Tuesday, August 5, 2025

रिडर्स झापा : स्रष्टा साक्षात्कारदेखि कला साहित्य उत्सवसम्म

 स्रष्टा साक्षात्कारदेखि कला साहित्य उत्सवसम्म




दामोदर ढुङ्गेल


२०६४ साल वैशाखदेखि अनौपचारिकरूपमा विभिन्न क्षेत्रमा सक्रिय युवाहरूले शनिवार बिहानको समयमा भेला भई समसामयिक विषय र आफूले पढेका पुस्तकहरूको बारेमा गरेको छलफल नै रिडर्स झापाको बिजविन्दु हो । सुरुवातमा ५÷६ जना युवाहरूको भेटघाट र छलफल गर्ने थलो नै पछि ‘रिडर्स झापा’ भयो ।

पुस्तक किन्ने, साटेर पढ्ने तथा काँकरभिट्टामै रहेको सहकारी पुस्तकालयको सदस्य बनेर अध्ययन गर्ने कार्यले रिडर्स झापाका युवाहरूमा अध्ययन गर्ने बानीको विकास गर्दै लग्यो । पढेका कुराहरूका बारेमा आपसमा छलफल गर्ने कार्यले यसलाई सिकाइ केन्द्रको रूपमा विकास ग¥यो । 

अध्ययनको क्रमसँगै पुस्तकका लेखकसँगै बसेर कृतिमाथि छलफल गर्ने सोच विकास भयो । यसै क्रममा रिडर्स झापाले स्रष्टा साक्षत्कार कार्यक्रम गर्ने निधो ग¥यो । सुरुवात आफ्नै ठाउँबाट भन्ने उद्देश्यले काँकरभिट्टामा रहेर साहित्यिक कर्म गरिरहनु भएका आख्यानकार पुण्यप्रसाद खरेलको ‘द्वन्द्व र धुवाँ’ कथा सङ्ग्रहमाथि पहिलो पटक स्रष्टा साक्षात्कार कार्यक्रम गरियो । न आसन ग्रहण न मन्तव्य, स्रष्टालाई अघिल्तिर राखेर स्रोताले कथाको विषय वस्तु, लेखन शिल्प, पात्र, वर्गीय चेतना, उद्देश्यमाथि प्रश्न गरेका थिए । कार्यक्रमको परम्परागत संरचनाभन्दा बिल्कुलै नयाँ ढाँचाले सहभागी सबैलाई चकित बनायो । यही संरचना नै रिडर्स झापाको कार्यक्रम शैली बन्यो । 

साप्ताहिक भेटघाट र छलफल भइरहे पनि खास देखिने कार्यक्रम पातलै गर्ने रिडर्स झापाको सोच थियो । संस्था औपचारिक पनि नभएको र आर्थिक व्यवस्थापन पनि साप्ताहिक छलफलमा नियमित आउने ४÷५ जनाले मात्र गर्ने भएकाले यसो गर्नु बाध्यता थियो । फेरि धेरै कार्यक्रम गर्दा प्रचार बढी हुने र समाजको अपेक्षा पनि बढ्ने भएकाले कार्यक्रम थोरै गर्ने कुरामा एक प्रकारको सहमति थियो । 

साप्ताहिक भेटघाटमा राजनीति, शिक्षा, वैदेशिक रोजगार, अर्थ व्यवस्था, स्वास्थ्य सेवा, मानव अधिकार आदि विभिन्न विषयमा छलफल हुन्थे । यसले हामीलाई ज्ञानको क्षितिज फराकिलो बनाउन मद्दत ग¥यो । यसै सन्दर्भमा हामीले ‘इन सर्च अफ रियाल’ डकुमेन्ट्री प्रदर्शन ग¥यौँ । डकुमेन्ट्री निर्माणमा सहभागी पत्रकार देवेन्द्रराज भट्टराईको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीले प्रदर्शनपछि भट्टराईलाई विभिन्न प्रश्न गरेका थिए । वैदेशिक रोजगारीको वास्तविकता प्रस्तुत गरेको उक्त कार्यक्रमले हामीलाई सामाजिक सचेतनाका लागि अझै जागरुक बनायो । 

२०६८ सालको जेठ महिनामा ‘पत्रकारिता र जबाफदेही’ शीर्षकमा रिडर्स झापाले झापा जिल्लाबाट प्रकाशित हुने पत्रिकाका सम्पादकहरूसँग अन्तक्र्रिया कार्यक्रम ग¥यो । समाचारको निष्पक्षता, भाषा, व्याकरण, समाचारको सामाजिक प्रभाव, विज्ञापन आदि विषयमा गरिएको छलफलले समाचार लेख्ने र पढ्ने व्यक्तिलाई एक ठाउँ उभ्याएर जबाफ खोजेको थियो । 

विभिन्न कारणले काँकरभिट्टा आइपुगेका विषय विज्ञहरूसँग छलफल गर्ने रिडर्सको बानी नै बसिसकेको थियो । शनिवारको छलफललाई अझ बढी उपलब्धिमूलक बनाउन विभिन्न विषयका विज्ञहरूलाई निम्त्याउने बानी नै बसिसकेको थियो । 

भारतको जयपुरमा भएको फेस्टिबलको प्रभाव रिडर्समा परेको थियो । एकोहोरो भाषण, कार्यपत्र प्रस्तुतिभन्दा छलफल, प्रश्नोत्तर र अन्तक्र्रिया खोजिरहेका हामीलाई काठमाडौँमा आयोजना गरिएका एनसेल लिटरेचर फेस्टिबल र लिटरेरी जात्राले प्रेरित गरे । अझ ती दुवै साहित्यिक महोत्सवमा सहभागी भएर मोडरेटर र प्यानलिस्टको जिम्मेवारी पुरा गरेका रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईँको अनुभवले हामीलाई बल प्रदान ग¥यो । 

उज्ज्वलजीको अनुभवबाट काँकरभिट्टामा पनि साहित्यिक उत्सव गर्न हामीले यहाँका अग्रजहरूसँग छलफल गर्दा आर्थिक व्यवस्थापन गर्न सकिने निष्कर्षमा हामी पुग्यौँ । यसले हामीलाई आत्मबल प्रदान ग¥यो । अनि कला साहित्य उत्सव २०६९ गर्ने निर्णय हामीले २०६९ पुसमा ग¥यौँ । 

जम्मा २ महिना समय थियो हामीसँग । विभिन्न क्षेत्रमा क्रियाशील हामीलाई समय जुटाउन निकै कठिन थियो । त्यसमा पनि उज्ज्वलजी दिल्लीमा अध्ययनरत हुुनुहुन्थ्यो । कार्यक्रम गर्ने भएपछि प्रशासनको सहयोग हामीलाई चाहियो तर हामी औपचारिकरूपमा कहीँ दर्ता थिएनौँ । करिब ६ वर्ष अनौपचारिकरूपमा रहेका हामीले कला साहित्य उत्सवको प्रयोजनका लागि २०६९ फागुनमा झापा जिल्ला प्रशासन कार्यालयमा ‘रिडर्स झापा’ दर्ता ग¥यौँ । 

कला साहित्य उत्सव २०६९ फागुन २७ गतेदेखि २९ सम्म ३ दिन गर्ने निर्णय गरी सोहीअनुसारको प्रस्ताव पत्र लिएर हामी सहयोग सङ्कलनमा अघि बढ्यौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, बैङ्क, काठमाडौँका प्रकाशन संस्था, एयरलायन्सदेखि प्रतिष्ठित व्यक्तिहरू तथा झापाका सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानहरू, होटल, विद्यालय, सहकारी, यातायातका सङ्घसंस्थाहरूले दिल खोलेर सहयोग गरे । फलस्वरूप काँकरभिट्टाको सामुदायिक सभा हलमा २०६९ फागुन २७ देखि २९ सम्मका लगि कला साहित्य उत्सवको भव्य तयारी भयो । 

२०६९ फागुन २६ गते नै हाम्रा धेरै अतिथिहरू काठमाडौँ, चितवन, धरान इटहरी, इलाम, आसाम, मणिपुर, दार्जिलिङबाट काँकरभिट्टा आइपुगे । नेपालको सुदूर पूर्व मेची किनारमा गर्न लागिएको कला साहित्य उत्सवको तयारी कस्तो होला भन्ने अतिथिहरूलाई कौतुहल थियो । तर हाम्रो तयारीले हामीलाई सहयोग गरिरहनुभएका तमाम शुभेच्छुकहरूलाई हर्षाश्रुको कृतज्ञता व्यक्त ग¥यो । सामुदायिक सभा हल बेहुली झैँ सिँगारिएको थियो । स्वागतद्वारले मेचीनगर अतिथिहरूको स्वागतका लागि उभिएको थियो । कार्यक्रम हलको बाहिरपट्टि पुस्तक प्रदर्शनीका स्टलहरू, कविता वाचन र नाटक प्रदर्शनका लागि अर्काे स्टेज, फोटो प्रदर्शनी, कला प्रदर्शनी, चित्रकला प्रदर्शनीले काँकरभिट्टा कला साहित्यको रसानुभूतिमा पौडिरहेको थियो । 

फागुन २७ गते बिहान १० बजे कला साहित्य उत्सवका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले क्यानभासमा हस्ताक्षर गरेर उद्घाटन भएको कार्यक्रम आफैँमा एउटा प्रयोगको अनुपम उदाहरण थियो । न आसन ग्रहण न मन्तव्य । साहित्यकार पुण्यप्रसाद खरेलको कि नोट स्पिचपछि प्यानल डिस्कसन सुरु भएको थियो । तिन दिने उत्सवमा राजनीति, सङ्घीयता, आख्यान, कविता, पत्रकारिता, झपाली कृति, पठन संस्कृति, महिला, भाषा, सिनेमा, विकास, युवा, केन्द्र र मोफसलको द्वन्द्व, लेखनको त्रास, प्रवासी नेपाली साहित्य, स्ल्याम पोएट्री पर्फमेन्स जस्ता २७ वटा शीर्षकमा बहस गर्न मोदनाथ प्रश्रित, खगेन्द्र सङ्ग्रौला, नारायण ढकाल, नारायण वाग्ले, व्रजेश, मनिषा गौचन, बुद्धिसागर, सरोजराज अधिकारी, हरि रोका, घनश्याम भुसाल, गगन थापा, मनु मन्जिल, केदारभक्त माथेमा, वसन्त बस्नेत, भाष्कर, भुपीन, स्वप्निल स्मृति, विजय खरेल, केदार शर्मा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, मनप्रसाद सुब्बा, रण काफ्ले, कुन्ता शर्मा, भवानी क्षेत्री, केशव आचार्य, रविन कोइराला, रामचन्द्र उप्रेती भेला भएका थिए । पठन संस्कृति र लेखनका नयाँ क्षेत्रबारे मोदनाथ प्रश्रित, खगेन्द्र सङ्ग्रौला र केदारभक्त माथेमाका सम्भाषणले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । 

तिन दिनको उत्सवले काँकरभिट्टालाई साहित्यिक मेला र पुस्तक प्रदर्शन गर्ने सहरका रूपमा चिनायो । राष्ट्रिय स्तरका सञ्चार माध्यमले महत्त्वका साथ कला साहित्य उत्सवलाई स्थान दिए । यसबाट सामाजिक अपेक्षा झनै बढ्यो । हामीले त्यसपछि पनि विभिन्न क्षेत्रका विज्ञहरूसँग समसामयिक विषयमा अन्तक्र्रिया गरिरह्यौँ । 

कला साहित्य उत्सवको दोस्रो संस्करण मिति २०७१ सालफागुन ९, १० र ११ गते मेचीनगर १०, काँकरभिट्टामा आयोजना गरिएको थियो । यो उत्सवमा २२ वटा विविध क्षेत्रका विषय वस्तुमा बहस चलाइएको थियो । समावेशीको मुद्दा, नेपाल भारत सम्बन्ध, राष्ट्रियताको पुनर्परिभाषा, उद्यमशीलता, समाचारको निष्पक्षता, नेपाली समाजको संरचना र वर्ण व्यवस्था, नेपाली सिनेमाको फेरिँदो चरित्र, कवितामा समय चेतना, उपन्यासमा सीमान्त आवाज जस्ता शीर्षकहरूमा डा. देवेन्द्रराज पाण्डे, प्रदीप गिरी, प्रा. कृष्ण खनाल, किशोर नेपाल, प्रदीप नेपाल, खगेन्द्र संग्रौला, सुधीर शर्मा, रवीन्द्र मिश्र, नयनराज पाण्डे, बुद्धि सागर, युग पाठक, यज्ञश, अनुप बराल, दयाहाङ राई, आन्विका गिरी, अनुभव अजित, विश्वप्रकाश शर्मा, रविन कोइराला, मनु मन्जिल, मनोज बोगटी, संगीत श्रोता, उपेन्द्र सुब्बा, सीमा आभास आदि वक्ताहरूले आफ्ना विचार प्रस्तुत गरेका थिए । 

कला साहित्य उत्सवको दोस्रो संस्करणमा कलालाई विशेष महत्त्व दिइएको थियो । चित्रकला प्रदर्शनी, लाइभ पेन्टिङ प्रतिस्पर्धा तथा कलासम्बन्धी बहस पनि चलाइएको थियो । चित्रकला, कविगोष्ठी, स्ल्याम पोएट्री पर्फमेन्स, पुस्तक प्रदर्शनी तथा विशिष्ट व्यक्तिहरूको सम्भाषण प्रस्तुत गरिएको थियो । उत्सवमा उठेका केही विषयहरूलाई नेपालका मुलधारका सञ्चार माध्यमहरूले विस्तारित रुपमा छलफल चलाएका थिए भने केही मन्तव्यहरूलाई आलेखका रूपमा छापेका थिए । 

तेस्रो संस्करण मिति २०७३ फागुन १२ देखि १४ सम्म गर्ने तयारी अगाडि बढाएका छौँ । ‘गतिशीलताका लागि निरन्तर अध्ययन’ भन्ने मूल ध्येयका साथ राष्ट्रिय जीवनका महत्त्वपूर्ण विषयहरूको जानकारी लिने र नेपाली समाजको कला, साहित्य, संस्कृति, भाषाको विकास र समय सापेक्ष भाषामा देखिएका परिवर्तनमाथि बहस हुने छ । यो संस्करणमा नेपाली समाजको चरित्र, राजनीतिक दलभित्रको संस्कार, विकासको संकथन, समाचार टेलिभिजन र समाज, कविताको राजनीति, इतिहास लेखन र अध्ययन, सामाजिक आन्दोलनमा मिडिया, नेपाली कम्युनिस्ट आन्दोलनमा झापा विद्रोह, वर्ग र पहिचानको पहेली, झापा केन्द्रित लेखन र प्रकाशन लगायतका विषयहरूमाथि घनीभूत छलफल हुने छ । 

यसपालि बुक बस उत्सवको नयाँ विशेषता हुने छ । बुक बस मोबायल लाइब्रेरी हो । कला साहित्य उत्सवको अवसरमा बुक बस झापामा करिब १ महिनाका लागि आउने छ । यसले झापाका केही विद्यालयहरुमा नै पुगेर सुवा दिने छ भने मुख्य सहरमा यसले सेवा दिने छ । बुक बसमा किताबहरु हुन्छन् । विद्यार्थी तथा जोसुकैले पनि बसमा चढेर आफूलाई मन परेको पुस्तक त्यही पढ्न पाउँछन् । चित्रकला, फोटो प्रदर्शनी, लाइभ पेन्टिङ तथा प्रतिस्पर्धा पनि हुने छन् । नाटक, फिल्म र एकल गायन पनि तेस्रो संस्करणका थप विशेषता हुने छन् । पहिलो दिन परिवर्तन थिएटरले नाटक प्रदर्शन गर्ने छ । दोस्रो दिन काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवलमा प्रदर्शित फिल्म प्रदर्शन गरिने छ । तेस्रो दिन गायक गणेश रसिकको एकल गायन रहने छ । 

कला साहित्य उत्सवको पहिलो र दोस्रो संस्करणले समाजका विविध विषयहरूमा खुला बहस चलाएको थियो भने युवा विद्यार्थीको ध्यान साहित्य र सरोकारका अन्य गम्भीर विषयतर्फ मोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अघिल्ला संस्करणहरू जस्तै यस पटक पनि उत्सवलाई खुला फोरमका रुपमा गहन अन्तव्र्रिmयाको थलो बनाइनेछ । 

यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त साहित्यकार, सामाजिक अभियन्ता, राजनीतिज्ञ तथा विद्वत् वर्गसँग सिधै अन्तव्र्रिmया गरिनेछ । समाजमा आलोचनात्मक चेतको निर्माण गर्न साथै पर्यावरण सुहाउँदो विकास गर्नका लगि खुला बहस अत्यावश्यक भएकाले यो उत्सव आयोजना गरिएको छ । 

पहिलो र दोस्रो संस्करणले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस प्रकारका उत्सव समाजको सकारात्मक रूपान्तरणका लागि आवश्यक रहेको निष्कर्षसहित तेस्रो संस्करणको तयारी गरेका छौँ ।


No comments:

Post a Comment

कस्ले राम्रो भन्छ ? (मुक्तक)

 सञ्जालमा फोहोर गरेपछि कस्ले राम्रो भन्छ ? कर्मयोगीलाई मुख छोडेपछि कस्ले राम्रो भन्छ ?  दुनियाँको उन्नति र प्रगतिमा आफैँ जलेपछि आफ्नै कुण्ठा...