Monday, October 2, 2017

‘लाटा शब्द’ हतासको अभिव्यक्ति

‘लाटा शब्द’ हतासको अभिव्यक्ति

दामोदर ढुङ्गेल



नेपाली कविता साहित्यमा अघिल्ला दुई हप्तादेखि एउटा बहस सुरु भएको छ, कवितामा प्रयुक्त शब्दशक्तिको । कवि मनु मन्जिलले काठमाडौँबाट प्रकाशित एउटा दैनिक पत्रिकाको शनिवारीय परिशिष्टाङ्कमा ‘लाटा शब्दहरूको पिरामिड’ शीर्षकमा केही कविहरूका कवितामा प्रयुक्त शब्दको शक्तिमाथि शङ्का गर्दै कविहरूलाई होच्याएका छन् । 
नेपाली कविताका जो कोही पनि मन्जिलको लाटा शब्दहरूको पिरामिड पढेर आव्रmोशित हुन्छ र भएका छन् । त्यो आव्रmोश सामाजिक सञ्जालमा यसरी छाएको छ कि यसले कवि मन्जिलका काव्यात्मक कमजोरीहरू पनि सतहमा ल्याउने स्थिति देखिँदै छ । कवि हाङयुङ अज्ञातले त मन्जिलको उक्त लेख रोलाँ बार्थको ‘जिरो डिग्री’ को अङ्ग्रेजी भाषाको नेपाली अनुवाद भएको फेसबुक स्टाटस नै लेखे ।

मन्जिलको लेख ‘लाटा शब्दहरूको पिरामिड’ प्रकाशित भएको एक सातापछि सोही दैनिकको सोही परिशिष्टाङ्क
को सोही पृष्ठ र स्थानमा कवि सरिता तिवारीको काउन्टर लेख प्रकाशित भयो ‘लाटा छैनन् हाम्रा कविता’ शीर्षकमा । उक्त लेखमा कवि तिवारीले मन्जिलका हरेक शङ्काको प्रत्युत्तर दिएकी छिन् । त्यो जवाफ मन्जिलको हाइपोथेटिकल एक्सप्रेसनभन्दा वास्तविक, तथ्यगत र वस्तुगत छ । त्यसमा उनले मन्जिलका शङ्कालाई नेपाली समाजको परम्परागत संरचनाको व्याख्यासहित पुनर्निर्माणका व्रmममा समाजका निमुखा तथा राज्यको मूलधारबाट लखेटिएर सीमान्तमा पु¥याइएकाहरूले कविताका माध्यमबाट गरेको हस्तक्षेप हो भनेकी छन् ।
मन्जिलले लाटा शब्द भनी दोष लाद्नु उनको हेजिमोनी मनोविज्ञान मात्र हो । उनले दोष लादेका वर्तमान नेपाली कविता साहित्यमा आफ्नो स्थान निर्माण गरिरहेका कविहरू कुनै उच्च खानदानका होइनन् । उच्च शिक्षित, जात र अवसर पाएका पनि होइनन् । ती त केवल वर्षाैँदेखिको उत्पीडनमा परेका समूहका सन्तति हुन् । लेखनको राजनीति बुझेका तिनीहरू नामेट पारिएको आफ्नो इतिहास पुनर्लेखन गर्न चुलोचौकाको घेरा तोडेर कविता लेख्दै छन् । जीवनभर गिटी फुटाउनेहरू हम्मर हान्ने हातले कविता लेख्दै छन् । पानी नचल्ने हात भनिएकाहरू कविता लेख्दै छन् । 
युगौँ देखिको उत्पीडनको रापले डामिएर वर्तमानमा आमूल पुनर्संरचनाको खातिर लेखनको राजनीति बुझेका नेपाली कविता साहित्यका तेस्रो पुस्ताका कवि इतिहास पुनर्लेखनको उत्कट चाहना बोकेर आएका छन् । त्यसैले तिनका कवितामा मन्जिलको जस्तो ‘दुस्मन भइदियोस्’ भन्ने भर्चुअल रियालिटीको इच्छार्थ भाव होइन सङ्गीत श्रोताको ‘खै कहाँ छन् यो देशमा महिला’ भनी आधा आकाशको हिस्सा खोजिरहेको हुन्छ ।

शब्दशक्तिको कुरा गर्ने कवि मन्जिलले काव्यमा प्रयुक्त शब्दशक्तिको अर्थ अध्ययन नगरी आक्षेप लगाएको हो कि भन्ने भान सामान्य पाठकमा पर्नसक्छ । तर, मन्जिल जस्ता सार्क स्तरीय कविले शब्दशक्तिको अध्ययन गरेका छैनन् भन्नु उनीप्रति र उनको काव्यात्मक ज्ञानको अपमान गरेको ठहरिएला । तर, निर्ममताका साथ भन्नुपर्ने हुन्छ, कलावादी कवि मनु मन्जिल ‘शब्दशक्ति अभिधा, व्यञ्जना र लक्षणा हुन्छ ।’
त्यसभित्र पनि समाज, राजनीति, अर्थ व्यवस्था, उत्पीडन र राज्य प्रणालीले जनतामाथि गरेको विभेदपूर्ण व्यवहारबाट शब्दशक्ति निर्माण हुन्छ । तर, मन्जिलको कलावादी दृष्टिले शब्दशक्तिको यो वृहत्तर राजनीति बुझ पचाउँछ । मन्जिल तिनै व्यक्ति हुन् जसले रिडर्स झापाद्वारा आयोजित कला साहित्य उत्सव २०६९ मा कवितासम्बन्धी बहसमा राजनीति हरेका ठाउँमा हुने भएकाले साहित्य राजनीति नै हो भनेका थिए ।

रिडर्स झापाको कला साहित्य उत्सवको दोस्रो संस्करण –२०७१ को ‘कवितामा समय चेतना’ शीर्षकको प्यानल डिस्कसनमा मन्जिलले कवितामा कलाको महत्त्व उल्लेख गर्ने सन्दर्भमा विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाका खेलाडी लिओनल मेसीको फुटबल खेल्ने कला हेर्न मानिस ओइरिन्छन् भन्ने उदाहरण दिँदा मैले आफ्नो देशको समर्थनमा आएका दर्शक कला हेर्न खोज्छन् कि जित चाहन्छन् भनी प्रतिप्रश्न गरेको थिएँ । उनले फुटबल खेल्ने कलाको पक्ष लिएका थिए ।
फुटबलको विश्व प्रतियोगितामा दर्शक आफ्नो समर्थन भएको टिमको विजय चाहन्छ । ठिक त्यसैगरी वर्षाैँदेखि शोषणमा परेकाहरू भोको पेटले मन्जिलका जस्ता कलावादी कविता लेख्दैनन् । उनीहरू त कवितामा राजनीति लेख्छन् र कवितामार्फत राजनीति नै गर्छन् । किनकि भोको पेट कलाले भरिँदैन । 
कवितामा कला हुनुपर्छ भन्ने कवि मन्जिलको तर्क असान्दर्भिक होइन । तर, कलाका नाममा टापटिपे बिम्ब प्रयोग गरेर चिल्ला शब्दले आकर्षक बनाइएका कलावादी कविता मान्छेका जीवन भोगाइका जटिलता, अभाव, विभेदभन्दा धेरै पर छन् । मान्छेका जीवनभन्दा परका, धर्ती नटेकेका र कल्पनात्मक उडान भरेका कविता मात्रै कविता हो भनेर वर्तमानका कविहरूले सिर्जना गरेका कवितामा कला छैन भनी तिनका कवितामा प्रयुक्त शब्दलाई लाटा घोषणा गर्ने अधिकार मन्जिललाई छैन । 
साहित्य नदी हो । त्यसैले शास्त्रीय नियमका लगामले नदीरूपी साहित्यलाई छेक्न सक्दैन । जसरी कोशी नदी बाँधले छेकिएको छैन । कविता पनि भावनाको नदी हो । यो बगिरहन्छ । फेरि साहित्य समाजको प्रतिबिम्बन हो । गतिशील समाजको प्रतिबिम्बन त्यहाँ हुन्छ । अहिले हाम्रो समाज इतिहास निर्माणको गम्भीर मोडमा छ । लेखनको शक्ति र राजनीति बुझेका नेपाली कविताका तेस्रो पुस्ताका कविहरू वर्षाैँदेखि नेपाली समाजलाई जकेडेका जन्जीर तोड्ने व्रmममा छन् । यो कला खोज्ने समय होइन । मातृभाषा पढ्न र प्रयोग गर्नबाट वञ्चित गरिएकाहरू शासकहरूको भाषामा कविता लेखेर राजनीतिक हस्तक्षेप गर्दै छन् । त्यसैले उनीहरूका कवितामा परिष्कृत भाषा मात्र होइन वर्ण विन्यासको ह्रस्व र दीर्घ पनि हेरिनु हुँदैन ।

वर्तमान समयमा नेपाली कवितामा ३ धार देखिएका छन्, कलावादी, पहिचानवादी र प्रगतिवादी । यी धारमा पनि सबैभन्दा सशक्त पहिचानवादी कविता लेखिएका छन् । यसै धारले वर्तमानमा नेपाली कविताको नेतृत्व पनि गरिरहेको छ । त्यसैले मन्जिलले जेसुकै आक्षेप लगाए पनि यो धारा जबर्जस्त स्थापित छ ।
शब्दशास्त्रका व्याख्याता महर्षि पतञ्जलीले शब्दको प्रयोगसम्बन्धी दुई कुरामा जोड दिएका छन् । ती हुन् ः सम्यक् ज्ञान र सुप्रयोग । सम्यक् ज्ञान शब्दको प्रकृति, व्युत्पत्ति, वृहत्तर रूपमा प्रयोग, अभिव्यञ्जित भाव र बहुआयामिक प्रभाव हो । सुप्रयोग भनेको शब्द प्रयोग हुने समय, परिवेश र सन्दर्भ हो । परिवेशसँग सम्बन्ध राख्ने गरी उपयुक्त शैलीमा वाक्य निर्माण गरी अभिव्यक्त गर्नु सुप्रयोग हो । कवि मन्जिललाई शब्द प्रयोगका माथिका दुई कुरामध्ये सुप्रयोगको मात्र ज्ञान रहेछ किनकि उनी काव्यलाई कलात्मक बनाउने नाममा शब्दको सम्यक् ज्ञानलाई भन्दा सुप्रयोगलाई महत्त्व दिन्छन् । ‘दुस्मन’ कवितामा उनी दुस्मनसँग प्रतिरोध गर्ने होइन दुस्मन बनाउनुलाई आफ्नो कला ठानिरहेका छन् । त्यसैले त दुस्मनसँग प्रतिरोध गर्ने कविका शब्दलाई उनी लाटा ठानिरहेका छन् ।
शब्द ‘शब्द’ तहमा मात्र हुँदा त निर्जीव हुन्छ । शब्दकोशमा प्रयुक्त शब्द निर्जीव हुन् । जब ती वाक्यमा प्रयोग भएर पाठको आकार लिन्छन् अर्थात् डिस्कोर्स निर्माण हुन्छ अनि तिनले जीवन पाउँछन् । अनि शब्दको अर्थ स्पस्टिन्छ । त्यसैले कवितामा प्रयुक्त शब्दलाई सन्दर्भगत परिवेश नहेरी कलावादी चस्माले हेरेर लाटा भन्नु अज्ञानताको द्योतक हो । तर, मन्जिलको यो अज्ञानता नभएर अति बौद्धिकता पनि हो । त्यसैले त बौद्धिकताको लेप लगाएर अरूलाई होच्याउँदा आफू अग्लो भइँदैन ।

५ सेप्टेम्बर २०१५ लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित

No comments:

Post a Comment

कस्ले राम्रो भन्छ ? (मुक्तक)

 सञ्जालमा फोहोर गरेपछि कस्ले राम्रो भन्छ ? कर्मयोगीलाई मुख छोडेपछि कस्ले राम्रो भन्छ ?  दुनियाँको उन्नति र प्रगतिमा आफैँ जलेपछि आफ्नै कुण्ठा...