Tuesday, August 5, 2025

संस्कृति, सभ्यता र पुस्तान्तर

 संस्कृति, सभ्यता र पुस्तान्तर

                                                                                                                            दामोदर ढुङ्गेल

संस्कृति र सभ्यताको परिचय

संस्कृति मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूको परिष्कृत रूप हो । समाजमा व्याप्त रहेका चलनहरूको समष्टिगत रूप नै संस्कृति हो । समाजमा परम्परागतरूपमा रहेका प्रचलनहरू तथा समाजले अनन्त कालदेखि प्रयोगमा ल्याएका पद्धतिहरू नै संस्कृति हुन् । यसभित्र मानिसका सोच्ने, कार्य गर्ने, खाने, बोल्ने, कला, साहित्य, वास्तु, आध्यात्मिक अवस्था, इतिहास, भाषा, दर्शन, विभिन्न मूल्य मान्यताहरू समाविष्ट हुन्छन् । 
वृहत् नेपाली शब्दकोशअनुसार “धेरै समयदेखि देशकालसापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचार विचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरुप खुट्टिने यावत् मान्यता, भावना, चिन्तन मनन्, भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन संस्कृति हो ।”
माथिको परिभाषाका आधारमा संस्कृति मानिस मात्रको क्रियाकलापसँग सम्बन्धित कुरा हो । मानिसले धर्तीमा अस्तित्वका लागि गरेका सङ्घर्षबाट प्राप्त कुराहरू नै संस्कृतिको रूपमा विकास भएका हुन् । संस्कृति कुनै एउटा विषयसँग मात्र सम्बन्धित हुँदैन । यो मानव जीवनको बहु आयामिक पक्षको समुच्चय हो । 
संस्कृतिसँगै सभ्यता पनि जोडिएर आउने गर्छ । तर, यसको अर्थ यो होइन कि यिनीहरू दुवै एउटै हुन् । संस्कृति र सभ्यता फरक कुरा भए पनि यिनीहरूबिचमा सम्बन्ध भने छ । नेपाली वृहत् शब्दकोशअनुसार “कुनै जाति वा राष्ट्रको सामाजिक, भौतिक, आध्यात्मिक आदि अवस्था र उन्नति, प्रगतिको सम्पूर्ण प्रतिबिम्ब सभ्यता हो ।”
माथिको परिभाषाका आधारमा सभ्यताले सभ्य हुने भाव वा गुणलाई बुझाउँछ । संस्कृति प्रचलन हो भने सभ्यता शिष्टता हो । मानिसले आफ्नो बौद्धिक चातुर्य प्रयोग गरेर प्रकृतिसँग निरन्तर सङ्घर्ष गर्दै जीवन पद्धतिमा ल्याएको परिवर्तन नै सभ्यता हो । सभ्यता नै मानिसलाई अन्य प्राणीभन्दा पृथक् तुल्याउने वस्तु हो । निरन्तरको प्रयासबाट मानिस आफ्ना रीतिरिवाज, आचार विचार, नवीन खोज अनुसन्धान र विभिन्न वस्तुको आविष्कारबाट जङ्गली युगदेखि आजको अत्याधुनिक समाज र जीवन शैली निर्माण गर्न सक्षम भएको हो । यो नै मानिसको सभ्यता हो । सभ्यता मानिसले भौतिक क्षेत्रमा गरेको उन्नति र प्रगतिको समुच्चय हो । त्यसैले सभ्यता संस्कृतिको अङ्ग भएर देखा पर्छ । संस्कृति मानसिक क्षेत्रको उन्नति र प्रगतिको सूचक हो भने सभ्यता भौतिक क्षेत्रको सूचक हो । 

संस्कृति र सभ्यताको विकास
आदिकालमा मानिसको आश्रय स्थल जङ्गल थियो । यो मानिसको बाध्यता थियो । प्राकृतिक चक्रका प्रतिकूल अवस्थाहरू आँधी, हुरी, वर्षा, गर्मी, जाडोबाट जोगिन जङ्गलका ओढार गुफा उसका आश्रय स्थल बन्न पुगे । यो उसको बौद्धिकताले नै पत्ता लगाएको थियो । एउटै ओढारका वल्लो कुनामा मानव र पल्लो कुनामा जङ्गली जनावर बस्नुपर्ने बाध्यता थियो । ओढारबाट काठ, ढुङ्गाका ओत लाग्ने ठाउँ निर्माण गर्दै मानिस अहिलेको कङ्क्रिट युगमा आइपुगेको हो । प्राचीन कालमा मानिसलाई एक ठाउँबाट अर्काे ठाउँ पुग्न आफैँ हिँड्नु पथ्र्याे । बौद्धिक चातुर्यका कारण मानिस जङ्गली जनावर जस्तै घोडा, हात्ती, ऊँट प्रयोग गरेर आफ्नो लामो यात्रा गर्न सक्षम भयो । जङ्गलका कन्दमुल र फलफुल खाएर जीवन निर्वाह गर्ने मानिस पशु पालन र खेतीपातीबाट जीवन निर्वाह गर्ने स्थितिमा आइपुग्यो । त्यस्तै शारीरिक श्रम गरेर बाँच्ने मानिस जनावर प्रयोग गरेर आफ्नो व्यवसाय सम्पन्न गर्न थाल्यो । यसरी विकास हुँदै आएको मानव जातिले ऊर्जा पत्ता लगाएर मेसिन आविष्कार गर्न सफल भयो । यो नै उसको जीवन आमूल परिवर्तन गर्ने साधन बन्न पुग्यो । जुन अहिले पनि निरन्तर छ । यो प्रक्रिया लाखौँ वर्ष चलेको हो । लाखाँै वर्षको सङ्घर्षबाट नै मानिस आजको स्थितिमा आइपुगेको हो । यसरी लाखौँ वर्षको सङ्घर्षबाट प्राप्त मानिसका भौतिक क्षेत्रको प्रगति सभ्यता हुन् । त्यसैले सभ्यता मानिसको भौतिक क्षेत्रको प्रगति हो ।
सभ्यता भौतिक वस्तु हो त्यसैले यसलाई शरीरसँग तुलना गर्न सकिन्छ । शरीर जड वस्तु हो । भौतिक सम्पन्नता पनि मानिसका लागि जड वस्तु मात्र हो । त्यसैले मानिस भौतिक विकास र सम्पन्नताबाट सन्तुष्ट हुँदैन । ऊसँग आत्मा र मन पनि छ । भौतिक उन्नतिले मन र आत्मालाई तृप्त गर्नै सक्दैन । त्यही भएर मानिस मन र आत्मा तृप्त पार्ने साधन खोज्छ, त्यो हो संस्कृति । जुन उसको पहिचान हो । जसका लागि ऊ निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । संस्कृतिका लागि उसको सङ्घर्ष संरक्षण र उन्नत परिर्वतनका लागि हुन्छ । मानिसको लागि पृथ्वी अनन्त कालदेखि रहस्यको भण्डारका रूपमा रहेको छ । उसको लागि पृथ्वी जिज्ञासाको सङ्ग्रहालय हो । त्यही जिज्ञासाको उत्तर खोज्ने व्रmममा नै मानिसले धर्म, ईश्वर, आत्मा, ब्रह्माण्ड, जीव अर्थात् दर्शन पत्ता लगाएको छ । सौन्दर्यको रहस्य पनि मानिस मात्रले पत्ता लगाएको हो । त्यसैबाट कला, साहित्य, सङ्गीत, चित्र, मूर्ति, वास्तु आदि अझ उन्नत पार्दै र सिँगार्दै मानिस निरन्तर मन र आत्मा सन्तुष्ट पार्ने ध्याउन्नमा उद्यत् छ । 
संस्कृतिको निर्माण पनि लाखौँ वर्षको सङ्घर्षबाट भएको हो । प्रत्येक व्यक्ति संस्कृति निर्माणमा सहभागी भएको हुन्छ । करोडौँ मानिसहरूको साझा प्रयत्नबाट संस्कृति निर्माण भएको हुन्छ । यो प्रक्रिया कहिले सुरु भयो र कहिले सिद्धिन्छ भन्ने कुरा कसैले पनि भन्न सक्दैन । त्यसैले संस्कृति प्राकृतिक वस्तु हो । जसको सुरुवात आज हुने र अन्त्य भोलि हुने भन्ने हुँदैन । संस्कृति निर्माणको प्रक्रियालाई अस्ट्रेलियाको समुद्री किनारमा पाइने मुगाहरूको जट्टान निर्माणको प्रक्रियासँग तुलना गर्न सकिन्छ । असङ्ख्य मुगाहरूले समुद्री किनारमा आफ्नो वासस्थान बनाए तर त्यहीँ समाप्त भए । अरूले बनाए ती पनि समाप्त भए । यो क्रम हजारौँ वर्षसम्म निरन्तर चलिरह्यो । आज ती मुगाहरूले बनाएका वासस्थान एकअर्कासँग जोडिएर ठुला चट्टानको रूप लिएका छन् । मानिसले पनि विभिन्न परिवेश, परिस्थिति, रहनसहन, भाषा, धर्म, कला, सामाजिक संरचना र संस्थाहरू निर्माण र विकास गरेर नयाँ नयाँ संस्कृति निर्माण गरेको छ । संसारका हरेका ठाउँहरूमा संस्कृतिको निर्माण बेग्लै भए पनि तिनको निर्माण प्रक्रिया भने उही नै छ ।  
संस्कृति प्राकृतिक वस्तु हो तर यो प्रकृतिबाट जन्मँदै प्राप्त हुने कुरा होइन । जस्तै : भाषा पनि प्राकृतिक वस्तु हो तर मानिसले जन्मँदै भाषा सिकेर आएको हुँदैन । संस्कृति सामाजीकरणको एउटा प्रक्रिया हो । संस्कृति पनि मानिसले जन्मेपछि परिवारमा उपलब्ध वातावरणबाट प्राप्त गर्दै जान्छ । त्यसैले यो वंश परम्परा र सामाजिक विरासतको रूपमा मानिसले ग्रहण गर्दछ । संस्कृतिबाटै मानिस विशिष्ट सामाजिक व्यवहार हासिल गर्छ र आफ्ना सन्तान दरसन्तानमा सोही हस्तान्तरण गर्छ । यो मानिसको अस्तित्वसँग जोडिन पुग्छ । यसलाई परिष्कृत गर्दै व्यक्ति आदर्श समाज र जीवन निर्माण गर्न उद्यत् भइरहन्छ ।

संस्कृतिमा समायोजन र प्रतिस्पर्धा 

संस्कृति साध्य हो र सभ्यता साधन हो । त्यसैले सांस्कृतिक मूल्यहरूकै उपजको रूपमा सभ्यता रहेको हुन्छ । सभ्यताका नवीनतम उपलब्धिहरूले हाम्रा व्यवहार र मान्यतालाई परिवर्तन गर्दै लान्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । यसलाई मानिसले समन्वय गर्दै जान्छ । त्यस्तै भिन्न संस्कृतिहरू पनि एक अर्कामा जोडिन आइपुग्छन् । यसो हुनुको महत्त्वपूर्ण कारक मानिसको बसाइँ सराइ नै हो । प्राचीन कालमा संसारमा बसाइँ सराइको कारण अहिलेका भन्दा भिन्न थिए । वासस्थानको अभाव, खाद्यान्नको अभाव, प्राकृतिक र पारिस्थितिक प्रणाली अनुकूल नहुँदा बसाइँ सराइ भएको जीव विकासको सिद्धान्तमा उल्लेख छ । 

बसाइँ सराइले दुई वा सोभन्दा भिन्न संस्कृति भएकाहरू एकै ठाउँमा बस्नु बाध्यता थियो । यस्तो स्थितिमा तिनीहरूका संस्कृतिले एक अर्कालाई प्रभाव पार्ने नै भए । यस क्रममा सहयोग र प्रतिस्पर्धा दुई वटा स्थिति निर्माण भए । सहयोगले समता स्थापना गर्ने र प्रतिस्पर्धाले एउटाले अर्काेलाई समाप्त गर्ने अवस्था आयो । असहयोगको स्थितिमा प्रतिस्पर्धा, विरोध र सङ्घर्षका कारण बहु सङ्ख्यक र सबलहरूको संस्कृतिले अल्प सङ्ख्यक र दुर्बलहरूको संस्कृतिलाई समाप्त पारी आफ्नोमा समाहित गर्‍यो । 

ठिमाहा संस्कृति
बलियो र निर्धाेलाई दबाउने यो चलन अहिले पनि छ तर यो प्रक्रियाको रूप भने फेरिएको छ । अचेल यो राजनीतिको खोल ओढर आउँछ र नजानिँदो गरी मानिसलाई पहिचानविहीन बनाउँछ । सहयोगले समता स्थापना गरी आत्मसात्करण र व्यवस्थापन गर्‍यो । यसले गर्दा दुई वा सोभन्दा बढी भिन्न संस्कृति पनि एउटै समाजमा स्थापित हुन पुगे । यो प्रक्रिया अहिले पनि संसारभर कायम छ । जस्तै : अहिले संसारमै मानिस एक देशबाट अर्काे देश गइरहेका छन् । यसरी जानुको कारण भने भिन्न छ । रोजगारी, शिक्षा, सेवाको भावना, शरणार्थी, एडभेन्चर आदि । यसरी विभिन्न कारणले आफ्नो देश छोडेर अर्काे देशमा गएपछि संस्कृतिको समता अर्थात् आफ्नो जोगाएर अर्काको सम्मान गर्ने स्थिति आउँछ । यसैलाई आत्मसात्करण भनिन्छ । आत्मसात्करण डायस्पोरामा आफ्नो छोड्न नसकेको र अर्कासँग जोडिन नसकेको स्थितिमा रहन्छ । अनि त्यहीँ नै मिश्रित संस्कृति निर्माण हुन्छ । यसलाई अचेल हाइब्रिड अथवा ठिमाहा संस्कृति भनिन्छ । 
प्रत्येक समाजका निश्चित मूल्य मान्यता हुन्छन् । ती मूल्य मान्यता सामाजिक अन्तर्क्रियाबाट समाज आफैँमा जीवन्त हुन्छ । समाजको यही विशेषताका कारण सामाजिक मूल्य र मान्यता पनि समयको क्रमसँगै परिवर्तन हुँदै जान्छन् । एक पुस्ताबाट अर्काे पुस्तामा पुग्दा मूल्य मान्यताहरू परिवर्तन हुँदै हस्तान्तरण हुन्छन् । हिजोका व्यवहार आज र आजका व्यवहार भोलि परिवर्तन हुनु समाजको गतिशीलता हो । समाजको गतिशीलताले नै व्यवहार ठिक र बेठिक भन्ने निर्धारण गर्दछ । सामाजिक अन्तक्र्रियाबाटै समाजले नवीन विचार, दर्शन, व्यवहार प्राप्त गर्दछ । यसले नै समाजलाई परिमार्जन गर्दछ । त्यसैले गर्दा पहिलेका सामाजिक प्रचलनहरू वर्तमानमा गलत मानिन्छन् । सामाजिक परिवर्तन र रूपान्तरणलाई समान जस्तो ठानिए पनि यिनीहरू भिन्न हुन् । सामाजिक परिवर्तन क्रमिक, बिस्तारै र सजिलो हुन्छ भने रूपान्तरण विस्तृत र तीव्र हुन्छ । रूपान्तरणले समाजमा नयाँ मानक र मूल्य निर्धारण गर्दछ । सामाजिक परिवर्तन र रूपान्तरणका क्रममा पहिलेका प्रचलनलाई अकाट्य सत्य मानेको पुस्ता र नयाँ मानक र मूल्य निर्धारण गर्ने पुस्ताबिच सोचाइ र व्यवहारमा अन्तर देखिन्छ । 

पुस्तान्तरको परिचय
शाब्दिक अर्थमा पुस्ता भनेको बराजु, बाजे, बाबु, छोरो, नाति, पनाति आदि पूर्वापर वंश परम्परा हो । यी एक पुस्ताबाट अर्काे पुस्तामा देखिने अन्तर नै पुस्तान्तर हो । पुस्तान्तरले अघिल्लो र पछिल्लो पुस्तामा देखिने विचार, शैली र व्यवहारमा देखिने भिन्नतालाई बुझाउँछ । पुस्तान्तर दुई पुस्ताबिचको सोच्ने शैली, फरक स्वभाव र व्यवहारले सिर्जना गरेको असमझदारी हो । यसलाई अझ स्पष्टरूपमा युवा पुस्ता र पाको पुस्ताबिचको दैनिक व्यवहार र सामाजिक व्यवहारमा देखिने असमझदारी भन्न सकिन्छ । अघिल्लो पुस्ता समाजले निर्माण गरेका मूल्य मान्यता तथा परम्परादेखि चल्दै आएका प्रचलन बिना सर्त स्वीकार गर्नुपर्ने धारणा राख्छ भने वर्तमान पुस्ता शिक्षा र प्रविधिले चेतनामा ल्याएको परिवर्तनका कारण कतिपय परम्परागत मूल्य मान्यता र प्रचलनलाई अनावश्यक ठान्छ । यस्तो बेलामा दुई पुस्ताका बिच विचार र व्यवहारमा असमझदारी र द्वन्द्व पनि देखिन्छ । यसरी सिर्जना हुने असमझदारी र द्वन्द्व व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई नै पनि चुनौतीपूर्ण हुन्छ । त्यसैले पुस्तान्तरलाई समस्याको रूपमा आउन नदिई समायोजनको रूपमा विकास गर्नुपर्ने अवधारणा सन् १९६० पछि संसारमा विकास भएको छ । विकसित राष्ट्रहरू यो समस्याप्रति चिन्तित भई समायोजनका लागि प्रयासरत रहे पनि अल्प विकसित राष्ट्रहरूमा कुनै प्रयास भएको पाइँदैन । 

पुस्तान्तरका कारण
प्रत्येक पुस्तालाई आफ्नो समय, व्यवहार र प्रचलनहरू ठिक हुन् तर पछिल्लो पुस्ताको समय, व्यवहार र प्रचलनहरू बेठिक हुन् भन्ने लाग्छ । त्यसैले प्रत्येक पुस्ता आफूलाई सभ्य र शिष्ट ठान्छ अनि पछिल्लो पुस्तालाई असभ्य, अशिष्ट र अश्लील ठान्छ, साथै संस्कृति, परम्परा भत्काएको र मासेको आरोप लगाउँछ । त्यसैले पुस्तान्तरको कारण नै अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई गर्ने व्यवहार हो । युवा पुस्ताको स्वतन्त्रतावादी सोच र पुरानो पुस्ताको पुरातनवादी सोचको टकराव नै पुस्तान्तरको कारण र समस्या हो । प्रत्येक व्यक्ति आफूपछिको पुस्ता जिम्मेवारीप्रति जिम्मेवार नबनेको आरोप लगाउँछ र नयाँ पुस्ता खराब भएको ठान्छ । नयाँ पुस्तालाई विश्वास नगरिनु नै पुस्तान्तरको कारण हो । कोही पनि व्यक्ति परिवारदेखि राष्ट्रको नेतृत्व गर्ने स्थानसम्म नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न चाहँदैन । अर्थात् नयाँ पुस्ताप्रति विश्वास गरिँदैन । आफू वयस्क भइसक्दा पनि अग्रजहरूले बालक जस्तो व्यवहार गर्ने, दाह्रीजुँगा नआएको भन्ने, ओठ निचोर्दा दुध आउने जस्ता अभिव्यक्तिले नयाँ पुस्ता आव्रmामक बन्छ । त्यसपछि नयाँ पुस्ता पुराना पुस्ताको अपेक्षाभन्दा भिन्न व्यवहार देखाउन थाल्छ । भिन्न व्यवहार देखाउनु उसको विद्रोह हो । तर उसलाई आक्षेप लगाइन्छ र समाज र जीवनबाटै ऊ पलायन हुन पनि सक्छ । 
पुरानो पुस्ता आफूलाई र आफ्नो समयलाई अत्यन्तै आदर्श र सफल ठान्छ । त्यसैले ऊ नयाँ पुस्तालाई अर्ती दिनु आफ्नो कर्तव्य ठान्छ । तर पुरानो पुस्ताका अनुभव र अर्ती नयाँ पुस्ताका लागि समय सुहाउँदो नहुन सक्छ । फेरि नयाँ पुस्ता पुरानो पुस्ताको अर्ती र उपदेशप्रति खासै ध्यान पनि दिँदैन । यसरी पुरानो पुस्ताले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण नगर्नु, विश्वास नगर्नु, स्वीकार गर्न नसक्नु, बालक झैँ व्यवहार गर्नु, नकारात्मक मात्र ठान्नु, तथा अर्ती उपदेश मात्र दिनु तथा नयाँ पुस्ताले पुरानो पुस्ताका हरेक व्यवहार वहियात ठान्नु, उनीहरूका व्यावहारिक अनुभव नसुन्नु, सम्मान नगर्नु, अर्ती उपदेश नमान्नु पुस्तान्तरका कारण हुन् ।

पुस्तान्तरका क्षेत्र  
पुस्तान्तर कुनै एक विषयमा मात्र देखिँदैन । यो त मानव जीवनका हरेक क्षेत्र र व्यवहारमा देखिन्छ । त्यसैले पुस्तान्तरका लक्षणहरू कुनै एउटालाई मात्र नभई समग्रतामा हेर्नुपर्ने हुन्छ । भाषा, बोल्ने शैली, पहिरन, प्रयोग गर्ने वस्तुहरू, खाना, खानेशैली, गीत सङ्गीत, साहित्य, कला, नाटक, फिल्म, रुचि, सूचना प्रविधिको बढ्दो प्रयोग आदि सबै पुस्तान्तरका सूचक हुन् । यिनै कुराहरूले नयाँ पुस्तामा नवीन धारणा बसाल्छन् भने यी कुरा सिर्जना गर्नेले नयाँ पुस्ताको रुचिअनुसार सिर्जना गर्दछन् । वर्तमान समयमा हरेक उत्पादन नयाँ पुस्तालाई लक्षित गरेर उत्पादन गरिन्छ । साथै नयाँपन दिइएको पनि हुन्छ । त्यसैले नयाँ पुस्ता र पुरानो पुस्ताबिच अन्तर देखिन्छ ।   

पश्चिमा संस्कृतिमा पुस्तान्तर
मानव सभ्यताको सुरुवातदेखि नै पुस्तान्तर रहेको भनिए पनि पुस्तान्तरकै कारण समाजमा स्पष्ट समस्या सिर्जना भएको चाहिँ बिसौँ शताब्दीको मध्यदेखि हो । पुस्तान्तर र यसले सिर्जना गरेको समस्यातर्फ इङ्गित गर्दै इशापूर्व चौथो शताब्दीका महान् दार्शनिक तथा चिन्तक सोक्रेटसको भनाइ यस्तो रहेको छ, “हाम्रा अहिलेका युवाहरू विलासिता मन पराउँछन् । उनीहरूका आचरण खराब छन् । अधिकारीहरूको अधिकारमा रहँदैनन् । उनीहरू बुढापाका मानिसहरूप्रति अनादर गर्छन् र आफ्नै इच्छामा रमाउँछन् । जब उमेरमा पाको मानिस कोठामा प्रवेश गर्छन्, उनीहरू आफ्नो स्थानबाट उठ्दैनन् । अभिभावकको विपरीत छन् । साथीहरूसँगै स्वेच्छिक खाना रुचाउँछन् र शिक्षकहरूप्रति खराब व्यवहार गर्छन् ।”
सोक्रेटसको माथिको भनाइले तत्कालीन समाजमा नयाँ पुस्ताको बदलिँदो व्यवहारलाई चित्रण गरेको छ । उक्त भनाइमा नयाँ पुस्ताको कमजोरी मात्र देखाइएको छ । यसबाट के स्पष्ट हुन्छ भने पुस्तान्तर पुरानो पुस्ताले नयाँ पुस्तालाई लगाउने दोषबाट उत्पन्न भएको हो । 
प्राचीन कालमा पुस्तान्तर निकै लामो समयको अन्तरमा देखिन्थ्यो । यसको कारण भनेको मानिसहरूको सम्पर्कको अभाव, भौगोलिक दूरता, कठिनाइ, यातायातको अभाव, सूचना सम्प्रेषणको अभाव आदि थिए । तर वर्तमान समयमा पुस्तान्तर छिटो छिटो देखिन्छ । यसमा सहज सामाजिक सम्पर्क, यातायातको सुविधा, सूचना प्रविधिमा आएको युगान्तकारी परिवर्तन, वैदेशिक रोजगारको सहज पहुँच, विश्वव्यापीकरणले महत्त्वपूर्ण भूमिका खेलेका छन् । 
सन् १९६० मा पश्चिमी संसारमा सामाजिक भूकम्प नै ल्याइदियो पुस्तान्तरले । चलिआएको मान्यता विपरीत तर अराजक शैलीमा मूलधारको संस्कृति र जीवन शैलीलाई अस्वीकार गरी नयाँ संस्कृति र जीवन शैली निर्माण गर्ने समूह निर्माण भयो, जसलाई हिप्पी भनिन्छ । सान्सफ्रान्सिस्कोको हेएट एसबरी यसको केन्द्र थियो । तर, यो संस्कृति भञ्जनको धक्का विश्वभरि फैलियो । दोस्रो विश्वयुद्ध र त्यसपछि भियतनाम युद्धबाट प्रभावित तथा बिचमै पढाइ छाडेकाहरू जीवनलाई फरक ढङ्गले जिउन चाहन्थे । त्यसैले हिप्पीहरूको ‘न्यु कल्चर’ उनीहरू अटाउने ठाउँ भइदियो । प्रेम र शान्ति नै थियो हिप्पीहरूको पनि लक्ष्य तर त्यसको लागि उनीहरूले अपनाएको व्यवहार समाजका लागि छाडा भइदियो । उनीहरूले अपनाएको व्यवहार लागु पदार्थको सेवन, स्वैच्छिक यौन सम्बन्ध र सङ्गीत थिए । त्यसकारण परम्परागत संस्कृति र अनुशासन मान्नेहरूका लागि उनीहरू संस्कृति भञ्जक मात्र होइन छाडा र बेकामे भइदिए । 
हिप्पीहरूको नारा नै थियो ‘इफ इट फिल्स गुड, डु इट’ आर्थात् तिमीलाई मन परेको कुरा गर । नाराको अन्तर्य व्यक्तिगत स्वतन्त्रता थियो । हिप्पीहरूले जीवनलाई आफ्नो लागि मात्र बुझे । उनीहरूको यो बुझाइ स्थापित गर्ने कार्य त समाजले नै गरेको थियो । किनकि समाज त गतिशील छ । गतिशील समाजमा हुर्किँदो पुस्ताको आकाङ्क्षा अनुमान गर्ने र सम्बोधन गर्ने भनेकै अघिल्लो पुस्ताले हो । तर अघिल्लो पुस्ताले यसमा ध्यान नदिँदा हिप्पी सब कल्चरको रूपमा उदायो । 
जीवन अर्काको लागि ज्यादा आफ्नो लागि कम भन्ने परम्परागत मान्यता भएको समाजले हिप्पीको व्यक्तिगत स्वतन्त्रतालाई अनुशासनहीन ठान्यो । वास्तवमा जीवन आफ्ना लागि भन्ने मान्यताले अरूलाई खुसी पार्न सक्दैन र त्यो अपेक्षा पनि गरिनु हुन्न । साथै यो दृष्टिकोणले सामाजिक अनुशासन पनि मान्ने कुरा भएन । त्यही सामाजिक नियम र अनुशासन नमान्नेहरू हिप्पी कहलिए । 
समाजको चरित्र वा विशेषता भनेकै सामाजिक नियम बनाउने तर त्यही समाजका व्यक्तिको रुचि र चाहना सम्बोधन नगर्नु हो । प्रत्येक व्यक्तिमा महत्त्वाकाङ्क्षा हुन्छ । यो प्राकृतिक कुरा पनि हो । तर समाजले व्यक्तिका महत्त्वाकाङ्क्षा पुरा गर्दैन । व्यक्तिगत स्वभाव, महत्त्वाकाङ्क्षा र समाजको सामञ्जस्य नहुँदा व्यक्ति निराश बन्छ र पलायनको स्थितिमा पुग्छ । त्यसैले समाजमा सफल कम असफल बढी मानिस हुन्छन् । सामाजिक नियम र अनुशासनमा बस्नुपर्ने तथा परम्परागत संस्कृति तोड्न नहुने कठोर परिस्थितिले व्यक्तिगत जीवनको सफलता प्रत्याभूत नगर्ने तर सोही परिस्थितिमा व्यक्तिलाई ‘असफल’, ‘आवारा’, ‘लफङ्गा’ घोषणा गर्ने प्रचलन विरुद्ध तत्कालीन र वर्तमान समाजमा विद्रोह भए र भइरहेका छन् । विद्रोहका स्वरुप भने फेरिएका छन् । वास्तवमा यो अघिल्लो पुस्ताले नयाँ पुस्तालाई स्वीकार गर्न र उनीहरूका चाहना सम्बोधन गर्न नसक्दा सिर्जना भएको पुस्तान्तरको समस्या थियो । 
हिप्पीहरूले आफ्ना पीडा व्यक्त गर्न र अघिल्लो पुस्तासँग विद्रोह गर्न ज्याज म्युजिक र रक म्युजिकलाई साधन बनाए । वास्तवमा यी सङ्गीत सीमान्तकृत समूहहरूले आफ्नो पीडा व्यक्त गर्ने तरिका थियो । ओभर ल्यापिङ म्युजिकमा चिच्याएर गाउनु तिनको विशेषता थियो । यसले किशोर समूहमा छिटै प्रभाव पा¥यो । सन् १९६५ मा इङ्ल्यान्डको चर्चित रक समूह ‘द हु’ ले गाएको ‘टकिङ अबाउट माई जेनेरेसन’ विश्वभरि नै रुचाइयो । उक्त गीतमा अघिल्लो पुस्तालाई नयाँ पुस्ताको प्रगतिप्रति इर्स्यालु, प्रगति गर्न नदिने, क्रोधपूर्ण व्यवहार गर्ने र मार्नसमेत तत्पर हुने आरोप लगाइएको छ । अघिल्लो पुस्ताको समाजका नियम र अनुशासनप्रति नयाँ पुस्तामा आक्रोश र निराशा पनि छाएको भाव व्यक्त भएको छ । साथै तत्कालीन समाजमा पुस्तान्तरका कारण भयावह समस्या सिर्जना भएको सङ्केत गरिएको छ । 

नेपाली समाजमा पुस्तान्तर
पुस्तान्तर मानव सभ्यताको सुरुवातदेखि नै कुनै न कुनैरूपमा थियो । नेपाली समाजमा विदेशी संस्कृतिको प्रभाव नै पुस्तान्तरको कारण हो । वि.सं. १९०६ मा जङ्गबहादुर राणाले बेलायत भ्रमण गरे । त्यहाँको वैभव, विकास र विलासी जीवनबाट प्रभावित राणाले नेपाल आएर त्यसकै सिको गर्ने प्रयास गरे । फलस्वरुप अङ्ग्रेजी भाषा र औपचारिक शिक्षा दुई वटै कुरा एकै पटक नेपाल भित्रिए । वि.सं. १९१० मा खुलेको नेपालको पहिलो विद्यालय दरबार स्कुलका सुपरिवेक्षक र प्रधानाध्यापक दुवै बेलायतबाट ल्याइएका थिए । अङ्ग्रेजहरूसँगको सम्पर्क र सम्बन्धबाट राणा खानदानमा पुस्तान्तर सुरु भएको हो । राणाहरूको पुस्तामा अङ्ग्रेजी प्रभाव तीव्र पर्‍यो । यो प्रभाव भाषा, पोसाक, पद, रक्सी, यौन, विलासिताका वस्तुको प्रयोग, शिक्षा, प्रविधि, वैवाहिक सम्बन्ध तथा सोचाइमा समेत देखियो । यसकै कारण राणाकालमा शासन सत्ता टिकाउन गरिएका प्रयासस्वरुप विकासका कार्यहरूमा पनि पुस्तान्तर देखियो । 
जङ्गबहादुर राणाले प्रथम विश्वयुद्धमा अङ्ग्रेज फौजमा नेपाली सेना पठाए । अङ्ग्रेज सेनाको कमान्डमा बसेको गोर्खाली सेनाले उनीहरूको व्यवहार नजिकबाट देख्ने मौका पाए । साथै उनीहरूको व्यवहार र सोचाइले पनि नेपालीहरूलाई प्रभाव पा¥यो । फेरि संस्कृति र सभ्यता भन्ने कुरा सबलले दुर्बलमाथि पार्ने प्रभाव हो । विश्वयुद्धपछि गोर्खाली जवानहरू बेलायत त जान पाएनन् बरु बेलायती संस्कृति भने उनीहरूले ल्याए । फर्केका जवानहरूमा अङ्ग्रेजी प्रभाव देखियो । यसको प्रभाव शिक्षाको महत्त्व, पोसाक, भाषा, व्यवहार र सोचाइमा देखियो । यो नेपाली समाजमा देखिएको पुस्तान्तर थियो । लाहुरे संस्कृतिको विकास यसैबाट भएको हो । 
नेपालमा परम्परागत संस्कृति, समाजका कठोर नियम र अनुशासन, अघिल्लो पुस्ताको परिवर्तन हुन नखोज्ने प्रवृत्ति तथा तत्कालीन राणा सरकार विरुद्ध विद्रोह गर्ने नारी योगमाया न्यौपाने हुन् । योगमाया नेपाली सांस्कृतिक क्रान्तिकी नायिका, साहित्यकार एवम् सामाजिक कुसंस्कार र अन्ध विश्वासको जालो च्यात्ने प्रतिभा थिइन् । विं सं. १९१७ सालमा भोजपुरको दिङ्लामा जन्मेकी योगमाया साधना र स्वर्गद्वारीका अभयानन्द द्वितीयबाट दीक्षित थिइन् । राणाकालीन समयकी विदुषी योगमाया जसले जुद्ध शमशेरका दरबारका पण्डितहरूलाई पनि शास्त्रार्थमा हराएकी थिइन् । पौराणिक ग्रन्थमा लेखिएका नारी विभेदप्रति विरोध गरेकी योगमाया नेपाली समाजकी अद्वितीय क्रान्तिकारी नारी हुन् । तत्कालीन समाजमा व्याप्त नारीप्रतिको खराब दृष्टिकोण, विभेद र राज्यसत्ता विरुद्ध आफ्ना शिष्यहरूसहित वि.सं. १९९८ असार २२ गते अरुण नदीमा सामूहिक जल समाधि गरेकी थिइन् । योगमायाको नेतृत्वमा भएको सामूहिक आत्महत्या पुस्तान्तरका कारण सिर्जित भयानक घटना हो ।
नेपाली राजनीतिक घटनाक्रम र राजनीतिक परिवर्तन सबै पुस्तान्तरकै उपज हुन् । किनभने राणा शासन, पञ्चायती व्यवस्था, माओवादीको जनयुद्ध र राजतन्त्र विरुद्ध भएका आन्दोलन पुस्तान्तरकै कारण हुन् । त्यस्तै राज्यको मूलधारबाट लखेटेर किनारमा  पुर्‍याइएका आदिवासी, जनजाति, महिला, अपाङ्ग, सीमान्तकृतहरूले आफ्ना हक अधिकारका आवाज उठाउनु, सङ्घर्ष गर्नु पुस्तान्तरकै कारण हो । नयाँ पुस्तामा आएको नवीन सोच र स्वतन्त्रताप्रतिको लगाव नै नेपालका राजनीतिक परिवर्तनका कारण हुन् । राज्य व्यवस्था परिवर्तन गर्ने सोच पुस्तान्तर नै हो तर परिवर्तनपछिको राजनीतिक वागडोर अघिल्लो पुस्ताकै हातमा हुँदा, नयाँ पुस्तालाई विश्वास नगर्दा र जिम्मेवारी हस्तान्तरण नगर्दा परिवर्तन संस्थागत हुन नसकेको स्पष्ट छ । 
हाम्रो समाजमा पुस्तान्तर सङ्केत गर्ने लिखित सामग्री हाम्रै साहित्य हुन् । मोतीराम भट्टका शृङ्गारिक गजलहरू पुस्तान्तर सङ्केत गर्ने कृति हुन् । मोतीरामका गजलहरूमा यौनलाई निर्वाध विषय वस्तु बनाइएको छ । त्यस्तै ‘सुक्तिसिन्धु’ तत्कालीन समाजको दृष्टिकोणभन्दा भिन्न कृति हो । समाजको मूल्य र मान्यता विपरीत यो कृति वि.सं. १९७४ मा प्रकाशित भएर प्रतिबन्ध लगाइएको थियो । वि.सं. १९९१ मा लक्ष्मीप्रसाद देवकोटाले स्वच्छन्दतावादी कविता लेखनको सुरुवात गरे । यो नेपाली कवितामा पुस्तान्तर नै थियो । गोपालप्रसाद रिमालले छन्दमा कविता लेख्ने परम्परा छोडेर गद्यमा कविता लेख्ने सुरुवात गरे । कविता कोमल मनको अभिव्यक्ति हो तर शास्त्रीय नियमका कठोर मान्यताको चौघेरोभित्र रहेर कविता रचना गर्नु नयाँ पुस्ताका लागि सह्य भएन । मानव मनका भाव सहज अभिव्यक्त गर्न गोपालप्रसाद रिमालले गद्य शैलीमा कविता लेखन सुरु गरे । यो पनि नेपाली कवितामा पुस्तान्तरकै उपलब्धि हो । वि.सं. २०१७ सालमा मोहन कोइरालाले प्रयोगवादी कविता लेखन सुरु गरे । जीवनका जटिलतालाई दुर्वाेध्य शैलीमा प्रस्तुत गर्नु नेपाली साहित्यको पुस्तान्तर थियो । त्यस्तै कथा, उपन्यास, नाटकमा पनि अस्तित्ववादी, विसङ्गतिवादी, अतियथार्थवादी दृष्टिकोणहरू आए । तेस्रो आयाम साहित्यिक आन्दोलन नै सुरु भयो दार्जिलिङबाट । वि.सं. २०३० पछि भने नेपाली साहित्यमा नवीनता, तार्किकता, बौद्धिकता, विद्रोहात्मकता, गद्यात्मकताको बहुलता देखिए । वर्तमान समयका प्रगतिवादी, कलावादी र पहिचानवादी साहित्यिक कृतिहरू पनि पुस्तान्तरकै उपलब्धि हुन् ।  
बालकृष्ण समको नाटक ‘मुकुन्द–इन्दिरा’ विषय वस्तु र पात्र दुवैका दृष्टिले पुस्तान्तर सङ्केत गर्ने नाट्यकृति हो । उक्त नाटकमा मुकुन्दले अध्ययनका लागि कलकत्तामा बस्दा गरेका बानी व्यवहार हिप्पीकै जस्तो छ । गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ कथामा अघिल्लो पुस्ता र नयाँ पुस्ताबिचको भाषा, पहिरन, स्वभाव, हेयर स्टायल, जीवन दर्शनमा पुस्तान्तर देखाइएको छ । त्यस्तै वीपी कोइरालाले तत्कालीन समाजमा रहेको यौनकुण्ठालाई कथा र उपन्यासमार्फत प्रस्तुत गरे । यसले पनि यौनसम्बन्धमा अघिल्लो पुस्ता र नयाँ पुस्ताबिचको अन्तर देखाएको छ । नेपाली साहित्यमा भएका आन्दोलनहरू राल्फा, अस्वीकृत जमात, भोको भुँडी, बुट पोलिस अघिल्लो पुस्ताको विरोध हुन् । यी साहित्यिक आन्दोलनहरू पनि पुस्तान्तर नै हुन् । साहित्यका परम्परागत मान्यता विपरीत नयाँ प्रयोगहरू अद्यापि भइरहेका छन् । साहित्यका विषय वस्तु, संरचना, शैली, भाषाको प्रयोग, परिवेश, जीवनका कठिनाइहरू, साहित्यको आयाम आदि क्षेत्रमा पुस्तान्तर देखिएको छ । 

नेपालमा हिप्पीको प्रवेश र पुस्तान्तरको समस्या
सन् १९६० मा पश्चिमा समाजमा आएको सामाजिक भूकम्पको धक्का त्यसको केही वर्षपछि नेपाली समाजमा पनि महसुस गरियो । यो धक्का नेपालमा सान्सफ्रान्सिस्कोबाटै आएको थियो । हिप्पीहरू टर्की हुँदै इरान, अफगानिस्तान, पाकिस्तानको लाहोरबाट भारतको वनारस हुँदै काठमाडौँ भित्रिए । काठमाडौँ भित्रिएका हिप्पीहरूका लागि शिवजीको प्रसाद गाँजा स्वतन्त्र किनबेच हुने र प्रयोग गर्न पाइने तथा हल्का चिसो मौसम स्वतन्त्र आश्रय स्थल बन्न पुग्यो । सन् १९७३ सम्म काठमाडौँमा गाँजा र चरेसको विक्री वितरण वैध नै थियो । त्यसैले यहाँको स्वतन्त्रता हिप्पीहरूका लागि कैलाश पर्वत नै भइदियो । हिप्पीहरूको आगमनले काठमाडौँको नयाँ पुस्तालाई पनि प्रभाव पा¥यो । त्यो प्रभाव भने हिप्पीहरूको पछि लागेर युरोप र अमेरिका छिर्ने ध्याउन्नमा रहेका युवा युवतीहरूलाई बढी प¥यो । हिप्पीहरूको नजिक जाने, उनीहरूसँगै गाँजा चरेस खाने जस्ता कुराले र हिप्पीहरूको ‘इफ इट फिल्स गुड, डु इट’ जीवन दर्शनले तत्कालीन नयाँ पुस्तामा प्रभाव पा¥यो । सन् १९७३ मा सरकारले गाँजा चरेसको विक्री वितरणमा रोक लगाएपछि र हिप्पीहरूमा निगरानी राख्न थालेपछि हिप्पीहरू नेपालमा सिद्धिँदै गए । तर तिनको प्रभावले नेपाली हिप्पीहरूको जन्म भयो । जुन आजपर्यन्त छ । 
वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनाले नेपाली समाजमा आमूल परिवर्तन ल्यायो । सूचना प्रविधिले संसारमा ल्याएको युगान्तकारी परिवर्तन, वैदेशिक रोजगारी, विदेशमा उच्च शिक्षा लिने चलन, पुँजीवादी अर्थ व्यवस्था, अङ्ग्रेजी भाषाको बढ्दो लोकप्रियता जस्ता कुराले सहरमा मात्र देखिने पुस्तान्तर दुर्गम गाउँमा पनि पुग्यो । वैदेशिक रोजगार त नेपालीलाई संसार चियाउने साधन भइदियो । स्थानीय खाना, पोसाक, गीत सङ्गीत हराउँदै गए । रेडिमेड खाना, विदेशी पोसाक र सङ्गीत स्थापित हुँदै गए । मौलिक र परम्परागत प्रचलनहरू असभ्य भए । यसकै कारण अघिल्लो पुस्ता र नयाँ पुस्ताबिच समस्या सिर्जना भयो । 
संयुक्त परिवार हाम्रो विशेषता थियो तर एकल परिवार र अपार्टमेन्टको बसाइ खोज्न थाल्यो नयाँ पुस्ता । वृद्ध बाबुआमाको हेरचाह गर्नु, तीर्थ व्रत गराउनु हाम्रो पौराणिक मान्यता थियो तर नयाँ पुस्ता आफ्नो करियर बनाउने ध्याउन्नमा घर छोडेर विदेश जाने तथा स्वदेशमै भएकाहरू पनि वृद्धाश्रम खोलेर बाबुआमा थन्क्याउन थाले । जन्मदिनमा अष्ट चिरञ्जीवीको पूजा लगाउनु हाम्रो संस्कृति हो तर नयाँ पुस्ता केक काटेर बर्थ डे मनाउँछ । बलेको दियो दीर्घायुको प्रतीक हो तर नयाँ पुस्ता बलिरहेको क्यान्डिल निभाएर दीर्घायुको कामना गर्छ । आत्मिक सुख खोज्छ अघिल्लो पुस्ता तर भौतिक सुख खोज्छ नयाँ पुस्ता । त्यसैले एकले अर्काेलाई पागल ठान्छन् । सत्य छुट्टिँदैन किनकि आफूलाई खुसी पार्नेले अरूलाई खुसी पार्न सक्दैन अनि अरूलाई खुसी पार्नेले आफूलाई खुसी पार्न सक्दैन । नयाँ पुस्ताले सबै परम्परागत मान्यता धान्नुपर्छ भन्ने होइन तर यसमा अघिल्लो पुस्ता र नयाँ पुस्ताबिचमा समझदारी चाहिँ हुनुपर्छ भन्ने हो । नत्र पुस्तान्तरकै कारण परिवारमा समस्या सिर्जना हुन्छ । पुरानो पुस्ता पनि रुढ नहुने र नयाँ पुस्ता पनि स्तन्त्रताका नाममा अराजक नबन्ने हो भने समायोजन हुनसक्छ ।

निष्कर्ष
भारतीय लेखक चेतन भगत भन्छन्, ‘अभिभावकहरू आफ्ना नानीलाई बिस्कुटदेखि केटीसमेत आफैँ रोज्न चाहन्छन् तर उनीहरूको रुचि ख्याल गर्दैनन् ।’ भगतको भनाइले अभिभवाकहरू आफ्ना सन्तानमाथि ओभर केयर गर्छन् । तर युवा युवतीहरू आफूमाथि गरिएको ओभर केयरलाई स्वतन्त्रता खोसिएको ठान्छन् । खास कुरा के हो भने मानिस जब बाबु वा आमा बन्छ तब उसले आफ्नो युवा कालीन रुचि र चाहना बिर्सन्छ । नयाँ पुस्ता पनि बाबु वा आमा बनेपछि आफ्ना अभिभावकले आफूमाथि गरेको व्यवहार सही रहेछ भन्ने निष्कर्षमा पुग्छ । त्यसैले हरेक व्यक्ति बाबु वा आमा बनेपछि आफ्ना बाबुआमा सही थिए भन्छ । यो चक्र यसरी नै सदियौँदेखि चलिरहेको छ र चलिरहने छ । 
मानिसको चेतना र समाजको गतिशीलताले गर्दा प्रत्येक पुस्ताको रुचि, स्वभाव, चाहना, आवश्यकता फरक हुन्छ । त्यसैले पुस्तान्तर स्वाभाविक कुरा हो । पुस्तान्तरलाई समस्याको रूपमा लिनु परिवार, समाज, राष्ट्र र विश्वकै लागि खतरा हुन्छ । हिप्पीको शान्ति र प्रेमका लागि गाँजाको सेवन र खुला यौन सम्पर्क समाज अनुकूल थिएन । त्यस्तै अवैज्ञानिक कठोर सामाजिक नियम र अनुशासन पनि युवा पुस्ताका लागि सह्य हुँदैन । त्यसैले पुस्तान्तरबाट सिर्जित समस्या निराकरण गर्न नीतिशास्त्रमा भनिए जस्तो सन्तान जन्मेको पाँच वर्षसम्म माया गरेर हुर्काउने, १५ वर्षसम्म अनुशासन सिकाउने अनि १६ वर्षदेखि मित्रवत् व्यवहार गर्नु नै उत्तम उपाय हो ।

सन्दर्भ सूची :
आचार्य बलराम, समाज र संस्कृतिको विश्लेषण : काठमाडौँ, नेसनल बुक सेन्टर ।
दाहाल पेशल, प्राचीन मानव संस्कृति : काठमाडौँ, २०४४ ।
दास प्रभाकरलाल, मनवशास्त्र, मानव उद्विकास तथा प्रागैतिहासिक संस्कृति : काठमाडौँ, रेखारानी प्रकाशन ।
पोखरेल ईश्वर, नेपाली समाज र संस्कृति : काठमाडौँ, अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन ।
पोखरेल श्यामराज, नेपाली समाज र संस्कृति : काठमाडौँ, एकता बुक्स ।
भट्टराई गोविन्दराज, उत्तरआधुनिक ऐना :  काठमाडौँ, रत्न पुस्तक भण्डार । 
भट्टराई गोविन्दराज, काव्यिक आन्दोलनको परिचय : काठमाडौँ, रत्न पुस्तक भण्डार ।
भट्टराई गोविन्दराज, उत्तर आधुनिक विमर्श : काठमाडौ, मोडर्न बुक्स । 
मिश्र चैतन्य, बदलिँदो नेपाली समाज : काठमाडौँ, फाइन प्रिन्ट ।  

शर्मा, मोहनराज र दयाराम श्रेष्ठ, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास : काठमाडौँ, साझा प्रकाशन ।

No comments:

Post a Comment

कस्ले राम्रो भन्छ ? (मुक्तक)

 सञ्जालमा फोहोर गरेपछि कस्ले राम्रो भन्छ ? कर्मयोगीलाई मुख छोडेपछि कस्ले राम्रो भन्छ ?  दुनियाँको उन्नति र प्रगतिमा आफैँ जलेपछि आफ्नै कुण्ठा...