विद्यालयमा
सञ्चार साक्षरताको कार्यान्वयन
दामोदर ढुङ्गेल
विभिन्न प्रिन्ट मिडिया, अनलाइन न्युज
पोर्टल तथा सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीकै कारण समाजमा धारणा निर्माण
हुन्छन् । समाजमा राम्रा धारणा निर्माण गर्नसक्नुलाई सञ्चार क्षेत्रको शक्ति
मानिन्छ । तर सञ्चार माध्यमबाट राम्रा मात्रै सामग्री प्रकाशन तथा प्रसारण
हुँदैनन् । झुटा सामग्रीले समाजमा नकारात्मक प्रभाव पार्दछन् । ठूला ठूला शक्ति
राष्ट्रहरूको चुनावी परिणाम प्रभावित गर्नेदेखि समाजमा सामाजिक सद्भाव खलबल्याउने
जस्ता घटनामा पनि सञ्चार क्षेत्रको प्रभाव रहि आएको छ । विश्वभरि यस्तो खालको
प्रचलन देखिन्छ । सञ्चार क्षेत्रको मुख्य कर्तव्य सामाजिक सद्भाव र सहिष्णुता कायम
राख्ने हो । नकारात्मक प्रवृत्ति भएका तथा समाजमा द्वन्द्व बढाउने प्रवृत्तिका
मानिसहरू गलत तथा अप्रमाणित कुरा प्रचार गर्न उद्यत् रहन्छन् । त्यसैले सञ्चार
क्षेत्रको विश्वसनीयतामाथि निरन्तर सन्देह
छ ।
झुटा समाचार सम्प्रेषण गर्नेहरूकै
भिडमा आम मानिसको सञ्चार माध्यमप्रति रहेको विश्वसनीयता जोगाउन राम्रा सञ्चार
माध्यमहरू निरन्तर क्रियाशील छन् । तापनि सञ्चार माध्यम मात्रैको सक्रियताबाट
यो कार्य सम्भव देखिँदैन । यस्तो परिस्थितिमा पाठकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ
। सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचार सामग्रीको उपादेयता त्यति बेला
मात्रै पूर्ण हुन्छ जब पाठकले उक्त सामग्री पत्याउँछन् । पाठकले पत्याउनु नै
सञ्चार माध्यमप्रतिको विश्वसनीयता हो । तर,
पाठकले नै झुटा कुरालाई सत्य ठान्छन् अनि पत्याउन बाध्य बनाइन्छन् भने समस्या
जटिल बनेको बुझिन्छ । यस्तो बेलामा सञ्चार साक्षरताको आवश्यकता हुन्छ ।
हाम्रो देशमा पछिल्लो समयमा भ्युअर्स
बढाउने नाममा खोलिएका युट्युब च्यानल झुटा सामग्री सम्प्रेषणमा सक्रिय छन् ।
सामग्रीको विश्वसनीयता, सत्यापन
र सामाजिक दायित्व केही पनि नभएका युट्युबरहरूले दर्शक तथा श्रोताहरूको ध्यान
खिच्न सनसनी मच्चाउने खालका सामग्री छिन छिनमा अपलोड गरिरहेका हुन्छन् । निर्मला
पन्तको हत्या, रवि
लामिछानेको पक्राउ तथा कृष्ण बहादुर महराको केसमा युट्युबमा अपलोड गरिएका
सामग्रीको शीर्षक, भ्युअर्स, लाइक, सेयर र कमेन्टको
सङ्ख्या हेर्दा ती च्यानलको आधिकारिकता,
बैधता र विश्वसनीयता नरहेको स्पष्ट
हुन्छ । त्यस्ता सामग्री फेसबुकमा सेयर गर्नेहरू अधिकतम किशोर किशोरी हुन्छन् साथै
पढेलेखेका र समाजमा गन्यमान्य मानिएका पनि हुन्छन् । यसरी एउटा उमेर समूह नै झुटा
समाचारको पछि लाग्ने र त्यसैको आधारमा धारणा निर्माण गर्ने अवस्था हुनु समाजका
लागि गम्भीर समस्या हो ।
झुटा समाचारको प्रचार र सामाजिक
प्रभाव रोक्ने सबैभन्दा महत्त्वपूण कार्य भनेको नै पाठकले त्यस्ता समाचार अस्वीकार
गर्नु हो । यस्तो अवस्थामा सञ्चार साक्षरता अत्यावश्यक हुन्छ । यसको सुरुवात
विद्यालय तहबाटै गर्नुपर्ने देखिन्छ । हाम्रो संविधानले आधारभूत तहसम्मको शिक्षा
निशुल्क र अनिवार्य हुने व्यवस्था गरेको छ । त्यसैले आधारभूत तहबाटै सञ्चार
साक्षरतालाई विद्यालय शिक्षणमा समावेश गराउन सकिए झुटा समाचार र त्यसको सामाजिक
असर न्यूनीकरण गर्न सकिन्छ । साथै सञ्चार माध्यम पनि सच्चिन कर लाग्छ भने भ्युअर्स
बढाउन खोलिएका त्यस्ता युट्युब च्यानल र अनलाइन न्युज पोर्टल पनि स्वतः बन्द हुन
पुग्छन् ।
विद्यालय तहको पाठ्यक्रममा
सञ्चार साक्षरता पाठ्यवस्तुको रूपमा समावेश छैन । त्यसैले यसको कार्यान्वयन चुनौतीपूर्ण
हुने देखिन्छ । तर, यो
असम्भव कार्य भने होइन । पाठ्यक्रमको शिक्षण समयावधि,
पूर्णाङ्क जस्ता सीमा हुन्छन् । त्यसैले हाम्रा सबै आवश्यकता पाठ्यक्रमका
पाठ्यवस्तुमा समेटिँदैनन् । हाम्रो देशमा सामान्यतया पाँच वर्षमा पाठ्यक्रम
परिमार्जन र दश वर्षमा परिवर्तन गर्ने प्रचलन रहेको छ । पाँचदेखि दश वर्षमा हाम्रा
सामाजिक अवश्यकता धेरै परिवर्तन भइसकेका हुन्छन् । यसरी हेर्दा समकालीन कतिपय
हाम्रा आवश्यकता, समस्या र
मुद्दाहरू पाठ्यवस्तुका रुपमा पाठ्यक्रममा समावेश छैनन् । यस्तै समस्याको तत्कालको आवश्यकताको
रुपमा सञ्चार साक्षरता रहेको छ ।
सञ्चार माध्यमबाट प्रकाशन तथा
प्रसारण भएका सामग्रीमा आलोचनात्मक दृष्टि राख्न सक्नु नै सञ्चार साक्षरताको पहिलो
चरण हो । यसभित्र सञ्चार सामग्रीको विषयवस्त,
समाचारको सन्देश र त्यसको शक्ति बुझ्नु,
सामग्रीमाथि आफ्ना प्रतिक्रिया कारणसहित दिनु,
सञ्चार माध्यमले राम्रा सामग्री दिन्छ भन्ने कुरामा विश्वास बढ्नु तथा
सामग्रीलाई विश्लेषण गर्ने सीप पर्छन् ।
सञ्चार साक्षरताका यी सीपहरू हाम्रा
विद्यालय र विद्यार्थीमा विकास गर्न चुनौतीपूर्ण छन् तर असम्भव पनि छैनन् । पाठ्यक्रममै
नभएका विषय वस्तु किन पढाउने ?
यस्ता कुरा पढाउने शिक्षक नै छैनन् । परीक्षामा नसोधिने यस्ता कुरा किन पढाउने
? जस्ता प्रश्न पनि
गरिएलान् । तर, समाजमा
झुटा समाचारको प्रभाव दिनप्रतिदिन बढिरहेको र त्यसैलाई पत्याउने जमात हुर्किरहेको
सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न हामी शिक्षकहरूको भूमिका महत्त्वपूर्ण र उपयोगी
हुने छ । यो हाम्रो पेसागत कार्य त हुँदै हो साथै समुदाय र राष्ट्रप्रतिको हाम्रो
दायित्व पनि हो ।
विद्यालयमा सञ्चार साक्षरता विकास
गर्ने तरिकाहरू :
१. स्रोतव्यक्तिलाई प्रयोग गर्ने :
कुनै खास विषयवस्तुमा ज्ञान, सीप र दक्षता
भएको व्यक्तिलाई सम्बन्धित विषयवस्तुमा शिक्षणका लागि प्रयोग गरिन्छ भने त्यस्ता
व्यक्तिलाई स्रोतव्यक्ति भनिन्छ । विद्यालयमा सञ्चार साक्षरता सम्बन्धी शिक्षणका
लागि स्थानीय क्षेत्रमा उपलब्ध हुने सञ्चारकर्मी र पत्रकारिता अध्यापन गर्ने
शिक्षकहरूलाई प्रयोग गर्न सकिन्छ । वास्तवमा अहिलेसम्म हामीले विद्यालयको
कक्षाकोठामा तलबी शिक्षक बाहेकलाई प्रवेश गराएनौँ । विद्यालयको पर्खालबाहिर पनि
ज्ञान भएका व्यक्तिहरू छन् भन्ने कुरा बुझ्न ढिलो भइसक्यो । यसरी स्रोतव्यक्ति
प्रयोग गर्दा विद्यार्थीहरूले पनि शिक्षणमा नवीनता र विषयवस्तुमा विस्तृत ज्ञान
पाउँछन् । स्रोतव्यक्तिहरूलाई पनि आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेको बोध
हुन्छ ।
२. डकुमेन्ट्री प्रदर्शन गर्ने :
हाम्रा विद्यालयहरू आइसिटीमा
व्यवस्थित बन्दैछन् तर आइसिटीको वृहत् उपयोग हुन भने सकेको छैन । सञ्चार साक्षरता
विकास गर्न आइसिटी उपयोगी हुन्छ । यसका लागि साप्ताहिक वा मासिकरूपमा
सञ्चार माध्यमका सकारात्मक र नकारात्मक पक्षबारे विद्यार्थीहरूलाई जानकारी गराउन
युट्युबबाट नेपाली भाषाका तथा विद्यार्थीहरूले बुझ्ने भाषाका डकुमेन्ट्री प्रदर्शन
गरी छलफल गर्न सकिन्छ । सम्भव भएसम्म डकुमेन्ट्री निर्मातालाई विद्यालयमा ल्याएर
उनीहरूका अनुभव पनि विद्यार्थीहरूलाई बाँड्न सकिन्छ ।
३. छलफल कार्यक्रम आयोजना
गर्ने :
सञ्चारका विभिन्न आयाम, सामाजिक प्रभाव, शक्ति जस्ता
विविध विषयमा विद्यालयमा छलफल आयोजना गर्ने । यसका लागि विभिन्न सञ्चार माध्यममा
काम गर्ने सञ्चारकर्मी, पत्रकारिकता
अध्यापन गर्ने व्यक्तिहरू तथा सञ्चार माध्यममा प्रकाशित सामग्रीमाथि आलोचनात्मक
दृष्टिकोण राख्ने व्यक्तिहरूलाई विद्यालयमा बोलाएर छलफल आयोजना गर्न सकिन्छ ।
यस्तो छलफल कार्यक्रममा विद्यार्थीहरूलाई प्रश्न सोध्न प्रोत्साहित गर्नुपर्छ ।
४. पठन संस्कृति विकास गर्ने :
विद्यालयमा स्थापित र विश्वसनीय
समाचार पत्रहरू मात्रै राख्ने । ती समाचार पत्रमा आएका सामग्री पढ्न विद्यार्थीलाई
प्रोत्साहित गर्ने । विद्यार्थीहरूले पढिसकेपछि तिनै सामग्रीमाथि छलफल पनि गर्ने ।
सञ्चारमाध्यमका बारेमा लेखिएका पुस्तक तथा जर्नल पनि पढ्न दिने । यसो गर्नाले
विद्यार्थीहरूमा एउटै सामग्री विभिन्न सञ्चार माध्यमले कसरी प्रस्तुत गर्दा रहेछन्
भन्ने कुरा बोध हुन्छ । यसबाट उनीहरूमा सञ्चारमाध्यमको तुलना गर्ने क्षमता पनि
बढ्छ । पुस्तक तथा जर्नल पढ्नाले सञ्चारमाध्यम नै बुझ्न मद्दत पुग्छ ।
५. सञ्चार माध्यमले गरेका त्रुटिबारे
जानकारी गराउने :
हामीले स्थापित र विश्वसनीय मानेका
सञ्चार माध्यमले विभिन्न समयमा त्रुटि गरेका हुन सक्छन् । त्यस्ता त्रुटि सङ्कलन
गरी सम्बन्धित सञ्चार माध्यमका व्यक्तिलाई विद्यालयमा ल्याएर छलफल गर्न सकिन्छ ।
यसबाट विद्यार्थीहरूले त्रुटि हुने कारण र सञ्चार माध्यमले गर्ने त्रुटिको असर
थाहा पाउँछन् । यस्तो छलफलले विद्यार्थीहरूमा सञ्चार माध्यमहरूबाट त्रुटि हुने
भएकाले प्रकाशित सामग्रीमा सन्देह गर्नुपर्छ भन्ने चेतना विकास हुन्छ ।
सहायक प्रधानाध्यापक
कविशिरोमणि माध्यमिक विद्यालय
मेचीनगर नगरपालिका ९,
झापा
झापा मेचीनगरबाट २०७७ भदौ १४ गतेबाट प्रकाशन आरम्भ भएको सेतोपत्र अनलाइनमा प्राकाशित

No comments:
Post a Comment