‘सुकुम्वासी राजा’ सबाल्टर्न चेतना
दामोदर ढुङ्गेल
गत
बुधवार परिवर्तन थिएटरले निर्माण गरेको र मञ्चन गरेको नाटक ‘सुकुम्वासी राजा’ हेर्ने अवसर मिल्यो ।
कुनै समय विद्यालयका औपचारिक कार्यक्रममा अनिवार्य जस्तै मानिने र चाडपर्वमा
मनोरञ्जनको साधन बनेको नाटक मञ्चन परम्परा मुर्झाएको थियो । त्यही मुर्झाएको
नाटकलाई राजधानीमा गुरुकुल, मण्डला, शिल्पी जस्ता थिएटरले
जगाए । यता हाम्रो सीमान्त सहर काँकरभिट्टामा नाटक जगाउने काम परिवर्तन थिएटरले
गरेको छ । आज परिवर्तन थिएटर पूर्वमा मात्र होइन देशमै सुनाम बन्दै छ । परिवर्तन
थिएटर काँकरभिट्टाको परिचय बनेको छ ।
नेपालमा
लोपोन्मूख अवस्थामा रहेका निमुखा किसान जातिको जीवन भोगाइ र कठिनाइ चित्रण गरिएको ‘सुकुम्वासी राजा’ नाटकको शीर्षक नै
विसङ्गत छ । जीवन र समाज पनि कहाँ सङ्गत छ र ! शासक, मालिक, विष्णुका अवतार जस्ता
राजाका बिम्ब बोकेका हामी नाटकमा हेर्दै थियौँ राजा बनाउने सामाजिक प्रचलन भएको
किसान जातिको जमिनदार राजा सुकुम्वासी भएको । परस्परमा विपरीत बोध हुने यी शब्द
विशेषण र विशेष्य बन्दै थिए । वास्तविक जीवन र समाजमा बनेका छन् ।
परिवर्तन
थिएटरका साथीहरुको नाटकको विषय वस्तु छनोट गजब लाग्छ । तिनीहरु रुपकका माध्यमबाट
स्पेस खोजिरहेछन् । साहित्य विश्लेषणात्मक चिन्तन र आलोचनात्मक चेतना निर्माण
गर्ने महत्त्वपूर्ण साधन हो । नाट्य साहित्यको औचित्य मञ्चनमा पूर्ण हुने भएकाले
निरक्षरहरुमाा आलोचनात्मक चेतना निर्माण गर्न प्रभावकारी हुन्छ । टुप्पाबाट इतिहास
(हिस्ट्री फ्रम एबोभ) लेख्ने परम्परा विरुद्ध तिनीहरु हस्तक्षेप गर्दै तलबाट
इतिहास (हिस्ट्री फ्रम बिलो) लेख्ने जमर्काे गरिरहे छन् ।
‘इतिहास’ विजेताको लेखिन्छ ।
शक्तिशालीको लेखिन्छ । शासकको लेखिन्छ । प्रभूत्व वर्गले निर्माण गरेका मानकभित्र
लेखिन्छ भन्ने परम्परागत मान्यता र त्यही मान्यताको हेजिमोनीलाई सत्य मान्ने
विरुद्ध परिवर्तन थियटर औँलो उठाएर प्रश्न गर्दै छ । ज्ञान निर्माण र पुनर्निर्माण
गर्नेहरु प्रमाणका ठेली बोकेर बसेका छन् । शिलालेख, ताम्रपत्र, भोजपत्र आदिमा शासकले
शासितलाई कुँद्न लगाएर आफ्ना नाम लेख्ने इतिहास मात्र इतिहास हुने तर हजारौँ, लाखौँ निमुखाहरुको श्रम, पसिना, रगत र आँसु इतिहास
नबन्ने परम्परा भत्काएर इतिहास विनिर्माण गर्न लागि परेको छ परिवर्तन थिएटर ।
यसैको एउटा जब्बर प्रयास हो ‘सुकुम्वासी राजा’ नाटक ।
पूर्वीय
साहित्यका नाटकका प्रवर्तक, संस्कृत
साहित्य शास्त्रका नाट्य चिन्तक भरतमुनिको ‘नाट्यशास्त्र’का सबै मान्यता
भत्किएका छन् ‘सुकुम्वासी
राजा’ नाटकमा
। विश्व विद्यालयबाट साहित्य शास्त्र पढेका बुद्धिजीवीहरुले यसलाई नाटक नमान्लान्
किनकि यसमा भरतमुनिले नाटकमा अनिवार्य भनेको धीरोदात्त नायक छैनन् । न त उत्तम
कुलकी स्वकीया नायिका नै छन् । न त विद्या र युद्धकलामा पारङ्गत नायक नै छन् । न
भरतमुनिले आवश्यक ठहर्याएको रसात्मक वाक्य नै छ । छन् त केवल सीमान्तकृत समुदाय, निमुखा, अशिक्षित तर श्रममा
विश्वास गर्ने श्रमजीवी । जाति पनि किसान अनि पेसा पनि किसान । जल, जमिन र जङ्गललाई जीवन
बाँच्ने एक मात्र आधार मान्ने । परम्परागत ज्ञान र हस्तान्तरित सीप प्रयोग गरेर
केवल निस्वार्थ जीवन बाँच्ने आदिवासीहरु ।
कुनै
समय नेपालको मैदानी भागमा बसोवास गर्ने आदिवासीहरु यहाँका राजा, देउनिया थिए । सयौँ
बिघा जमिन भएका ती जातिहरु आज कसरी भूमिहीन भए भन्ने प्रश्नको उत्तर खोज्ने काम
भइरहेछ । खोज्नेको सङ्ख्या सानो छ तर यो निरन्तर बढ्दो छ । परिवर्तन थिएटरका
साथीहरुले यसैलाई रुपक बनाए । नाटकको शीर्षक, किसान जातिको बसोवास
रहेको परिवेश निर्माण भएको मञ्च र किसान जातिकै भेषमा रहेका पात्र सबैले सबाल्टर्न
वर्गको प्रतिनिधित्व गरेका थिए ।
सबाल्टर्न
शब्दलाई नेपालीकृत गर्दा निमुखा भन्ने हुन्छ । अज्ञान, धक, लाज, डर आदिका कारणले मौकामा
बोल्न नसक्ने सिधासाधा, अशक्त, निर्धो, शक्तिहीन मानिसहरु
सबाल्टर्न हुन् । राज्यको मूलधारबाट हुत्याएर किनारमा पुर्याइएका सीमान्तकृत, अशिक्षित, आलोचनात्मक चेतना नभएका, शोषित, हेपिएका र उत्पीडनमा
परेका सबै मानिसहरु सबाल्र्टन हुन् । जसलाई प्रभूत्वशाली वर्गले धुलीसात् मान्यो, बनायो तिनै सबाल्टर्न
हुन् । केही समय यता नेपालमा सबाल्टर्नहरुलाई ‘भुइँमान्छे’ पनि भन्न थालिएको छ ।
यसले आवाज भएर पनि आवाजविहीन र इतिहास भएर पनि इतिहास विहीन वर्गलाई बुझाउँछ ।
राज्यको
मूलधारबाट बहिष्करणमा पारिएका तिनै निमुखाहरुको आवाज मुखरित गर्न सबाल्टर्न
साहित्य सव्रिmय
छ । जसको काम हो, सबाल्टर्न
वर्गमा आलोचनात्मक चेतना निर्माण गर्नु । यही काम परिवर्तन थिएटरका साथीहरुले ‘सुकुम्वासी राजा’ नाटकमा गरेका छन् । नव
माक्र्सवादी सांस्कृतिक विश्लेषक एन्टोनियो ग्राम्चीले भनेका छन्, “सबाल्टर्न वर्गको
इतिहास सम्भ्रान्त वर्गको इतिहास जत्तिकै जटिल र अझ बढी महत्त्वको हुन्छ तर
सबाल्टर्न वर्गको इतिहास सम्भ्रान्त वर्गको दमनकारी शक्तिका कारण अलिखित मिथक
जस्तो हुन्छ ।” सुकुम्वासी
राजा नाटकको कथानक र पात्र ‘रेडियो बा’ त्यस्तै मिथक लाग्छन् ।
मेचीनगरको इँटाभट्टा क्षेत्रमा यस्तै रेडियो बा प्रवृत्तिका मानिस रहेको अलिखित
इतिहास पाइन्छ । यस्तै मिथक जस्तो लाग्ने खण्डित इतिहास पुनर्लेखन गर्ने र अभिनयका
माध्यमबाट सबाल्टर्नहरुमा आलोचनात्मक चेतना जगाउने काम भएको छ ।
कुनै
समय सयौँ बिघा जमिन भएका तराईका आदिवासीहरुमाथि कस्ता षड्यन्त्र भए ? उनीहरु कसरी सुकुम्वासी
भए ? भन्ने
कुरा नाटकमा देखाइएको छ । औलो ज्वरोको प्रकोप हुने तराई क्षेत्रमा पहाडका मानिसहरु
तराईतिर औँलो देखाउँदा औलोले कुहिन्छ भन्ठान्थे । तर, आज तराईका आदिवासी
भूमिपुत्रहरु सुकुम्वासी भएका छन् । पहाडबाट तराईतिर औँल्याउँदा औलोले औँलो
कुहिन्छ भन्ने त्रासदीमा बाँचेकाहरु नयाँ जमिनदार भएका छन् । झापाको चर्चित
डोमालाल रङ्गशाला कुनै समयका जमिनदार डोमालाल राजवंशीले दिएको जग्गामा बनेको हो तर
आज उनका सन्तान भूमिहीन छन् । दोष कसको ? व्यक्तिगतरुपमा यसको
दोष तत्कालीन समाजका उच्च जात, धनाढ्य, राज्यसत्ताका
आसेपासेहरुलाई लाग्छ । तर मुख्य दोषी राज्यसत्ता नै हो ।
सबाल्टर्नहरु
आफू बोल्न सक्दैनन् भन्ने कुरा त यसको अर्थले नै जाहेर गर्छ । सबाल्टर्नहरुलाई
बोल्नसक्ने बनाउनु सबाल्टर्न साहित्यको उद्देश्य हो । त्यसैले सबाल्टर्न साहित्यको
सुरुवात गैर सबाल्टर्नहरुबाट भएको हो । जसले सबाल्टर्न वर्गको मुक्तिको ढोका
खोल्ने प्रयास गर्छन् । कतिपय सन्दर्भमा गैर सबाल्टर्नले रचना गरेको सबाल्टर्न
साहित्यमाथि प्रश्न पनि उठाइन्छ । तर, अबको समय व्यक्तिको
व्यक्तित्व होइन कृतिको गुणवत्ता महत्त्वपूर्ण हुने हुँदा त्यस्ता प्रश्न
सान्दर्भिक मानिँदैनन् । सुकुम्वासी राजा नाटकका सन्दर्भमा पनि यस्ता प्रश्न
उठ्लान् । तर, मञ्चन
गर्नुअघि गहन अनुसन्धान गरिएको नाटकका सबै दृश्यले प्रमाणित गरेका छन् । त्यसैले
यस्तो दुस्साहस नहोला ।
सबाल्टर्न
साहित्य रचना गर्ने साहित्यकारहरु अग्र्यानिक बौद्धिक हुन् । बौद्धिक शब्दलाई
शब्दकोशहरुले प्राज्ञिक क्षमता र शक्ति प्रयोग गर्नसक्ने सबैलाई बौद्धिक भनी
अथ्र्याएका छन् । तर, ग्राम्चीले
यसलाई अस्वीकार गर्दै भनेका छन्, “बौद्धिक वर्ग कसले कति
पढेलेखेको र कति बौद्धिक शक्ति प्रयोग गर्न सक्छ भन्ने आधारमा होइन, सामाजिक उत्तरदायित्व
वहन गरेर सबाल्टर्न वर्गलाई कत्तिको चेतना विस्तारमा उसले योगदान पुर्याएको छ
भन्ने आधारमा मापन गर्नु पर्छ । दिमागको प्रयोग गर्दैमा बौद्धिक मान्न सकिँदैन, त्यो त सबै सचेत
प्राणीले गर्छ । वास्तविक बौद्धिकको कर्म पथ प्रदर्शक, सङ्गठनात्मक र शैक्षिक
हुनुपर्छ जुन सबै वुद्धिजीवीले गर्दैनन् ।”
ग्राम्चीले
बौद्धिकलाई पनि परम्परावादी र जैविक गरी दुई प्रकार भनेका छन् । एउटै प्रकारका
ज्ञान पुस्तौँ पुस्तासम्म प्रचार गरिरहने परम्परावादी हुन् । जैविक बौद्धिक समाजमा
सव्रिmय
गतिविधि सञ्चालन गरिरहेका हुन्छन् । सधैँ केही कदम अघि बढ्ने, ज्ञान र क्षमता
परिष्कृत गर्न तल्लीन तथा नवीन चेतनासँग परिचित हुन्छन् । ‘सुकुम्वासी राजा’ नाटक हेरेपछि लाग्यो
परिवर्तन थिएटरका साथीहरुले एन्टोनियो ग्राम्चीले भने जस्तो जैविक (अग्र्यानिक)
बौद्धिकको कर्म गरिरहेका छन् ।
लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित
http://loktantrapost.com/?p=9617



No comments:
Post a Comment