अठ्ठा जोकर बनाउने रुदाने
दामोदर ढुङ्गेल

दामोदर ढुङ्गेल
पृथ्वीनारायण शाहदेखि वीरेन्द्रको पुस्तासम्मको वंशावली र तिनका आसेपासेका स्तुतिलाई इतिहास भनेर पढाइयो, पढियो । नाम र मिति घोक्नु अनि तिनले बनाएका दरबारलाई विकास कार्य भनी ऐतिहासिक गौरव ठान्दै बित्यो विद्यालय शिक्षा । कलेज लेभलमा पुगेपछि पनि यो प्रवृत्ति फरक भएको पाइएन । त्यहाँ त गाँठे युवा मस्तिष्कलाई यथास्थितिमै कैद गर्ने खालेका सामग्री मात्र पो थिए । यता देशभित्रको भेदभाव, गरिबी, शोषण, कुपोषण, एकात्मक शासन व्यवस्थाले डामेर किनारमा पुर्याइएकाको अश्रुमिश्रित व्रmन्दन थियो । तर, साहित्यमा हामी पढ्थ्यौँ माध्यमिक कालीन (वि सं. १९४१ देखि १९७४ सम्म लेखिएका कृति) साहित्य मोतीराम भट्टको शृङ्गारिक गजल “मलाई क्या क्या छकाये ।”
पछिल्लो समय नेपालको लिखित इतिहासमाथि प्रश्न उठाउने जमात बढ्दो छ । विगतमा पनि यस्तो प्रयास नभएको होइन तर ती तत्कालीन शासन व्यवस्थाका कारण विस्तार हुन सकेनछ । इतिहास पुनर्लेखनको आवाजको भोल्युम बढ्दो छ । बहस घनीभूत चल्दो छ । सीमान्त समुदाय आफ्नो हक र पहिचान खोज्न उद्यत् छ । अब पहिचानवादी आन्दोलनलाई सम्बोधन नगरी देश अघि बढ्न सक्दैन । पचासको दशकमा बनेको आधारमा साठीको दशकमा भएका आन्दोलनले यी सबै कुरा स्थापित गरेका हुन् ।‘थाहा’ लेख्दै हिँड्ने मान्छेको नाम रुपचन्द्र विष्ट अरे । सायद ४७ सालतिर होला तिनको बारेमा सुनेको । त्यतिबेला हाम्रा छिमेकी रुपचन उराउ पञ्चायती शासन कालमा टोकला चिया बगानको मजदुरी कम्युनिस्ट भएको आरोपमा खोसुवामा परी पुनर्बहाली भएका थिए । उनी नेकपा (माले) निकट स्वतन्त्र चिया मजदुरका युनियनका नेता थिए । राजनीतिक कामले काठमाडौँ गइरहन्थे । प्रत्येक पटक उनी केही किताब ल्याउँथे । उनी राम्ररी पढ्न जान्दैनथे । मेरा बुबाको नेपाली पठन र लेखन राम्रो थियो । अहिले पनि उहाँको सस्वर वाचन अनुकरणीय लाग्छ । रुपचन काका (उहाँलाई हामी काका भन्थ्यौँ ।) प्रत्येक साँझ हाम्रो घरमा किताब लिएर आउँथे । लालटिनको मधुरो उज्यालोमा बुबा सस्वर वाचन गर्नुहुन्थ्यो । हामी ध्यान दिएर सुन्थ्यौँ । लुटिएका दुई थुँगा फूल, मुक्त आकाशको खोजी, देउमाईको किनारमा मलाई सम्झना भएका किताब हुन् । किताब वाचनपछि राजनीतिक कुरा र पुस्तककै बारेमा पनि कुरा चल्थ्यो । यस्तै सिलसिलामा बुबाहरुबाटै सुनेको हो रुपचन्द्र विष्टको नाम ।
‘थाहा’ लेख्दै हिँड्छ अरे । मान्छे कम्युनिस्ट हो । जान्नका लागि ‘थाहा पाउनु पर्छ’ बुबा भन्नुहुन्थ्यो । इतिहासको गर्तमा बिलाइएका र दबाइएका एक अग्र्यानिक बौद्धिक हुन रुपचन्द्र विष्ट । थाहा दर्शनका अभियन्ता । वि सं. १९९० पुस २६ मा मकवानपुरमा जन्मेका रुपचन्द्र रुदाने, जसरु, रापसरु र स्वरुपे आदि नामले पनि चिनिन्छन् । उनले विद्यार्थी जीवनमा कम्युनिस्ट भई राजनीति गरेका थिए । २०२२ र २९ सालमा पालुङ गाउँ पञ्चायतको प्रधानपञ्च भएर जनताको काम गरे । २०३८ र ४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए । रोचक कुरा त के रहेछ भने रुदानले पञ्चायती व्यवस्था विरोधी एजेन्डा बोकेर चुनाव जितेका रहेछन् । चुनावमा उठ्दा आफ्नो फोटो छापेर होइन पर्चा लेखेर, सित्तैँमा बाँडेर पनि होइन लिखित पर्चा जनतालाई बेचेर चुनाव जितेको इतिहास पाइन्छ ।राष्ट्रिय पञ्चायतको चुनावमा उठ्दा उनले लेखेको कवितामय पर्चाको अंश यस्तो पाइन्छ ।
“पैसाबाट सत्यता, पदबाट इन्साफ, जातबाट जनहित
शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, गुन्डाबाट राजनीति
शासकबाट प्रजातन्त्र पाइन्छ भन्नेले लगाएछन् चितुवालाई बाख्राको गोठालो”
पञ्चायती व्यवस्थालाई चितुवाको संज्ञा दिने रुदानेले शासन व्यवस्थाले देश र जनतालाई खाएको तथा खराब सोच भएका शासकहरुबाट राम्रो काम हुन्छ भन्ने सोच्नु नै गलत भएको सन्देश दिएका छन् ।
“अर्काे चुनावी पर्चाको कवितांश यस्तो रहेको छ ः
श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन
छाप्राको राजनीति महलले गरेर हुँदैन
महिलाको राजनीति पुरुषले गरेर हुँदैन
आफ्नो लागि आफैँ जागेर अघि बढ्नु पर्छ
दुःख गर्नेले दुःखको रङ चिनेको हुन्छ
श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ ।”
वास्तवमा रुदानेले आफ्नो हक अधिकारका लागि व्यक्ति स्वयम्लाई जाग्न अभिप्रेरित गरेका छन् । पर्चामा आफ्ना चुनावी विचार लेख्ने रुदानेले पर्चा बेचेरै चुनावी खर्च जुटाउँथे । जनतालाई उनले रुपचन्द्र विष्टलाई हेरेर होइन विचार हेरेर भोट दिन भन्थे । पञ्चायतको सदस्य भएर पञ्चायतकै विरोध गर्ने रुदाने निडर र निर्भीक व्यक्ति थिए ।
जनता जगाउने रुदाने बिएल र प्राकृतिक चिकित्सा विज्ञानमा स्नातक थिए । सम्भ्रान्त परिवारमा जन्मेका रुदानले आफ्नो जीवन भने निम्न वर्गीय जनता सरह बाँचेका थिए । श्रमलाई अप्रतिम वस्तु मान्ने रुदाने भन्थे, “श्रम गरेर मान्छे सानो हुँदैन । डिग्रीको सर्टिफिकेट त केही पनि होइन बरु त्यो त कागजको खोस्टो हो, यदि त्यसले मान्छेलाई श्रमबाट अलग गर्छ भने ।”पालुङको जनकल्याण माविको भवन निर्माणमा उनी सर्वसाधारणसँगै खटेका थिए । त्यति मात्र होइन उनले सम्भ्रान्त परिवारमा जन्मेकी आफ्नी श्रीमती उमा शाहलाई पनि आफूसँग ढुङ्गा बोकाएका थिए । रुदानेका बारेमा यो कुरा सुन्दा हातमा पन्जा लगाएर हप्तामा एक पटक वाग्मती किनारमा फोहोर टिपेको फोटो फेसबुकमा पोस्ट्याउने वर्तमान प्रवृत्ति दिक्क लागेर आउँछ ।
जनकल्याण मावि स्थापनापछि उनले सबै बाबुआमालाई छोराछोरी विद्यालय पठाउन अनिवार्य गरेका थिए । छोरा नपढाउनेले श्रमदान गर्नुपर्ने र छोरी नपढाउनेले दोब्बर सजाय भोग्नुपर्ने नियम बनाएका थिए । दामन र पालुङ गाउँ पञ्चायतलाई मिलाएर रुदानेले गाउँ विकास समिति बनाएका थिए । जो विकास घरका नामले चिनिन्थ्यो । त्यहाँका जनताले एक धार्नी आलु बेच्दा पाँच पैसा कर तिर्नुपर्ने नियम बनाएका थिए । जनताले तिरेको कर खर्च भएको विवरणसहित विकास घरको सूचना पाटीमा टाँसिएको हुन्थ्यो । रुदानेले पारदर्शिता, जवाफदेही र सुशासनको अब्बल अभ्यास त्यतिबेलै गरेका थिए ।
जनतामा चेतनाको आलोक छर्ने रुपचन्द्र विष्ट शिक्षासेवी, विकासप्रेमी, नारीवादी तथा जनवादी व्यक्ति थिए । वि. सं २०२८ मा स्नातक कोटामा राष्ट्रिय पञ्चायतका सदस्य भएका रुपचन्द्रले ‘थाहा’ अभियान चलाए । रुपचन्द्र र उनका सहयोगीले खाली कागज, चुरोटका बट्टा, रुख, पर्खाल, भित्ता, चट्टान आदिमा थाहा लेखे । रुखो बोली भएका रुदाने मानिसहरुलाई थाहा पा भाते जान् ! बुझ् ! भन्थे । थाहा अभियान थाहा पाउनु, जानकारी राख्नुसँग सम्बन्धित थियो । दर्शनका नाममा वर्षौँसम्म वाद विवाद चलाइने, कार्यपत्र, टिप्पणी चलाउनुपर्ने सैद्धान्तिक क्लिष्टता र अस्पष्टता थिएन । ‘थाहा’ अभियान चेतनाहीन प्रजालाई चेतना सम्पन्न नागरिकमा रुपान्तरण गर्ने एउटा राजनीतिक र सामाजिक जागरणको अभियान मात्र थियो । जनमुखी विचारका सम्प्रेषक रुपचन्द्रले थाहा अभियानमार्फत सूचनाको हकलाई व्यावहारिक रुपमा जनतासम्म पुर्याएका थिए ।
रुपचन्द्रको चर्चा सुनेपछि तत्कालीन राजा महेन्द्रले भेट्न बोलाएछन् । दरबार पुगेका रुदानेलाई गेट पालेले कारण सोधेछन् । गेटपालेले, “महाराज १५ मिनेट बिजी होइबक्सिन्छ, त्यसपछि तपाईँको पालो” भनेछ । रुदाने १५ मिनेट गेटमै कुरेर बसेछन् । १५ मिनेटपछि गेटपालेले भित्र जान आग्रह गर्दा उनले भनेछन्, “१५ मिनेट अघिसम्म राजा व्यस्त थिए म फुर्सदिलो तर अब राजा फुर्सदिला भए, म व्यस्त छु भनिदिनू” भन्दै फर्केछन् ।
राजालाई भेट्न आएको रुदाने त्यसरी फक्र्याे भन्ने सुनेपछि राजाले अर्काे दिन बोलाएछन् । दरबारमा राजा महेन्द्रले भनेछन्, “तिम्रो धेरै चर्चा सुनेँ, तिमी के चाहन्छौ ? म के गर्न सक्छु तिम्रा लागि ?” रुदानेले जवाफ दिएछन्, “तपाईँ केही गर्न सक्नुहुन्न मेरो लागि । म त देशमा अठ्ठा जोकर बनाउन चाहन्छु ।”
तासमा अठ्ठा जोकर बनाउन सत्ता पल्टिनु पर्छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
No comments:
Post a Comment