शारीरिक रुपमा कमजोर भए पनि सधैँ सव्रिmय र फरासिलो हुनु उनको विशेषता हो । नाट्यकला, चिया मजदुर आन्दोलन र नेपाल अपाङ्ग महासङ्घ यी तीन क्षेत्र अर्जुन तिम्सिनाका व्यक्तित्व निर्माणका आधार हुन् । खासगरी चिया मजदुर आन्दोलन र अपाङ्गहरुको हक अधिकारका लागि लड्ने योद्धाका रुपमा उनलाई चिनिन्छ । तर, उनीमा राजनीतिक चेतना निर्माण गर्ने कार्य भने नाट्यकलाले गरेको हो । नाट्यकला उनको जीवनको टर्निङ प्वाइन्ट हो । नाट्यकला आत्म सन्तुष्टि र सामाजिक उत्तरदायित्व थियो उनका लागि तर क्षणिक भइदियो । त्यही क्षणिक नाट्यकलाले जीवनभर अधिकारको लडाइँ लड्ने ठाउँमा पुर्याइदियो ।
२०१७ सालमा जन्मेका अर्जुन तिम्सिनाले धुलाबारी माध्यमिक विद्यालयबाट २०३४ सालमा एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षाका लागि महेन्द्र रत्न क्याम्पस इलाममा भर्ना भए पनि अस्वस्थताका कारण निरन्तरता दिन सकेनन् । धुलाबारी स्वास्थ्य चौकीमा मुखियाको जागिरमा नियुक्त भए । वि. सं. २०३६ मा हालको मेचीनगर नगरपालिका ७ मा अवस्थित सरस्वती प्राथमिक विद्यालयको शिक्षकको रुपमा शिक्षण पेसा सुरु गरेका तिम्सिनालाई उच्च शिक्षा अध्ययनको रुचि भने यथावत थियो ।
ज्यामिरगढीका विष्णुविभु घिमिरे (हाल नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति) सँगको चिनजानपछि उनकै सल्लाहबमोजिम बर्खे बिदामा काठमाडौँ गएछन् । साना जल विद्युत् परियोजनामा खरिदार तहको जागिरमा नियुक्त भएपछि सन्ध्याकालीन कलेजमा भर्ना भए । डिल्ली बजारको डेरा बसाइ, साथमा थिए विष्णुविभू घिमिरे, रमण घिमिरे, राजन शर्मा, अशेष मल्ल । विष्णुविभु र अशेष मल्लको साहित्यिक र राजनीतिक लगाव उनलाई खासै थाहा भएन । वि.सं. २०३९ साउन ६ गते नेपाली काङ्ग्रेसका नेता बीपी कोइरालाको निधन भयो । उक्त दिन डेरा स्तब्ध भयो । कसैले पनि खाना खाने कुरा गरेनन् । अनि पो उनले त्यहाँको राजनीतिक प्रभाव थाहा पाएछन् । डिल्ली बजारको डेराको त्यही सङ्गतले उनलाई राजनीति र नाट्य क्षेत्रमा पुर्यायो ।
पञ्चायत कालीन समय, प्रतिबन्धित अवस्था भए पनि राजनीतिक दलले आफ्ना सङ्गठन विस्तार गरिरहेका थिए । तत्कालीन साहित्यकारहरु पञ्चायत समर्थक र विरोधी दुई खेमामा थिए । विष्णुविभु घिमिरे, अशेष मल्ल जस्ता साहित्यकारहरु निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध थिए । अशेष मल्ल नाट्य क्षेत्रमा काम गरिरहेका थिए । उनले २०३८ मा ‘सर्वनाम’ स्थापना गरेका थिए । अशेष मल्ल निर्देशक, विष्णुविभु घिमिरे संयोजक, रामकृष्ण निराला व्यवस्थापक थिए । त्यसमा किशोर पहाडी, ओममणि शर्मा, गोविन्दसिंह रावत, अर्जुन तिम्सिना जोडिए ।
डिल्ली बजारको डेरामा एक दिन अशेष मल्लले सडक नाटकको बारेमा कुरा गरेछन् । खासमा चाहिँ नाटक घरको खर्च महँगो भएकाले उनले सडकमै नाटक देखाउने विचार गरेका रहेछन् । अर्जुन भन्छन्, ‘वास्तवमा अशेष दाइ कुनै नाट्य प्रयोग कलाबाट प्रभावित भएर त्यसलाई प्रयोग गर्न चाहन्थे ।’
अशेष मल्लले नाटक लेख्ने कुरा निर्णय भयो । नाटक तयार भयो ‘हामी वसन्त खोजिरहेछौँ’ जसलाई समकालीन नेपाली नाटकको एउटा प्रयोग मानिन्छ । यस्तो पहिलो नाटक कहाँ प्रदर्शन गर्ने भन्ने कौतुहल भयो । नाटक पञ्चायती व्यवस्थाको विरुद्ध भएकाले प्रजातान्त्रिक व्यवस्थाका पक्षधर नेताहरुलाई देखाउने भन्ने निर्णय अनुसार चाक्सीबारीमा रहेको गणेशमान सिंहको घरको पटाङ्गिनीमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा नाटक देखाइयो । उक्त नाटकमा अर्जुन तिम्सिनाले अभिनय गरेका थिए । नाटकको प्रमुख भूमिकामा नेपाली नाट्यक्षेत्रलाई जगाउने विशिष्ट व्यक्ति सुनील पोख्रेल थिए ।
नाटक हेरिसकेपछि गिरिजाप्रसाद कोइरालाले उक्त नाटक प्रजातान्त्रिक चेतना जगाउन सकेसम्म धेरै ठाउँमा प्रदर्शन गर्न भनेछन् । त्यसपछि त्रिभुवन विश्वविद्यालय परिसरमा उक्त नाटक प्रदर्शन गरियो । सर्वनाम नाट्य समूहलाई एक स्विस संस्थाले सहयोग गरेपछि लामो साँघु जिरीमा नाटक प्रदर्शन गर्न काठमाडौँबाट कलाकार लिएर हिँडेको गाडी काभ्रे पाँचखालमा दुर्घटना भयो २०४२ जेठ २७ गते । उक्त दुर्घटनामा परेका अर्जुन तिम्सिनाको २०४२ असार ६ गते होस खुल्यो वीर हस्पिटलको आकस्मिक कक्षमा । उनी भन्छन्, ‘त्यो दिन राजदरबार दक्षिण ढोकामा बम पड्काइएको रहेछ । त्यसैको आवाजले म ब्युँझेछु ।’ निरन्तर ६ महिनाको उपचारपछि उनी घर झापा फर्किए दुबै खुट्टा नचल्ने भएर बैसाखीको सहारामा ।
दुर्घटनामा परेपछि साना जल विद्युत्को जागिर बेतलबीमा थियो । त्यो जागिर उनले भनसुन गरेर नेपाल चिया विकास निगमअन्तर्गत टोकला चिया कमानमा सरुवा गराए । साथीभाइको सहारामा चिया बगानको कार्यालयीय दिनचर्या सुरु भयो उनको । राजनीति बुझेका अर्जुन तिम्सिना २०४६ सालको आन्दोलनपछि चिया श्रमिकहरुको नाजुक अवस्था बुझेर त्यस विरुद्ध जागरुक भए । यसका लागि उनले नेपाल चिया बगान श्रमिक सङ्घ गठन गरेर त्यसको अध्यक्ष भई नेतृत्व गरे । त्यतिबेला सरकारले चिया मजदुरको दैनिक ज्याला रु.३२ तोकेको थियो तर मजदुरले रु.२५ मात्र पाउँथे । संयुक्त मजदुर आन्दोलन भयो । सरकारसँग वार्ता भयो तर २७ रुपैयाँ पचास पैसामा सहमत गर्ने कुरा भयो । अर्जुन तिम्सिनाले हस्ताक्षर गर्न मानेनन् ।
सरकारी चिया बगानमा कार्यरत मजदुरलाई सरकारले तोकेकै ज्याला नदिने कानुनी राज्यको विरुद्धमा उनले लड्ने विचार गरे । अनि सुरु गरे नेपाल चिया विकास निगमको कार्यालय धुलाबारी परिसरमा आमरण अनसन । आठ दिनको आमरण अनसनपछि सरकार आफूले तोकेको ज्याला मजदुरलाई दिन सहमत भयो । चिया बगानमा काम गर्ने एक अफिसियल कर्मचारी आफ्ना लागि होइन मजदुरका लागि लडेको अनौठो घटना थियो । कमजोर शरीर भए पनि मजदुरका हक अधिकार स्थापनाका लागि अनसन बसेर उनले शरीरभन्दा आत्मबल ठुलो हुन्छ भन्ने सन्देश दिए । यस व्रmममा उनले चिया मजदुरलाई नियुक्ति पत्र दिलाउने, तलब वृद्धि, उपचार खर्च, उपदान दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसको विधान निर्माण गर्ने कार्यमा उनको विशिष्ट भूमिका रह्यो । त्यस व्रmममा देखाएको विशिष्ट प्रतिभाका कारण उनले इटलीमा डिप्लोमा इन इन्टरनेसनल ट्रेड इकोनोमिक्स विशेष कोर्सका लागि छात्रवृत्ति प्राप्त गरे ।
वि.सं २०५७ मा झापामा नेपाल अपाङ्ग महासङ्घको कार्यव्रmम थियो । त्यो कार्यव्रmममा अर्जुन तिम्सिनालाई बोलाइएको रहेछ । उनले चियामजदुरको हक अधिकार स्थापनाका लागि गरेको सङ्घर्ष बुझेका अपाङ्ग महासङ्घका पदाधिकारीले उनलाई केन्द्रमा आउन आग्रह गरे । त्यही बेला नेपाल चिया विकास निगमलाई सरकारले निजी क्षेत्रलाई सञ्चालन गर्न दियो । निजीकरण भएपछि कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिइयो । स्वेच्छिक अवकाश रोजेर उनी सपरिवार काठमाडौँ लागे । अर्जुन तिम्सिना नेपाल अपाङ्ग महासङ्घको केन्द्रीय उपाध्यक्ष भए साथै अपाङ्ग महासङ्घको एक परियोजनामा वैतनिक भई काम पनि गरे । अब उनको ध्यान अपाङ्गहरुको अधिकार स्थापनातर्फ मोडियो । अधिकारको लडाइँ लड्न अभ्यस्त अर्जुन तिम्सिनाले अपाङ्ग महासङ्घमा रहेर अपाङ्गहरुलाई सरकारी सेवामा आरक्षणको व्यवस्था, परिचय पत्र दिलाउन, सार्वजनिक यातायातमा सिट आरक्षण जस्ता अधिकार दिलाउन सफल भए ।
त्यत्रो ठुलो दुर्घटनामा परेर आधा शरीर नचल्ने भएको थाहा पाउँदाको अवस्था सम्झिनु हुन्छ भन्ने मेरो जिज्ञासामा उनी गम्भीर भए अनि भने, ‘सुरुमा त पत्यार नै लागेन ।’ दुबै खुट्टा चिमोट्दै भने, ‘जब खुट्टाले केही थाहा पाएन अनि मात्र पत्याएँ । वास्तवमा मानिसका लागि सबैभन्दा ठुलो कुरा सङ्गत र पारिवारिक सहयोग रहेछ । विष्णु दाइसँगको भेटघाट, सर्वनाम समूहमा आबद्धता, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुको हौसलाले मलाई जीवनमा सधैँ सकारात्मक बनेर सङ्घर्ष गर्ने प्रेरणा दियो । त्यही प्रेरणाले मलाई शारीरिक बलभन्दा आत्मबल ठुलो रहेछ भन्ने ज्ञान दियो, जुन मेरो जीवन दर्शन हो ।’
लोकतन्त्र पोस्ट दैनिक वैशाख २२ मा प्रकाशित
http://loktantrapost.com/?p=12525

No comments:
Post a Comment