो । त्यसैले सबाल्टर्न साहित्यको सुरुवात गैर सबाल्टर्नहरुबाट भएको हो । जसले सबाल्टर्न वर्गको मुक्तिको ढोका खोल्ने प्रयास गर्छन् । कतिपय सन्दर्भमा गैर सबाल्टर्नले रचना गरेको सबाल्टर्न साहित्यमाथि प्रश्न पनि उठाइन्छ । तर, अबको समय व्यक्तिको व्यक्तित्व होइन कृतिको गुणवत्ता महत्त्वपूर्ण हुने हुँदा त्यस्ता प्रश्न सान्दर्भिक मानिँदैनन् । सुकुम्वासी राजा नाटकका सन्दर्भमा पनि यस्ता प्रश्न उठ्लान् । तर, मञ्चन गर्नुअघि गहन अनुसन्धान गरिएको नाटकका सबै दृश्यले प्रमाणित गरेका छन् । त्यसैले यस्तो दुस्साहस नहोला ।
सबाल्टर्न साहित्य रचना गर्ने साहित्यकारहरु अग्र्यानिक बौद्धिक हुन् । बौद्धिक शब्दलाई शब्दकोशहरुले प्राज्ञिक क्षमता र शक्ति प्रयोग गर्नसक्ने सबैलाई बौद्धिक भनी अथ्र्याएका छन् । तर, ग्राम्चीले यसलाई अस्वीकार गर्दै भनेका छन्, “बौद्धिक वर्ग कसले कति पढेलेखेको र कति बौद्धिक शक्ति प्रयोग गर्न सक्छ भन्ने आधारमा होइन, सामाजिक उत्तरदायित्व वहन गरेर सबाल्टर्न वर्गलाई कत्तिको चेतना विस्तारमा उसले योगदान पुर्याएको छ भन्ने आधारमा मापन गर्नु पर्छ । दिमागको प्रयोग गर्दैमा बौद्धिक मान्न सकिँदैन, त्यो त सबै सचेत प्राणीले गर्छ । वास्तविक बौद्धिकको कर्म पथ प्रदर्शक, सङ्गठनात्मक र शैक्षिक हुनुपर्छ जुन सबै वुद्धिजीवीले गर्दैनन् ।
ग्राम्चीले बौद्धिकलाई पनि परम्परावादी र जैविक गरी दुई प्रकार भनेका छन् । एउटै प्रकारका ज्ञान पुस्तौँ पुस्तासम्म प्रचार गरिरहने परम्परावादी हुन् । जैविक बौद्धिक समाजमा सव्रिmय गतिविधि सञ्चालन गरिरहेका हुन्छन् । सधैँ केही कदम अघि बढ्ने, ज्ञान र क्षमता परिष्कृत गर्न तल्लीन तथा नवीन चेतनासँग परिचित हुन्छन् । सुकुम्वासी राजानाटक हेरेपछि लाग्यो परिवर्तन थिएटरका साथीहरुले एन्टोनियो ग्राम्चीले भने जस्तो जैविक (अग्र्यानिक) बौद्धिकको कर्म गरिरहेका छन् ।
लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित
http://loktantrapost.com/?p=9617

आत्मबलका योद्धा अर्जुन तिम्सिना

आत्मबलका योद्धा

दामोदर ढुङ्गेल

शारीरिक रुपमा कमजोर भए पनि सधैँ सव्रिmय र फरासिलो हुनु उनको विशेषता हो । नाट्यकला, चिया मजदुर आन्दोलन र नेपाल अपाङ्ग महासङ्घ यी तीन क्षेत्र अर्जुन तिम्सिनाका व्यक्तित्व निर्माणका आधार हुन् । खासगरी चिया मजदुर आन्दोलन र अपाङ्गहरुको हक अधिकारका लागि लड्ने योद्धाका रुपमा उनलाई चिनिन्छ । तर, उनीमा राजनीतिक चेतना निर्माण गर्ने कार्य भने नाट्यकलाले गरेको हो । नाट्यकला उनको जीवनको टर्निङ प्वाइन्ट हो । नाट्यकला आत्म सन्तुष्टि र सामाजिक उत्तरदायित्व थियो उनका लागि तर क्षणिक भइदियो । त्यही क्षणिक नाट्यकलाले जीवनभर अधिकारको लडाइँ लड्ने ठाउँमा पुर्याइदियो ।
२०१७ सालमा जन्मेका अर्जुन तिम्सिनाले धुलाबारी माध्यमिक विद्यालयबाट २०३४ सालमा एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षाका लागि महेन्द्र रत्न क्याम्पस इलाममा भर्ना भए पनि अस्वस्थताका कारण निरन्तरता दिन सकेनन् । धुलाबारी स्वास्थ्य चौकीमा मुखियाको जागिरमा नियुक्त भए । वि. सं. २०३६ मा हालको मेचीनगर नगरपालिका ७ मा अवस्थित सरस्वती प्राथमिक विद्यालयको शिक्षकको रुपमा शिक्षण पेसा सुरु गरेका तिम्सिनालाई उच्च शिक्षा अध्ययनको रुचि भने यथावत थियो ।
ज्यामिरगढीका विष्णुविभु घिमिरे (हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति) सँगको चिनजानपछि उनकै सल्लाहबमोजिम बर्खे बिदामा काठमाडौँ गएछन् । साना जल विद्युत् परियोजनामा खरिदार तहको जागिरमा नियुक्त भएपछि सन्ध्याकालीन कलेजमा भर्ना भए । डिल्ली बजारको डेरा बसाइ, साथमा थिए विष्णुविभू घिमिरे, रमण घिमिरे, राजन शर्मा, अशेष मल्ल । विष्णुविभु र अशेष मल्लको साहित्यिक र राजनीतिक लगाव उनलाई खासै थाहा भएन । वि.सं. २०३९ साउन ६ गते नेपाली काङ्ग्रेसका नेता बीपी कोइरालाको निधन भयो । उक्त दिन डेरा स्तब्ध भयो । कसैले पनि खाना खाने कुरा गरेनन् । अनि पो उनले त्यहाँको राजनीतिक प्रभाव थाहा पाएछन् । डिल्ली बजारको डेराको त्यही सङ्गतले उनलाई राजनीति र नाट्य क्षेत्रमा पुर्यायो ।
पञ्चायत कालीन समय, प्रतिबन्धित अवस्था भए पनि राजनीतिक दलले आफ्ना सङ्गठन विस्तार गरिरहेका थिए । तत्कालीन साहित्यकारहरु पञ्चायत समर्थक र विरोधी दुई खेमामा थिए । विष्णुविभु घिमिरे, अशेष मल्ल जस्ता साहित्यकारहरु निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध थिए । अशेष मल्ल नाट्य क्षेत्रमा काम गरिरहेका थिए । उनले २०३८ मा ‘सर्वनाम’ स्थापना गरेका थिए । अशेष मल्ल निर्देशक, विष्णुविभु घिमिरे संयोजक, रामकृष्ण निराला व्यवस्थापक थिए । त्यसमा किशोर पहाडी, ओममणि शर्मा, गोविन्दसिंह रावत, अर्जुन तिम्सिना जोडिए ।
डिल्ली बजारको डेरामा एक दिन अशेष मल्लले सडक नाटकको बारेमा कुरा गरेछन् । खासमा चाहिँ नाटक घरको खर्च महँगो भएकाले उनले सडकमै नाटक देखाउने विचार गरेका रहेछन् । अर्जुन भन्छन्, ‘वास्तवमा अशेष दाइ कुनै नाट्य प्रयोग कलाबाट प्रभावित भएर त्यसलाई प्रयोग गर्न चाहन्थे ।’

अशेष मल्लले नाटक लेख्ने कुरा निर्णय भयो । नाटक तयार भयो ‘हामी वसन्त खोजिरहेछौँ’ जसलाई समकालीन नेपाली नाटकको एउटा प्रयोग मानिन्छ । यस्तो पहिलो नाटक कहाँ प्रदर्शन गर्ने भन्ने कौतुहल भयो । नाटक पञ्चायती व्यवस्थाको विरुद्ध भएकाले प्रजातान्त्रिक व्यवस्थाका पक्षधर नेताहरुलाई देखाउने भन्ने निर्णय अनुसार चाक्सीबारीमा रहेको गणेशमान सिंहको घरको पटाङ्गिनीमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा नाटक देखाइयो । उक्त नाटकमा अर्जुन तिम्सिनाले अभिनय गरेका थिए । नाटकको प्रमुख भूमिकामा नेपाली नाट्यक्षेत्रलाई जगाउने विशिष्ट व्यक्ति सुनील पोख्रेल थिए ।
नाटक हेरिसकेपछि गिरिजाप्रसाद कोइरालाले उक्त नाटक प्रजातान्त्रिक चेतना जगाउन सकेसम्म धेरै ठाउँमा प्रदर्शन गर्न भनेछन् । त्यसपछि त्रिभुवन विश्वविद्यालय परिसरमा उक्त नाटक प्रदर्शन गरियो । सर्वनाम नाट्य समूहलाई एक स्विस संस्थाले सहयोग गरेपछि लामो साँघु जिरीमा नाटक प्रदर्शन गर्न काठमाडौँबाट कलाकार लिएर हिँडेको गाडी काभ्रे पाँचखालमा दुर्घटना भयो २०४२ जेठ २७ गते । उक्त दुर्घटनामा परेका अर्जुन तिम्सिनाको २०४२ असार ६ गते होस खुल्यो वीर हस्पिटलको आकस्मिक कक्षमा । उनी भन्छन्, ‘त्यो दिन राजदरबार दक्षिण ढोकामा बम पड्काइएको रहेछ । त्यसैको आवाजले म ब्युँझेछु ।’ निरन्तर ६ महिनाको उपचारपछि उनी घर झापा फर्किए दुबै खुट्टा नचल्ने भएर बैसाखीको सहारामा ।
दुर्घटनामा परेपछि साना जल विद्युत्को जागिर बेतलबीमा थियो । त्यो जागिर उनले भनसुन गरेर नेपाल चिया विकास निगमअन्तर्गत टोकला चिया कमानमा सरुवा गराए । साथीभाइको सहारामा चिया बगानको कार्यालयीय दिनचर्या सुरु भयो उनको । राजनीति बुझेका अर्जुन तिम्सिना २०४६ सालको आन्दोलनपछि चिया श्रमिकहरुको नाजुक अवस्था बुझेर त्यस विरुद्ध जागरुक भए । यसका लागि उनले नेपाल चिया बगान श्रमिक सङ्घ गठन गरेर त्यसको अध्यक्ष भई नेतृत्व गरे । त्यतिबेला सरकारले चिया मजदुरको दैनिक ज्याला रु.३२ तोकेको थियो तर मजदुरले रु.२५ मात्र पाउँथे । संयुक्त मजदुर आन्दोलन भयो । सरकारसँग वार्ता भयो तर २७ रुपैयाँ पचास पैसामा सहमत गर्ने कुरा भयो । अर्जुन तिम्सिनाले हस्ताक्षर गर्न मानेनन् ।
सरकारी चिया बगानमा कार्यरत मजदुरलाई सरकारले तोकेकै ज्याला नदिने कानुनी राज्यको विरुद्धमा उनले लड्ने विचार गरे । अनि सुरु गरे नेपाल चिया विकास निगमको कार्यालय धुलाबारी परिसरमा आमरण अनसन । आठ दिनको आमरण अनसनपछि सरकार आफूले तोकेको ज्याला मजदुरलाई दिन सहमत भयो । चिया बगानमा काम गर्ने एक अफिसियल कर्मचारी आफ्ना लागि होइन मजदुरका लागि लडेको अनौठो घटना थियो । कमजोर शरीर भए पनि मजदुरका हक अधिकार स्थापनाका लागि अनसन बसेर उनले शरीरभन्दा आत्मबल ठुलो हुन्छ भन्ने सन्देश दिए । यस व्रmममा उनले चिया मजदुरलाई नियुक्ति पत्र दिलाउने, तलब वृद्धि, उपचार खर्च, उपदान दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसको विधान निर्माण गर्ने कार्यमा उनको विशिष्ट भूमिका रह्यो । त्यस व्रmममा देखाएको विशिष्ट प्रतिभाका कारण उनले इटलीमा डिप्लोमा इन इन्टरनेसनल ट्रेड इकोनोमिक्स विशेष कोर्सका लागि छात्रवृत्ति प्राप्त गरे ।

वि.सं २०५७ मा झापामा नेपाल अपाङ्ग महासङ्घको कार्यव्रmम थियो । त्यो कार्यव्रmममा अर्जुन तिम्सिनालाई बोलाइएको रहेछ । उनले चियामजदुरको हक अधिकार स्थापनाका लागि गरेको सङ्घर्ष बुझेका अपाङ्ग महासङ्घका पदाधिकारीले उनलाई केन्द्रमा आउन आग्रह गरे । त्यही बेला नेपाल चिया विकास निगमलाई सरकारले निजी क्षेत्रलाई सञ्चालन गर्न दियो । निजीकरण भएपछि कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिइयो । स्वेच्छिक अवकाश रोजेर उनी सपरिवार काठमाडौँ लागे । अर्जुन तिम्सिना नेपाल अपाङ्ग महासङ्घको केन्द्रीय उपाध्यक्ष भए साथै अपाङ्ग महासङ्घको एक परियोजनामा वैतनिक भई काम पनि गरे । अब उनको ध्यान अपाङ्गहरुको अधिकार स्थापनातर्फ मोडियो । अधिकारको लडाइँ लड्न अभ्यस्त अर्जुन तिम्सिनाले अपाङ्ग महासङ्घमा रहेर अपाङ्गहरुलाई सरकारी सेवामा आरक्षणको व्यवस्था, परिचय पत्र दिलाउन, सार्वजनिक यातायातमा सिट आरक्षण जस्ता अधिकार दिलाउन सफल भए ।
त्यत्रो ठुलो दुर्घटनामा परेर आधा शरीर नचल्ने भएको थाहा पाउँदाको अवस्था सम्झिनु हुन्छ भन्ने मेरो जिज्ञासामा उनी गम्भीर भए अनि भने, ‘सुरुमा त पत्यार नै लागेन ।’ दुबै खुट्टा चिमोट्दै भने, ‘जब खुट्टाले केही थाहा पाएन अनि मात्र पत्याएँ । वास्तवमा मानिसका लागि सबैभन्दा ठुलो कुरा सङ्गत र पारिवारिक सहयोग रहेछ । विष्णु दाइसँगको भेटघाट, सर्वनाम समूहमा आबद्धता, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुको हौसलाले मलाई जीवनमा सधैँ सकारात्मक बनेर सङ्घर्ष गर्ने प्रेरणा दियो । त्यही प्रेरणाले मलाई शारीरिक बलभन्दा आत्मबल ठुलो रहेछ भन्ने ज्ञान दियो, जुन मेरो जीवन दर्शन हो ।’
लोकतन्त्र पोस्ट दैनिक वैशाख २२ मा प्रकाशित
http://loktantrapost.com/?p=12525

कस्ले राम्रो भन्छ ? (मुक्तक)

 सञ्जालमा फोहोर गरेपछि कस्ले राम्रो भन्छ ? कर्मयोगीलाई मुख छोडेपछि कस्ले राम्रो भन्छ ?  दुनियाँको उन्नति र प्रगतिमा आफैँ जलेपछि आफ्नै कुण्ठा...